१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

आठौं राष्ट्रिय खेलकुद : पहिलो स्वर्णको सान

ध्रुव तुलाधर

दाङ — आर्मीका कृष्ण बस्नेत र पुलिसकी राजपुरा पछाईले सोमबार आठौं राष्ट्रिय खेलकुदमा म्याराथनको स्वर्ण पदक जितेका छन् । बेलझुण्डीस्थित सिन्थेटिक ट्र्याकमा एक फन्को मार्दै ४२.१९५ किमिको म्याराथन दूरी कृष्णले २ घण्टा १७ मिनेट ३३ सेकेन्डमा पूरा गरेका थिए ।

आठौं राष्ट्रिय खेलकुद : पहिलो स्वर्णको सान

राजपुराले २ घण्टा ५९ मिनेट ३८ सेकेन्ड लगाइन् । दुवैको बृहत राष्ट्रिय खेलकुदमा पहिलो म्याराथन स्वर्ण जित थियो ।

कृष्णको यो व्यक्तिगत उत्कृष्ट टाइमिङ हो । यसअघि कृष्णको २ घण्टा २० मिनेट ५१ सेकेन्डको टाइमिङ थियो । उनले

फागुन १८ मा प्रधानसेनापति कप म्याराथनमा उक्त समय निकालेका थिए ।


कृष्णलाई कर्णाली प्रदेशका दुर्गा बुढाले कडा टक्कर दिए । झन्डै ३९ किमिसम्म सँगै जसो थिए । त्यसपछि दुर्गालाई उछिल्दै कृष्ण अघि बढे । दुर्गाले २ घण्टा १८ मिनेट ३९ सेकन्डमा दौड पूरा गरे । जारी प्रतियोगिताका दुर्गाको दोस्रो रजत र कुल तेस्रो पदक हो । उनले १० हजार मिटरमा स्वर्ण र ५ हजारमा रजत जितेका थिए ।


विजेता कृष्ण भन्छन्, ‘उत्कृष्ट टाइमिङ निस्कियो । खुसी लागेको छ ।’ भर्खरै आर्मी म्याराथन दौडेको ४५ दिनमात्र भएकाले नदौडिने विचार गरे पनि अन्तिममा सहभागिता जनाएको उनले सुनाए । ‘साग खेलकुदका लागि तयारी पनि हुने भएकाले भाग लिएँ । स्वर्ण जितें, सन्तुष्ट छु,’ उनले भने । उनको भनाइमा म्याराथन रुट खासै राम्रो थिएन । ‘रुट खासै राम्रो होइन, अपडाउन थियो । त्यसले प्रदर्शनमा फरक पार्छ । १–२ ठाउँमा बाटो झन् ब्रिगिएको थियो । तर ठीकै भयो । मैले राम्रो प्रदर्शन गर्न सकें । त्यसमै सन्तुष्ट भएँ,’ कृष्णले भने ।


दुई दिनअघि मात्र म्याराथन रुट तय भएको हो । बेलझुण्डी मैदानबाट ग्वारखोला, दोधरिया, डाडाचिस, श्रीगाउँ, कुमालगढी, गटेखोला, हेमन्तपुर हुँदै रंशगालासम्मको दुरी तय गरिएको थियो । राष्ट्रिय खेलकुदको समापनको दिन नेपालगन्जमै लगेर म्याराथन दौडाइने चर्चा पनि चलेको थियो । रामेछापको गोलकुगंगा गाउँपालिकाका कृष्णले सेनामा जागिर खाएपछि मात्र दौडन थालेका हुन् । सातौं राष्ट्रियमा १० किमिमा दोस्रा भएका थिए उनी । उनी ३५ वर्ष त पुगिसके । अझै कति कुदने त ? ‘राम्रोसँग ट्रेनिङ गरिरहें भने १–२ वर्ष दौडन सकिन्छ भन्ने आस छ । हेरौं,’ उनले उत्तर सुनाए ।


उनका निकट प्रतिद्वन्द्वी दुर्गाले आफूले राम्रो गति लिइरहे पनि बीचमा आँखामा किरा पस्दा अलमलिनुपरेको बताए । उनले भने, ‘नत्र जित्छु भन्ने लगेको थियो ।’ कृष्णले पनि उसको पेस थाहा भएकाले अन्तिममा जसरी पनि जित्न सक्छु भन्ने अठोट सुनाए । एपीएफका खिमबहादुर खत्रीले तेस्रो स्थान हात पारे । उनले २ घण्टा २२ मिनेट १० सेकेन्डमा दुरी पार गरेका थिए । म्याराथनमा १४ सहभागी भएकामा ११ जनाले दौड पूरा गरेका थिए ।


