१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

फलाम उचाल्ने आमाहरू

मधु शाही

बाँके — उनी फलाम उचाल्दै थिइन् । अरूकै काखमा बसेर उनका १८ महिने दूधे बालक टुलुटुलु हेरिरहेका थिए । भारोत्तोलन खेलको ‘स्न्याच’ सकिएलगत्तै सोनम चौधरीले छोरो समाइन् । ब्रेकभरि छोरोलाई मैदान वरिपरि डुलाइरहिन् । मायाले चारैतिर सुम्सुमाइन् । अनि चुम्पा म्वाइँ खाएर फेरि खेलमैदानमा फर्किइन् । 

फलाम उचाल्ने आमाहरू

त्यसपछि ‘क्लिन एन्ड जर्क’ मा ५५ केजी भार उचाल्ने क्रममा उनी सफल हुन सकिनन् । हारले उनको मुहार कालो थियो । काखमा छोरो देखेर उनी यत्तिकै उज्यालो भइन् । ‘बाबु हाँसेपछि पूरै पीडा भुल्छु’, उनले भनिन्, ‘खेल्ने प्रयास गरें त्यही नै ठूलो हो मलाई ।’


नेपालगन्जमा जारी आठौं राष्ट्रिय खेलकुदमा भारोत्तोलनतर्फ खेलमा सहभागी हुने खेलाडीमा आमा थुप्रै छन् । जसले सन्तान सँगै ल्याएका छन् । सन्तान ल्याउनु खेलाडी आमाका आ–आफ्नै बाध्यता र कथा छन् । जसमध्ये, सोनम एक हुन् । सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्दै खेलमा सहभागी भएकी २२ वर्षीया उनीसँग एकातिर मातृत्व थियो भने अर्कोतिर उत्कृष्ट खेलाडी बन्ने तत्परता । ‘म खेलाडीसँगै आमा पनि हुँ’, उनले भनिन्, ‘साथमा नल्याएको भए पिरलो हुन्थ्यो ।’


उनले आमा बन्नुअघि राम्रो खेलाडीको पहिचान बनाइसकेकी छन् । छैटौं राष्ट्रिय खेलकुदमा उनले कांस्यपदक हात पारेकी थिइन् । सातौं राष्ट्रिय खेलकुदमा आइपुग्दा भने उनी गर्भवती भइन् । तीन वर्षपछि आठौं राष्ट्रिय प्रतियोगिता भएकाले छोरो सानै हुँदा पनि उनको मन थामिएन । ‘अभ्यास नै गर्न पाएकी छैन । आमा भएपछि शरीर अलि कमजोर हुँदोरहेछ’, उनले भनिन्, ‘तीन वर्षपछि खेल्न पाएको अवसर गुमाउन मन लागेन ।’


आइतबार उनी तेस्रो हुने दाउमा थिइन् । शरीरले साथ नदिएपछि उनी पदकबाट वञ्चित भइन् । खेलमा निरन्तरता दिनुमा नै उनी खुसी भएको बताइन् ।


नेपाल पुलिस टिमकी जुनु छन्त्याल १४ महिने बालक च्यापेर भारोत्तोलन खेलमैदानमा आइन् । बाग्लुङ घर भएकी उनले यसअघि ४ खेलमा सहभागी भइसकेकी छन् । १२ औं सार्कमा तेस्रो मेडल पाएकी उनी सातौं राष्ट्रियकी स्वर्णपदक विजेता हुन् । खेलुन्जेल सफलता पाइन्छ भन्ने जुनुले अहिले महसुस गरेकी छन् । पारिवारिक पक्ष र करिअरको तालमेल मिलाउन महिलालाई चुनौती हुन्छ । त्यसका बावजुद निरन्तर लाग्नुपर्ने उनको जीवनीले सिकाउँछ ।


बच्चालाई ध्यान दिनुपर्दा धेरै समय अभ्यास गर्न पाइनन् उनले । जम्मा १० दिनको अभ्यासको भरमा उनी खेल्न आएकी हुन् । ५९ केजी तौल भार उचालेर २६ वर्षीया जुनुले रजतपदक पाइन् । स्वर्णबाट झर्दा उनको मन कतै खिन्न भएको थियो । आमा बनेपछि शरीर कमजोर हुँदै जान्छ । यो खेलमा बल र बुद्धि दुवै चाहिन्छ । परिस्थितिमा चित्त बुझाउनुपर्ने छ । जुनुले रजतलाई नै स्वर्ण मानेकी छन् । ‘परिवार सम्हाल्दै यहाँसम्म पुग्नु सहज छैन नि’, उनी भन्छिन्, ‘हामी खेलाडी महिलाको चुनौती थुप्रै छन् । आफैंले व्यवस्थापन गर्दै जानुपर्छ ।’


मनीता चौधरी ३ वर्षको छोरा लिएर भारोत्तोलन खेलमा सहभागी हुन नेपालगन्ज आएकी छन् । लहान घर भएकी उनी प्रदेश २ को प्रतिनिधित्व गर्दै खेलमा सहभागी छिन् । खेलमा जाने बेला छोराले लुगा समाउँदै पछिपछि लागेपछि मनिताले छोरो साथै ल्याउनुपरेको सुनाइन् । खेल खेलेर पेट पाल्ने स्थिति छैन ।


व्यवसाय गर्दै छोराछोरी पढाउनु पनि उनको दायित्व छ । होटल व्यवसाय गर्दै आएकी उनले फुर्सदमा घरमै भारोत्तोलनको अभ्यास गर्ने गरेको सुनाइन् । ‘खेल्दै खेलिएन भने ज्यान बाँझिन्छ’, उनले भनिन्, ‘व्यवसाय गर्दै, फुर्सदमा शारीरिक अभ्यास गरिरहन्छु ।’ १३ वर्षको छोरी र तीन वर्षको छोरालाई स्कुल पढाएर बचेको समय उनी खेलमा लगानी गर्ने गरेको सुनाइन् ।


त्यस्तै, २९ वर्षीया प्रमिला चौधरीले भने छोराछोरी हुर्काउँदैमा १० वर्ष खेलमैदानबाट टाढिनुपरेको सुनाइन् । उनकी छोरी हुर्किसकेकी छन् । ११ वर्षको छोरी साथमा लिएर आठौं राष्ट्रियमा सहभागी भएकी उनी तेस्रो पदक पाएकोमा नै दंग छिन् । ७१ केजीको तौलमा उनले तेस्रो पदक पाएकी हुन् । ‘दस वर्षपछि खेल्दा तेस्रो भएँ’, उनले भनिन्, ‘हौसला मिलेको छ । अर्को पटक स्वर्ण नै जित्ने गरेर खेल्छु ।’

प्रकाशित : वैशाख ९, २०७६ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?