स्प्रिन्टमा आशिष र सरस्वती हाबी

ध्रुव तुलाधर

तुलसीपुर, दाङ — एपीएफका आशिष चौधरी र आर्मीकी सरस्वती चौधरीले स्प्रिन्टमा आफ्नो प्रभुत्व जमाउँदै २०० मिटर दौडको स्वर्ण पदक पनि जितेका छन् । दुवै १०० मिटरको स्वर्णधारी हुन् ।

स्प्रिन्टमा आशिष र सरस्वती हाबी

आठौं राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्सको २०० मिटर पुरुष फाइनलमा आशिषले राष्ट्रिय कीर्तिमानको निकट रहेर दुरी पार गरेका थिए । उनले २१ दशमलब ८३ सेकेन्डमा दौड सिध्याए । यसको ह्यान्डटाइमको राष्ट्रिय कीर्तिमान तिलकराम थारुको नाममा २१ दशमबल ५० सेकेन्डको छ । तिलकले उक्त कीर्तिमान ५ वर्षअघि काठमाडौंमै बनाएका थिए ।


बेलझुण्डीको ट्रयाकमा आर्मीका अभिषेक चौधरीले २२.४६ सेकेन्डबाट रजत पदक जिते । उनलाई पछयाएका प्रदेश ४ का धावक प्रकाश रानागरको कांस्यमा नाम लेखाए । उनको टाइमिङ २२.५१ सेकेन्डको थियो ।


सरस्वतीले व्यक्तिगत दोस्रो स्वर्ण जित्ने क्रममा २०० मिटर दुरी २६.२६ सेकेन्डमा पूरा गरेकी छन् । उनलाई १०० मिटरमा जस्तै जयरानी चौधरी र कृष्णा चौधरीले टक्कर दिएका थिए । जयरानी दोस्रो र कृष्णा तेस्रो भए । प्रदेश ५ की जयरानीले २६.३६ सेकेन्ड र आर्मीकी कृष्णाले २६.६५ सेकेन्डको टाइमिङ लिए । १०० मिटरमा यिनै तीन धाविकाले पदक कब्जा गरेका थिए ।


राष्ट्रियमा दोस्रो स्वर्ण जितेपछि सरस्वतीले भनिन्, 'स्प्रिन्टको दुवै स्वर्ण जित्ने लक्ष्य थियो । पूरा गरेकी छु । एकदमी खुसी लागेको छ ।' उनको अबको लक्ष्य भनेको राष्ट्रिय कीर्तिमान तोड्नु हो । २०० मिटरको २५ सेकेन्डको कीर्तिमान दुई दशकदेखि तोडिन सकेको छ । आठौं साग खेलकुदमा देवीमाया पनेरुले उक्त कीर्तिमान राखेकी थिइन् ।


एपीएफकी शिला चौधरीले महिला हाइजम्पमा १ दशमबल ५० मिटर जम्प गर्दै स्वर्ण पदक जितेकी छन् । योसहित जारी प्रतियोगितामा एपीएफको तेस्रो स्वर्ण हो । आर्मीकी खगिता सिंजालीले १ दशमबल ४८ मिटरबाट रजत पदक जितिन् । प्रदेश १ की विन्द्रा चौधरी र प्रदेश ५ की अनिता चौधरीले समान १ दशमलब ३५ मिटर जम्प गरेका थिए । दुवै कांस्य पदकको हकदार बनेका छन् ।


पुरुष हाइजम्पको स्वर्ण आर्मीका सूर्यबहादुर खत्रीले जिते । उनले १.८५ मिटरको उचाइ नापे । यस इभेन्टका उनी हुन् रेकर्ड होल्डर । उनकै नाममा १.९८ मिटरको रहेको छ । जुन उनले चार वर्षअघि राष्ट्रिय टिम तयारीका क्रममा बनाएका थिए । रजत पदक पुलिस क्लबका गोपाल चौधरीले १.७५ मिटरबाट जित्दा कांस्य प्रदेश ३ का विकास खाँड ठकुरीले हत्याए । विकासले १.७० मिटर जम्प गरे ।


हाइजम्पका लागि ट्रयाकभित्रको दायरा अपुग भएका कारण चौरमा खेलाइएको थियो । २० मिटरको दायरा चाहिनेमा त्यति अपुग भएपछि चौरमा खेलाइएको मुख्य प्रशिक्षक चन्द्र गुरुङले बताए । उनले आफूहरुले भन्दाभन्दै पनि ठेकेदारले नबनाई दिएको गुनासो सुनाए ।


दिनको अन्तिम इभेन्ट डिस्कस थ्रोको स्वर्ण पदक आर्मीका चित्रबहादुर ओलीले जितेका छन् । उनले ३८.०२ मिटर थ्रो गर्दै स्वर्ण हत्याए । पुलिसका पुष्कल खड्काले ३३.५० मिटरबाट रजत जिते । पुष्कलले शटपुटमा पनि रजत पदक नै जितेका थिए । प्रदेश १ का रन्जिल श्रेष्ठ कांस्य पदकको हकदार बने । उनले ३२.६५ मिटर डिस्कस फालेका थिए ।


आइतबार महिला र पुरुषतर्फ ४०० मिटर, ५००० हजार, हर्डल्स, टि्रपलजम्प र रिलेका इभेन्ट आयोजना हुनेछ ।

प्रकाशित : वैशाख ७, २०७६ १३:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?