महिलातर्फ ६ धाविका प्रतिस्पर्धामा थिए । सबैले दौड पार गरे । राजपुराको स्वर्ण एथलेटिक्सको महिला इभेन्टमा पुलिस क्लबले जितेको एकमात्र स्वर्ण हो । जुम्लाकी धाविका राजपुराले १० हजार मिटरमा भने रजत जितेकी थिइन् । म्याराथनमा उनलाई एपीएफकी पुष्पा भण्डारीले चुनौती दिएकी थिइन् । पुष्पा एक मिनेट पछाडि रहेर रजतको हकदार बनिन् । १० हजारमा चौथो भएकी पुष्पाले म्याराथन ३ घण्टा ५९ सेकेन्डमा पूरा गरेकी हुन् । आर्मीकी सरिता वासीले कांस्य जितिन् । उनको समय ३ घण्टा ८ मिनेट ३ सेकेन्डको थियो ।


पछिल्लो काठमाडौं म्याराथनमा तेस्रो भएकी राजपुरालाई म्याराथन स्वर्ण जित्न खासै कठिन भएन । पछिल्लो समयकी सफल धाविका कान्छीमाया कोजुले भाग लिइनन् । एपीएफकी कान्छीले केही समयअघि बुवा निधन भएको र आफ्नो स्वास्थ्य समस्याका कारण यस प्रतियोगितामा सहभागिता जनाइनन् । राजपुराले सुनाइन्, ‘आफ्नै लयमा दौडिएँ । जितें ।’ ‘जहिल्यै मेरो लक्ष्य फिनिसिङ लाइन नपुग्दासम्म स्वर्ण हुन्छ । त्यहाँ पुगेपछि जुन पोजिसन आउँछ त्यसमै सन्तुष्ट हुन्छु,’ उनले थपिन् ।


पुलिसकी राजपुरा पछाई म्याराथन पूरा गरेपछि । तस्बिरहरू : अनिश रेग्मी/कान्तिपुर


कान्छीमाया आएको भए झन् आफ्नो टाइमिङमा सुधार हुने उनको जिकिर थियो । थपिन्, ‘कान्छी दिदी आउनु भएको भए झन् टाइमिङमा सुधार गर्थें होला । प्रदर्शनमा सुधार गर्न चुनौती दिने पनि हुनुपर्छ ।’ कान्छीमाया काठमाडौं म्याराथन विजेता हुन् भने राजपुरा तेस्रोमा थिइन् ।


राजपुराको दौडबाट पदकको डेब्यु दाङकै भूमिबाट भएको हो । ०७२ सालमा राष्ट्रपति रनिङ सिल्ड खेल्न आउँदा पदक जितेर जुम्ला फर्केकी थिइन् । घोराहीमा भएको प्रतियोगितामा उनले १५ सय मिटर र ५ किमि दौडेकी थिइन् । ५ किमिमा रजत पदक जितिन् । म्याराथनको पदक भने अल्ट्राबाट जित्न सुरु गरेकी हुन् । गोदावरीदेखि सिन्धुपाल्चोकसम्म ५० किमि दौडँदा रजत जितेकी थिइन् । जतिखेर उनले चर्चित धाविका मीरा राईलाई समेत पछाडि पारेकी थिइन् । मीराले कांस्य जित्दाको त्यो क्षणमा जुम्लाकी विष्णुमाया बुढाको गलामा स्वर्णको थियो ।


राजपुराले करिब दौड छाडिसकेकी थिइन् । अघिल्लो वर्षको फागुनमा बिहे गरेपछि उनी पलायनजस्तै भएकी हुन् । पछिल्लो समय प्रशिक्षक रघुराज वन्तको आग्रहमा फेरि दौड्न फर्केकी हुन् । उनकै प्रशिक्षणले सफलता दिलाएकाले उनी वन्तप्रति कृतध्न बनिन् । भनिन्, ‘खेल्दिनँ भनेर छाडिसकेको थिएँ । तर उहाँको प्रशिक्षणमा मैले दिनको तीन टाइम मिहिनेत गरेर यो सफलता भेटेकी हुन् ।’ बिहेपछि खेल्न सक्दिनँ र दौडिएर पनि के हुँदोरहेछ भन्दै आफू विरक्तिएको पनि उनले सुनाइन् । अहिले गुरु र परिवारको साथ सहयोगमा पुनः फर्केको उनको भनाइ छ ।


उनले पनि म्याराथन रुटलाई खराबको संज्ञा दिइन् । यसका कुरामा पुलिसका प्रशिक्षक रघुराज वन्तले पनि सहमति जनाए । उनीहरूका अनुसार ट्राफिक कन्ट्रोल थिएन । साँघुरो बाटो । अपडाउन त्यत्तिकै । दुई तीन ठाउँमा भत्केको बाटोले खेलाडीको आँखामा धुलो पर्ने सम्भावना त्यत्तिकै थियो । सडकमा गाडी नियन्त्रण थिएन । चेक प्वाइन्टहरू पनि थिएनन् । कुनै रौनक थिएन । माहोलमा म्याराथन दौड्नुको मज्जा नै बेग्लै राजपुराको अनुभव छ । यो जितेले सिधैं साग खेलकुदको क्याम्पमा पर्ने भएकाले अब त्यसकै लागि केन्द्रित हुने राजपुराको लक्ष्य छ ।


