१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

दीपेश र रसिलाले रचे नयाँ इतिहास

दुर्गालाल केसी

दाङ — घोराहीमा सम्पन्न ब्याडमिन्टन प्रतियोगितामा एपीएफ ४ स्वर्ण, ३ रजत र ८ कास्य पदकसहित च्याम्पियन बनेको छ । त्रिभुवन आर्मी ३ स्वर्ण, ४ रजत र ६ कांस्यसहित दोस्रो तथा १ नं प्रदेश ४ कांस्यसहित तेस्रो, सुदूरपश्चिम ३ कांस्यसहित चौथो र नेपाल पुलिस क्लब १ कांस्यसहित पाँचौं स्थानमा रह्यो ।

दीपेश र रसिलाले रचे नयाँ इतिहास

पुरुष समूहतर्फ आर्मी प्रथम, एपीएफ दोस्रो तथा पुलिस र सुदूरपश्चिम प्रदेश तेस्रो भएका छन् । महिला समूहतर्फ एपीएफ प्रथम, आर्मी दोस्रो तथा सुदूरपश्चिम र प्रदेश १ तेस्रो भएका छन् ।


पुरुष सिंगलमा एपीएफका दीपेश धामीले स्वर्ण जिते । आर्मीका रत्नजित तामाङले रजतमा चित्त बुझाए । सुदूरपश्चिम प्रदेशका प्रिन्स दाहाल र प्रदेश १ का विकास श्रेष्ठले कांस्य पाए । महिला सिंगलमा आर्मीकी रसिला महर्जनले आर्मीकै नङ्सल तामाङलाई पराजित गरिन् । प्रदेश १ की सीता राई र आर्मीकी अनुमाया राईले कांस्यमा चित्त बुझाएका छन् । पुरुष डबलमा आर्मीका रञ्जित तामाङ र नवीन श्रेष्ठको जोडीले स्वर्ण जितेको छ ।


एपीएफका विजय थापा र दीपेश धार्मीले रजत पाए । महिला डबलमा एपीएफका पूजा श्रेष्ठ र जेसिका गुरुङले स्वर्ण, आर्मीका अनुमाया राई र नङ्सल तामाङले रजतमा जिते । मिक्स डबलमा एपीएफका पूजा श्रेष्ठ र दीपेश धामीको जोडीले स्वर्ण तथा एपीएफकै जेसिका गुरुङ र गौतम कठायतको जोडीले रजत जितेको छ ।


दीपेश र रसिलाको नयाँ इतिहास

एपीएफका दीपेश धामी र त्रिभुवन आर्मीकी रसिला महर्जनले स्वर्ण जित्दै नयाँ इतिहास रचेका छन् । उनीहरूले त्रिभुवन आर्मीका दिदीभाइ रत्नजित तामाङ र नङ्सल तामाङको एक छत्र राजलाई तोडेका छन् । हालसम्मका च्याम्पियन रत्नजितको एकछत्र राज तोडै एपीएफका दीपेश धामी नयाँ राष्ट्रिय च्याम्पियन भए । घोराहीस्थित कभर्डहलमा शनिबार उपाधि भिडन्तमा दीपेशले रत्नलाई २१–१६ र २१–१४ को सोझो सेटमा पराजित गरे ।


विगतका चार राष्ट्रिय प्रतियोगितामा लगातार जितेर वर्चस्व बनाएका रत्नजित यसपटक पराजित भए । २०६९ सालमा काठमाडौंमा भएको ३६ औं राष्ट्रिय प्रतियोगितामा नम्बर एक खेलाडीका रूपमा स्थापित विकासलाई पराजित गर्दै नम्बर एक भएका रत्नले त्यसपछि फर्केर हेर्नुपरेको थिएन । बेलाबेला उनलाई दीपेश र प्रिन्सले चुनौती दिंदै आएका थिए ।


आर्मीकी रसिलाले आफ्नै क्लबकी नङ्सल तामाङलाई १९–२१, २१–१४ र २४–२२ ले पराजित गर्दै आफूलाई राष्ट्रिय च्याम्पियन स्थापित गरिन् । १४ वर्षीया रसिलाले नयाँ इतिहास रचिन् । कक्षा ४ पढदै गर्दा ब्याडमिन्टनको र्‍याकेट समातेकी उनी अहिले कक्षा ९ मा अध्ययनरत छिन् । ब्याडमिन्टनको इतिहासमा राष्ट्रिय च्याम्पियन बन्ने उनी अहिलेसम्मकै कान्छी खेलाडी रहेको नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले जानकारी दिए ।

प्रकाशित : वैशाख ८, २०७६ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?