कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

आफ्नो तौल खोज्दै खेलाडी

बाँके — आठौं राष्ट्रिय खेलकुदमा भारत्तोलनको प्रतिस्पर्धाका लागि काठमाडौंकी पल्लबी चौधरी उच्च आत्मविश्वासका साथ नेपालगन्ज पुगेकी थिइन् । आफ्नी छोरीको पहिलो राष्ट्रिय प्रतियोगिता हेर्न माता–पिता पनि सँगै थिए । प्रशिक्षकको लापरबाहीका कारण प्रतियोगिता खेल्नै नपाएपछि उनको आत्मविश्वास एकाएक निराशामा बदलियो ।

आफ्नो तौल खोज्दै खेलाडी

आफ्नी आमा शान्तिको पदचाप पछ्याउँदै खेलकुदमा लागेकी पल्लवी काठमाडौंमा ८ कक्षा पढदै छिन् । ६ महिनादेखि ४५ केजी तौलसमूहमा प्रशिक्षण लिएकी उनले प्रदेश ३ को छनोटमा त्यही तौल समूहमा प्रतिस्पर्धा गरेकी थिइन् । गत वर्ष भएको इन्टरक्लब भारत्तोलनकी रजत पदक विजेता पल्लवीले यस प्रतियोगितामा स्वर्णको लक्ष्य राखेकी थिइन् । तर प्रतियोगिता खेल्न आउँदा उनको तौलसमूहमा उनको नामै थिएन ।


जव चौधरी परिवार नगरभवनस्थित भारत्तोलन खेलस्थलमा पुगे, त्यहाँ प्रशिक्षकहरूले ५५ केजी तौलसमूहमा प्रतिस्पर्धा गर्न दबाब दिए । आफ्नौ तौलसमूहमा खेल्न नपाएकी पल्लवीलाई अर्को तौलसमूहको तयारीका लागि केही महिनाको तयारी आवश्यक पर्छ । ‘उनलाई जस्तो व्यवहार गरियो त्यसबाट उनी अहिलेसम्म पनि विक्षिप्त छिन्,’ पल्लवीकी आमा शान्तिले भनिन्, जो दुई वर्षअघि पूर्वाञ्चलमा भएको सातौं राष्ट्रिय खेलकुदमा ७५ केजी तौलसमूहकी स्वर्ण विजेता हुन् ।


चौधरी परिवार प्रदेश नम्बर २ को सप्तरीका हुन् । शान्तिले छोरी पल्लवीलाई प्रदेश ३ बाट खेलाउने निर्णय गरिन्, किनभने अभिभावकको रेखदेखमा काठमाडौंमा रहेर पल्लवीले भारत्तोलनमा दिनदिनै उत्कृष्ट प्रदर्शन गरिरहेकी छन् । र अन्तिममा थाहा भएको थियो कि परिवारको हेरचाहले मात्र लक्ष्य पूरा गर्ने अभियान पर्याप्त हुनेरहेनछ ।


‘खेलाडी दर्ताका लागि जिम्मेवार प्रदेश ३ का प्रशिक्षक अशोक शाहीले मलाई भने कि पल्लवीलाई ५५ केजी तौलसमूहमा दर्ता गरिएको छ । जब कि मैले प्रस्टसँग उनले ४५ केजीमै प्रतिस्पर्धा गर्ने बताएको थिएँ । जिम्मेवार मान्छेहरू किन यस्तो गल्ती गरिरहन्छन् ?’ शान्तिले प्रश्न गरिन् ।


प्रशिक्षकको गैरजिम्मेवारपनका कारण खेल गुमाउने पल्लवी मात्र होइनन् । पुरुष ७३ केजी तौलसमूहका भारत्तोलक शिरीष राजभण्डारीलाई ८९ केजी तौलसमूहमा राखिएपछि विरोध गर्दा अपमानको सामना गर्नुपरेको थियो । अमेरिकामा ८ वर्ष बिताएर नेपाल फर्केका राजभण्डारी काठमाडौंको जिमखानामा क्रसफिट प्रशिक्षकको काम गर्छन् ।


पछि उनलाई ८१ केजी तौलसमूहमा प्रतिस्पर्धा गर्न भनियो । प्रदेश ३ का खेलाडी राजभण्डारीसँग प्रशिक्षकको निर्णयमा सहमत हुनुको अलावा अरु केही विकल्प थिएन । आइतबार आफ्नो तौलसमूहमा खेल्न आउँदा त्यहाँ पनि उनको नाम थिएन । ‘प्रशिक्षकलाई छनोट भएका खेलाडीका बारेमा कुनै जानकारी नै रहेनछ, जबकि खेलाडीहरू प्रतियोगिताका लागि अन्तिम समयमा खेलस्थल पुग्छन्,’ शिरीषले गम्भीर आरोप लगाए ।


‘केही यस्ता खेलाडी छन् जो प्रतियोगितामै छैनन् । तर उनीहरू पनि यस प्रतियोगिताका लागि सूचीकृत छन् किनभने प्रशिक्षकहरूले उनीहरूको भत्ता र खेल सामग्री पचाउँछन् । यही कारण हो कि भारत्तोलकलाई आफ्नो तौलसमूहबाट अर्कोमा पुर्‍याएर खेल्न बाध्य पारिन्छ,’ शिरीषले दाबी गरे ।


प्रशिक्षकहरू रत्न माली र शाही मेरो र पल्लवीको तौलसमूहबारे पूर्ण जानकार थिए । ८९ केजीमा मेरो नाम दर्ता भएको थाहा पाउँदा आश्चर्यचकित बनेँ,’ उनले भने, ‘उहाँले आफ्नो नजिकका खेलाडीलाई ७३ केजी तौलसमूहमा सहज बनाउन चाहनुभएको मैले पछि मात्र थाहा पाएँ । किनभने जब म यहाँ आएँ खेलाडी दर्ताका लागि मैले भरेको फारम पनि तोडमोड भएको रहेछ, ७३ लाई बिगारेर ८३ बनाइएको रहेछ ।’


प्रशिक्षक शाहीले तौलसमूहको फेरबदलबारे खेलाडीलाई नै दोषी बनाउँदै गैरजिम्मेवार अभिव्यक्ति दिए । उनले भने, ‘दर्ताका क्रममा दुवै खेलाडीले हामीसँग समन्वय गरेनन् । हाम्रो टिममा मसहिनतको अफिसियल टिम छ हाम्रो टिमले दर्ता भएका खेलाडीलाई उनीहरूको तौलसमूहमा राख्छ ।’ खेलाडी दर्ताको समयमा हामी हतारमा थियौं । किनभने प्रतियोगिताका लागि खेलस्थल र अन्य प्राविधिक कुराहरू मिलाउने झन्झट थियो । हामीले खेलाडीको दर्ता प्रक्रियामा अधिक ध्यान दिन सकेनौं र यहीँ हामीले गल्ती गर्‍यौं,’ प्रशिक्षक शाहीले भने ।

प्रकाशित : वैशाख १०, २०७६ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?