किशोरको करामत

पहिलोपल्ट म्याराथन दौडेकी धाविका लक्ष्मी कुशवाहाको गज्जबको साहस देखियो । सवा चार घण्टासम्म निरन्तर दौडिरहिन् । मात्र उनको सबैभन्दा ठूलो लक्ष्य नै म्याराथन दुरी पार गर्नु थियो । चाहे जतिसुकै घण्टा किन नलागोस् । महोत्तरी कतिनापुरकी यी किशोरीले महिलातर्फ पुछारमा रहेर दौड पूरा गरेकी हुन् । त्यसका लागि उनले ४ घण्टा १७ मिनेट खर्चिइन् ।


कक्षा ११ मा पढछन् । १९ वर्षकी भइन् । प्रदेश २ बाट आठौं राष्ट्रियमा भाग लिन आएकी हुन् । ‘मेरो लक्ष्य म्याराथन दौड पूरा गर्नु थियो । त्यसमा सफल भएँ । अहिल्यै जित्नका लागि दौडेकी होइन । विभागका खेलाडीसँग कहाँ सक्छु र मैले । मात्र आफ्नै लक्ष्य भेट्नु थियो,’ उनले साहसिलो जवाफ दिइन् ।


प्रदेशस्तरीयमा २१ किमि हाफ म्याराथन जितेकी रहिछ । त्यससँगै ५ किमि र १० किमि पनि जितेको अनुभवमात्र थियो उनीसँग । पूरा म्याराथन पहिलोपल्ट दौडेकी हुन् । कस्तो लाग्यो म्याराथन पूरा गर्दा ? उनको आँट रहेछ, ‘मैले आफूलाई विश्वास गरेकी थिएँ । क्षमता छ म दौडन सक्छु भन्ने विश्वास थियो । त्यहीअनुसार आफ्नो तरिकाले दौडिरहें ।’ चाँडो आइपुगेका खेलाडीले जति आराम लिनुपरेको थियो । त्यो तुलनामा उनी फिनिसिङ बिन्दु आइपुग्दा फ्रेस थिइन् । सबैको तालीले स्वागत पाइन् । जति अरुले पाएनन् ।


यसै प्रतियोगितामा लक्ष्मीकुमारीले ५ हजार र १० हजार पनि कुदेकी थिइन् । १० हजार पूरा गरिन् भने ५ हजार दौडदा पेट घोचेकाले ३–४ फन्को लगाएर छोडिन् । महोत्तरीबाटै आएका प्रशिक्षक चन्द्रेश्वर झा पनि लक्ष्मीले दौड पूरा गरेकामा दंग देखिए । उनले भने, ‘यिनको साहस र आँट बलियो छ । जे गर्छु भन्छ त्यसलाई पूरा गर्छे । भविष्यमा राम्रो रनर बन्ने क्षमता र लक्षण छ यिनीभित्र ।’


त्यस्तै साहस बोकेर १७ वर्षे अर्का किशोर देवबहादुर खडाले पनि म्याराथन पूरा गरे । उनी पुरुषतर्फ १० औं स्थानमा रहे । सिन्धुली दुधौलीका देवले पनि पहिलोपल्ट नै हो म्याराथनमा भाग लिएको । उनीसँग नुवाकोटमा भएको १३ किलोमिटर झिल्टुङ क्रसकन्ट्री दौडेको अनुभव छ । प्रदेश ३ बाट सहभागी देवले ३ घण्टा ५ मिनेट ४५ सेकेन्डमा दौड पूरा गरेका थिए । गाउँकै उमाविमा कक्षा ११ मा अध्ययनरत देव २०७० सालदेखि दौडन थालेका हुन् । त्यति धेरै प्रतियोगिता भने खेलेका छैनन् । पछिल्लो दुई महिनाचाहिँ हल्का ट्रेनिङ गरेको उनले सुनाए ।


विभागीय खेलाडीको तीव्र दबाब झेल्ने क्रममा प्रदेशका केही किशोर खेलाडीले म्याराथन पार गरेका छन् । त्यसमा प्रदेश ४ का श्याम शेरचनले २ घण्टा ५० मिनेट ९० सेकेन्डमा दुरी पार गर्दै आफूलाई चौथो स्थानमा उभ्याए । प्रदेश ५ का सन्तोष नापित र बलबहादुर सुनारले पनि दौड पूरा गरे ।

प्रकाशित : वैशाख १०, २०७६ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?