म्यानमारमाथि नेपालको सजिलो जित

काठमाडौँ — नेपालले अपेक्षाअनुसार एसीसी यू १६ इस्टर्न रिजन २०१९ मा शनिबार म्यानमारमाथि सजिलो जित निकालेको छ । डिफेन्डिङ च्याम्पियन नेपालले जितका लागि खासै मिहिनेत गर्नु परेन र म्यानमारलाई ७ विकेटले हरायो । नेपालले सुरुमा कसिलो बलिङ गर्‍यो र पछि त्यसलाई सुहाउँदो ब्याटिङ पनि ।

म्यानमारमाथि नेपालको सजिलो जित

नेपालले जितका लागि ५९ रनको लक्ष्य पाएको थियो र त्यसलाई नेपालले हतारमा ८.१ ओभरभित्र पूरा गर्‍यो । नेपालबाट अर्जुन कुमालले २६ रन बनाए र अविजित रहे । उनले १५ बलमा ४ चौका प्रहार गरे । अर्का अविजित ब्याट्सम्यान प्रशान्त महतले ९ रन जोडे । यसअघि सुवास ऐरले ११ रनको योगदान दिएका थिए ।


यसअघि प्रेम इन्टरनेसनल स्कुलमा टस जितेर म्यानमारले ब्याटिङको निर्णय गरेको थियो र १३.२ ओभरमै त्यसले पूर्णविराम पायो । उसका पाँच ब्याट्सम्यानले खाता पनि खोल्न सकेनन् र पूरा टिम ५८ रनमै समेटियो । म्यानमारका दुई ब्याट्सम्यानले मात्र दोहोरो अंक छोए । त्यसमा कौङ हटेट क्याबले सर्वाधिक १९ रन बनाए ।


नेपाली बलरमध्ये कप्तान विशालविक्रम केसी सर्वाधिक प्रभावशाली रहे । उनले ५ ओभरमा २१ रन मात्र खर्चेर ४ विकेट लिए । नेपालको फिल्डिङ पनि अब्बल दर्जाको रह्यो र म्यानमारका चार ब्याट्सम्यान रनआउट भए । नेपालले अब अर्को खेलमा मलेसियाको सामना गर्नेछ । नेपालको समूहमा थाइल्यान्ड पनि रहेको छ ।

प्रकाशित : वैशाख ८, २०७६ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?