कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

गौरिकाको च्याम्पियन शैली

कुशल तिमल्सिना

बाँके — गौरिका सिंहले नेपालको पौडीमा अन्तर्राष्ट्रिय प्रतिनिधित्व गर्छिन् । घरेलु प्रतियोगिता खेल्न भने उनी बिरलै नेपाल आउने गर्छिन् ।

गौरिकाको च्याम्पियन शैली

अन्तर्राष्ट्रिय सहभागिताका लागि घरेलु प्रतियोगिता खेल्नैपर्ने बाध्यकारी व्यवस्थाका कारण गौरिकाले आठौं राष्ट्रिय खेलकुदअन्तर्गत २३ औं राष्ट्रिय पौडी प्रतियोगिताको पहिलो दिन नै कीर्तिमानसहित २ स्वर्ण आफ्नो नाममा लेखाएकी छन् ।


प्रतियोगिताका लागि ३ दिनअघिमात्र नेपाल आएकी गौरिकाले आफ्ना पिताको गृहनगर (बझाङ) नजिकै राष्ट्रिय प्रतियोगिता खेल्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिइन् । ‘आर्मीको टोलीबाट साथीहरूसँग खेल्न पाउँदा खुसी लागेको छ । पौडी पोखरी पनि राम्रो रहेछ । मलाई जहिले पनि नेपाली साथीहरूसँग खेल्न मन पर्छ,’ गौरिकाले भनिन् ।


हरेक स्पर्धामा गौरिकाले आफ्ना प्रतिस्पर्धीलाई धेरै पछाडि पारिरहेकी थिइन् । निकटतम् प्रतिस्पर्धी नहुँदा खेलको रौनक कस्तो हुन्छ ? भन्ने प्रश्नमा उनले भनिन्, ‘खेल्नका लागि पोखरीभित्र छिरेपछि मलाई प्रतिस्पर्धीबारे केही थाहा हुन्न । म त आफैंसँग प्रतिस्पर्धा गर्छु कि कसरी पहिलेको भन्दा कम टाइमिङ निकालौं ।’


गौरिकाको परिवार बेलायतमा बसोबास गर्छ । त्यहीँ पौडी सिकेकी उनले साताको १६ घण्टाभन्दा बढी प्रशिक्षक गर्छिन् । नेपालमा एउटा पनि वातानुकूलित पौडी पोखरी नभएको अवस्थामा उनले बेलायतमा १२ महिनानै प्रशिक्षणको सुविधा पाएकी छन् र त नेपालले पौडी च्याम्पियनका रूपमा अन्तर्राष्ट्रिय प्रतिनिधित्वका लागि उत्कृष्ट खेलाडी पाएको छ ।


जुलाई १२ देखि १८ सम्म कोरियामा विश्व पौडी प्रतियोगिता हुँदैछ । गौरिकाको तयारी अहिले त्यसैमा छ । त्यसपछि डिसेम्बरमा दक्षिण एसियाली खेलकुद नेपालमै हुँदैछ । ‘घरेलु पोखरी र समर्थकका साथ १३ औं साग खेलकुदमा स्वर्ण जित्ने आशा छ । अघिल्लोपल्ट भन्दा यसपल्ट राम्रो भइरहेको पनि छ र स्वर्णका लागि प्रयास गर्नेछु,’ गौरिकाले भनिन् ।


नेपालगन्ज रंगशाला परिसरमा निर्माण गरिएको पौडी पोखरीले अन्तिम समयमा पूर्णता नपाएपछि स्थानीय सिग्नेट होटलको २५ बाई २५ को पौडी पोखरीमा प्रतियोगिता सुरु गरिएको छ । शट कोर्समा सञ्चालित प्रतियोगितामा त्रिभुवन आर्मीबाट खेलेकी गौरिकाले पहिलो दिन ८ सय मिटर फ्रिस्टाइलमा नयाँ कीर्तिमान बनाइन् भने र ५० मिटर ब्याकस्ट्रोकमा आफ्नै नाममा रहेको कीर्तिमान सुधार गरिन् ।


८ सय मिटर फ्रिस्टाइलमा ९ मिनेट ३९ दशमलव २२ सेकेन्डको टाइमिङ निकाल्दै स्वर्ण जितेकी हुन् । यस स्पर्धामा आर्मीकी उपस्थिति महर्जनले रजत जितिन् । उनले गैरिकाभन्दा २ मिनेट ढिला अर्थात ११ मिनेट ०९.८२ सेकेन्डको टाइमिङका साथ दूरी पूरा गरिन् । ११ मिनेट १६ सेकेन्डमा दूरी पूरा गरेकी नेपाल पुलिसकी समिराशोभा थापाले कांस्य जितिन् ।


