पुलिसले थप्यो तीन स्वर्ण 

ध्रुव तुलाधर

दाङ — आठौं राष्ट्रिय खेलकुदको कराँतेमा सोमबार ६ स्वर्ण पदकको छिनोफानो भएको छ । नेपाल पुलिस क्लबका खेलाडी स्वर्ण पदक संख्या ८ पुर्‍याएको छ । सोमबार पुलिसले तीन पदक थपेको हो । एक आर्मीले जित्दा दुई स्वर्ण प्रदेशका खेलाडीले जितेका छन् । आर्मीको स्वर्णसंख्या ३ पुगेको छ ।

तुलसीपुरस्थित हलमा महिला ६८ केजीमुनि शनि तामाङले प्रदेश ३ की निरुपा तामाङलाई ७–२ अंक अन्तरले हराउँदै आर्मीका लागि स्वर्ण जितिन् । यसमा एपीएफकी रुपा महर्जन र प्रदेश ७ की शर्मिला घर्तीमगरले कांस्य जितेका थिए । पुलिसका दिवश श्रेष्ठ, गंगाराम कुसुवार र एस्टर राईले स्वर्ण जितेका थिए ।


पुरुष ८४ केजीमुनि दिवशले भीम तामाङलाई १३–५ ले हराएर स्वर्ण हत्याए । प्रदेश ७ का हेमराज थापा र प्रदेश ५ का नारायण गुरुङ कांस्यको हकदार बने । पुरुष ७५ केजीमुनि गंगारामले प्रदेश ५ का उमेश गुरुङविरुद्ध सफलता पाए । उनले ५–३ अंकले स्वर्ण जितेका थिए । प्रदेश ७ का लोकेश पार्की र एपीएफका मोहम्मद शेख आलम कांस्य पदक जित्न सफल भए ।


महिला ६१ केजी तौलमा एस्टरले विभागीय प्रतिद्वन्द्वी एपीएफकी मनीषा चौधरीलाई हराएर स्वर्ण जितिन् । उनले ३–२ अंकले सफलता पाएकी हुन् । प्रदेश ४ की अनु गुरुङ र प्रदेश २ की खुश्बु खडकाले कांस्य जितका थिए । महिला ५५ केजी तौलमा प्रदेश १ की अस्मिता राई र एपीएफकी सोनी राईबीच कडा फाइट भयो । दुवैले समान अंक ५–५ अंक बटुलेका थिए ।


सेन्सुको आधारमा (बराबरीपछि जसले पहिला अंक लिन्छ उही विजयी) अस्मिता विजयी भइन् । अघिल्लो दिन पनि अनुभवी एपीएफकी अनु अधिकारी र आर्मीकी मिस्ली श्रेष्ठबीच खेल यस्तै बराबरीमा अघि बढेको थियो । सेन्सुमा जित्ने स्थितिमा रहेकी

अनुले दुई सेकेन्ड होल्ड गर्न नसक्दा मिस्लीले किक हान्दै अंक लिएकी थिइन् ।


अस्मिताले स्वर्ण जितेको तौलमा अर्मिला डिसी (पुलिस) र सम्झना घिसिङले कांस्य जितेका थिए । सोमबार भएको पुरुष ६७ केजीको स्वर्ण पनि प्रदेश ४ का खेलाडी नवीन रसाइलीले जितेका छन् । उनले एपीएफका सुवास घतानीलाई ९–१ ले हराए । प्र्रदेश १ का रोजन खड्का र प्रदेश ६ का अर्जुनकुमार बाघचन्दले कांस्य जितेका छन् ।

प्रकाशित : वैशाख १०, २०७६ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?