आठौं राष्ट्रिय खेलकुद : पुलिस कराँते टिम च्याम्पियन

ध्रुव तुलाधर

दाङ — आठौं राष्ट्रिय खेलकुदको कराँतेमा नेपाल पुलिस क्लबले ९ स्वर्ण पदक जित्दै टिम च्याम्पियनको ट्रफी उचालेको छ । मंगलबार सम्पन्न अन्तिम एक तौल समूहको स्वर्ण जित्दै पुलिसले कुल ९ स्वर्ण प्राप्त गरेको छ ।

आठौं राष्ट्रिय खेलकुद : पुलिस कराँते टिम च्याम्पियन

पुलिस राष्ट्रिय खेलकुदमा ९ स्वर्णसहित च्याम्पियन भएको हो । उसले एक रजत र एक कांस्य पनि जित्यो । तुलसीपुरस्थित निर्माणधीन कभर्डहलमा मंगलबार सम्पन्न कराँतेमा आर्मीले तीन, प्रदेश ३ ले दुई, एपीएफ, प्रदेश ४ र प्रदेश १ ले १–१ स्वर्ण पदक जितेका छन् ।

अन्तिम बाउट पुरुष ६० केजीमुनि पुलिसका राजीव पुडासैनीले प्रदेश ४ का राजकुमार रसाइलीलाई हराएर स्वर्ण जितेका थिए । उनले ५–१ को स्कोरमा सफलता चुमे । दुवै बालाजु डोजोबाट उत्पादित खेलाडी हुन् । नुवाकोटका राजीवले राष्ट्रिय खेलकुदमा जितेको यो पहिलो स्वर्ण हो । यसअघि सातौंमा उनले रजतमा चित्त बुझाएका थिए । ‘एकदमै खुसी लागेको छ ।

उहाँ मभन्दा सिनियर हो । गुरु पनि हुनुहुन्छ । राम्रो प्रदर्शन गरेर पहिलोपल्ट राष्ट्रियमा स्वर्ण जित्न सकें,’ उनले भने ।

राजीवले फाइनलअघि प्रदेश २ का स्वतन्त्र मगरलाई ७–० र एपीएफका मोहन कार्कीलाई १०–१ अन्तरले हराएका थिए । स्वतन्त्रले प्रदेश ६ का रोशन बिक र मोहनले प्रदेश ३ का फिन्चोक दोर्जे लामामाथि पहिलो बाउटमा जित पाएका थिए ।

प्रतिद्वन्द्वी राजकुमारले फाइनल पुग्नुअघि तीन फाइट जितेका थिए । उनले प्रदेश ५ का सन्जिव चौधरी, आर्मीका सनी चौलागाईं र प्रदेश ७ का जगतसिंह धामीलाई हराएका थिए । जगतले पनि सेमिफाइनलअघि प्रदेश १ का किशोर कोइरालालाई पन्छाएका हुन् । जगत र मोहनले कांस्य जिते ।

कराँतेले टिम फाइटका बाउट भने यसपल्ट खेलाएन । पहिलोपल्ट राष्ट्रिय खेलकुद सहभागिता जनाएको एनआरएनए टिमले कराँतेमा दुई पदक जितेको छ । उसले सबैभन्दा धेरै दर्जन खेलाडी कराँतेमा उतारेको थियो । त्यसमा सुभद्रा श्रेष्ठले रजत र शान्ति अधिकारीले कांस्य पदक जिते । दुवै पूर्व राष्ट्रिय खेलाडी हुन् । यसपालि राष्ट्रियमा प्रदेशका खेलाडीले विभागीय टोलीका खेलाडीले गतिलो चुनौती पेस गरेका थिए । कराँतेमा युवा अनुहारले सफलता भेटेका छन् ।


प्रकाशित : वैशाख १०, २०७६ १२:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?