५० मिटर ब्याकस्ट्रोकमा गौरिकाले ३०.८५ सेकेन्डको टाइमिङका साथ नयाँ कीर्तिमान बनाइन् । गत वर्ष २२ औं राष्ट्रिय पौडीमा बनाएको ३१.३१ सेकेन्डको कीर्तिमान सुधार गरेकी हुन् । यस स्पर्धामा पुलिसकी अनुष्का पोखरेलले ३७.७८ र एपीएफकी युक्सा महर्जनले ३९.६३ को टाइमिङका साथ क्रमशः रजत र कांस्य जिते ।


ब्याकस्ट्रोकमा गौरिकाले पुरुषतर्फ तेन्जिङ गुरुङले भन्दा करिब २ सेकेन्ड कम समय लगाइन् । आइतबारै भएको स्पर्धामा एपीएफका तेन्जिङले ३२.८१ सेकेन्डको टाइमिङसाथ स्वर्ण जिते । प्रदेश ३ का जयन्तप्रकाश गुरुङले ३४.१३ सेकेन्डमा रजत जित्दा पुलिसका तरुण भण्डारीले ३४.५९ सेकेन्ड लगाएर कांस्य जिते ।


पुरुष ८ सय मिटर फ्रिस्टाइलमा गैरआवासीय नेपाली संघ एनआरएनएका नाथान दोर्जे शेर्पाले ९ मिनेट १७ सेकेन्डको टाइमिङ निकाल्दै स्वर्ण जिते । एपीएफका नसिर हुसेनले ९ मिनेट ४०.९३ र एपीएफकै उर्गेन महर्जनले १० मिनेट १९.९१ सेकेन्डसाथ क्रमशः रजत र कांस्य जिते ।


पुरुषको सय मिटर ब्रेस्टस्ट्रोकमा एपीएफका शुभम श्रेष्ठले आफ्नै नाममा रहेको कीर्तिमान सुधार गर्दै स्वर्ण जिते । उनले १ मिनेट ८.१५ सेकेन्डको समय लगाए । यसअघि गत वर्ष २२ औं राष्ट्रिय पौडीमा उनले १ मिनेट ८.९४ को टाइमिङसाथ कीर्तिमान बनाएका थिए । यस स्पर्धामा पुलिसका सायेद हेम्जा शाहले १ मिनेट ८.८७ सेकेन्डको टाइमिङसाथ रजत र पुलिसकै दीपांकर अवालेले १ मिनेट १३.३७ को टाइमिङसाथ कांस्य जिते ।


महिलाको १ सय मिटर ब्रेस्टस्ट्रोकमा आर्मीकी डुवाना लामाले १ मिनेट १८.९३ सेकेन्डसाथ स्वर्ण जितिन् । १ मिनेट २१.०६ सेकेन्डमा दूरी पूरा गरेकी एपीएफकी टिसा शाक्यले रजत र १ मिनेट २१.३२ सेकेन्डसाथ आर्मीकी उपस्थिति महर्जनले कांस्य जितिन् ।


महिलाको २ सय मिटर बटरफ्लाइमा आर्मीकी डुवाना लामाले २ मिनेट ४०.०९ सेकेन्डको टाइमिङ निकाल्दै स्वर्ण जितिन् । रजत जितेकी एपीएफकी श्रीबी महर्जनले ३ मिनेट १३.१३ सेकेन्ड लगाइन् । एपीएफकै दिया स्थापितले ३ मिनेट २४.६९ सेकेन्डमा दूरी पूरा गरिन् ।


पुरुषको २ सय मिटर बटरफ्लाइमा एनआरएनएका नाथान दोर्जे शेर्पाले २ मिनेट १८.१० सेकेन्डको टाइमिङका साथ स्वर्ण जिते । आर्मीका अनुभव सुब्बाले रजत र पुलिसका सायेद हाम्जा शाहले कांस्य जिते । अनुभवले २ मिनेट १८.९७ सेकेन्ड र सायेदले २ मिनेट २९.१२ सेकेन्डमा दूरी पूरा गरे ।

प्रकाशित : वैशाख ९, २०७६ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?