२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

चम्किए एपीएफ खेलाडी

सन्तोषीको कीर्तिमान ओझेलमा

तुलसीपुर (दाङ) — आठौं राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्सको चौथो दिन आइतबार ९ स्वर्ण फैसला हुँदा विभागीय टोली एपीएफका खेलाडीले ४ स्वर्ण जित्दा प्रदेशले तीन र आर्मीले दुई स्वर्णमा आफ्नो नाम लेखाएका छन् । बेलझुन्डीस्थित ट्रयाकमा भएको एपीएफका लागि गोपीचन्द्र पार्की, शिला चौधरी, नीरप्रताप महतोले व्यक्तिगततर्फ स्वर्ण जितेका हुन् । 

चम्किए एपीएफ खेलाडी

एपीएफले जितेको अर्को एक स्वर्ण ४ गुणा ४ सय मिटर रिले दौडको थियो । गोपीचन्द्रले पुरुष ५ हजार मिटर दौडको स्वर्ण जित्दा १४ मिनेट ४४.३ सेकेन्डमा दौड पूरा गरेका थिए । उनले कणर्ाली प्रदेशका दुर्गा बुढालाई पछाडि पारे । १० हजार मिटर च्याम्पियन दुर्गाले १४ मिनेट ४६.६ सेकेन्डमा दौड पूरा गर्दै रजत जिते । प्रदेश ४ का अनिश थापाले १४ मिनेट ५७ सेकेन्डबाट कांस्य जिते ।


शिलाले टि्रपलजम्पमा स्वर्ण जितेकी हुन् । उनले ११.१४ मिटर जम्प गर्दै पहिलो स्थान हत्याइन् । प्रदेश ५ की पूजा चौधरीले १०.६० मिटरबाट रजत र प्रदेश ५ की सीमा चौधरीले १०.५७ मिटरबाट कांस्यपदक जितेका थिए । नीरप्रतापले भने ४०० मिटर दौडको स्वर्ण जितेका थिए । उनले ४९.९ सेेकेन्डमा दूरी पार गर्दै व्यक्तिगत राष्ट्रियको पहिलो स्वर्ण जिते । एपीएफकै शिवराज कार्कीले ५०.५ सेकेन्डबाट रजत र प्रदेश १ का प्रकाश दनुवारले ५०.७ सेकेन्डबाट कांस्यपदक जितेका थिए ।


एपीएफका लागि रिलेमा नीरप्रताप, शिवराज पार्की, आशिष चौधरी र सत्यबहादुर बुढाको टोलीले रिलेको स्वर्ण जितेको हो । आर्मी -चेतनारायण थनेत, जीवन चौधरी, अशोक कुँवर र आनन्ददेव चौधरी) ले रजत र प्रदेश ५ -सीमान्त पाण्डे, माधवकुमार चौधरी, नीरजकुमार थारू र सुवर्ण कुँवरले कांस्य जितेका थिए ।


महिला ५ हजार मिटर दौडको स्वर्ण प्रदेश ३ की सन्तोषी श्रेष्ठले जितेकी छन् । उनले १६ मिनेट ३०.६ सेकेन्डमा पूरा गरेकी थिइन् । यसमा आर्मीकी विश्वरूपा बुढा दोस्रो र एपीएफकी विन्द्राधान्के श्रेष्ठ तेस्रो स्थानमा रहे । १० हजारकी स्वर्णधारी विश्वरूपाले १६.४६.१ सेकेन्ड र विन्द्राले १७.०३.८ सेकेन्डमा दौड पार गरेका थिए । यो इभेन्टमा सन्तोषीको टाइमिङले नयाँ राष्ट्रिय कीर्तिमान बनेको देखाउँछ । यसअघि कान्छीमाया कोजूको नाममा १६.४९.९८ सेेकेन्डको राष्ट्रिय कीर्तिमान रहेको थियो । तर सन्तोषीको टाइमिङलाई मान्यता दिइएको छैन । रंगशालालाई साढे १२ ल्याप फन्को मार्नुपर्नेमा एक ल्यापअघि नै दौड सिध्याएको भनी आधिकारिकता दिइएको छैन । यसमा खेलाडीभन्दा पनि निणर्ायक तथा टाइमिङ किपिङमा रहेका व्यक्तिहरूको लापरबाही प्रस्ट झल्किन्छ । ल्याप पूरा हुनेबित्तिकै खेलाडीलाई यति ल्याप बाँकी छ भन्दै जनाउ घन्टी दिनुपर्ने हुन्छ । मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका मुख्य प्रशिक्षक विक्रमजंग थापाले सबै बसेर छलफलपछि निर्णय दिइने बताएका छन् ।


महिला ४ गुणा ४०० मिटर रिले दौडमा पनि राष्ट्रिय कीर्तिमान बनेको छ । दुवै कीर्तिमान थाँती राखिएको छ । आर्मीका कृष्णा चौधरी, तुलसा खत्री, संगीता मेचे र सरस्वती भट्टराईको टिमले ४ मिनेट ०२.५ सेकेन्डमा दौड पूरा गरेका थिए । उनीहरूले १२ औं सागमा नेपाली खेलाडीले राखेको ४ मिनेट ०८.२० सेकेन्डको कीर्तिमान उछिनेका थिए । यस इभेन्टमा भगीरथी थारू, सानुका थापा, फुलमती राना र स्वस्तिका श्रेष्ठको एपीएफ टोलीले रजत जित्यो भने कांस्यपदक प्रदेश ५ की अरुणा रिजाल, पूणिर्मा खडका, कमला जैसी र पूजा चौधरीले जिते ।


प्रदेश ३ का लागि अर्को स्वर्ण भुवन महतोले जिते । उनले पुरुष टि्रपलजम्पमा १४.६० मिटर जम्प गरेका थिए । आर्मीका डिल्ली खत्री र आशिष चौधरीले क्रमशः १३.९८ र १३.९० मिटरबाट रजत र कांस्य पदक जितेका थिए । प्रदेशकै लागि ५ नम्बरका खेलाडी प्रमिला थारूले १०० मिटर हडल्र्समा स्वर्ण जितिन् । उनले १६.०३ सेकेन्डको टाइमिङ निकालिन् । सोही प्रदेशकी जयरानी चौधरीले रजत जितिन् । उनले १८.०० सेकेन्डमा दौड पूरा गरिन् । आर्मीकी तुलसा श्रेष्ठले १८.३ सेकेन्डबाट कांस्य जितिन् ।


अघिल्लो दिन वर्चस्व राखेको आर्मीका लागि व्यक्तिगततर्फ आइतबार नीरकुमार चौधरीले पुरुष ११० मिटर हडल्र्सको स्वर्णमात्र थियो । उनले १५.६ सेकेन्डमा दूरी पार गरे । पुलिसका चन्द्रदेव जैसी र आर्मीका अशोक कुँवरले रजत र कांस्य जिते । चन्द्रदेवले १५.५ सेेकेन्ड र अशोकले १६.७ सेकेन्ड लगाए । एथलेटिक्सको अन्तिम दिन सोमबार म्याराथन, ४०० मिटर महिला हर्डल्स, ८०० मिटर पुरुष दौड र ४ गुणा १०० मिटर रिले दौडको इभेन्ट हुनेछ ।


प्रकाशित : वैशाख ८, २०७६ १९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?