नवौं राष्ट्रिय गण्डकी प्रदेशमा

आठौंको समापन आज
कुशल तिमल्सिना

बाँके — घरेलु खेलकुदको सबैभन्दा ठूलो महामेला राष्ट्रिय खेलकुदको नवौं संस्करण गण्डकी प्रदेशमा हुने निश्चित भएको छ  । बुधबार नेपालगन्ज रंगशालामा हुने आठौं राष्ट्रिय खेलकुदको समापन समारोहमा गण्डकी प्रदेश खेलकुद बिकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले प्रतियोगिता आयोजनाको अधिकारसहितको झन्डा ग्रहण गर्नेछन्  ।

पूर्वाञ्चलमा भएको सातौं राष्ट्रिय खेलकुदपछि नै तत्कालीन पश्चिमाञ्चल खेलकुद विकास समितिले प्रतियोगिता आयोजनाको दाबी गरेको थियो । तत्कालीन खेलकुदमन्त्री दलजित श्रीपाइली, मध्यपश्चिम खेलकुद बिकास समितिका अध्यक्ष भीम ओलीलगायतको सक्रियतामा मध्यपश्चिमले आठौं खेलकुदको आयोजना अधिकार पाएको थियो ।

वर्तमान युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा गण्डकी प्रदेशकै जनप्रतिनिधि हुन् । मन्त्री विश्वकर्मा, सदस्यसचिव केशवकुमार विष्ट, खेलकुद मन्त्रालयका सचिव कृष्ण देवकोटाको समन्वयमा गण्डकी प्रदेशलाई नवौं खेलकुदको आयोजना अधिकार दिने निर्णय भएको राखेप स्रोतले जानकारी दिएको छ । आयोजनाको पूर्ण अधिकार निर्णय भने राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आगामी बोर्ड बैठकले गर्नेछ ।

समापनमा उपराष्ट्रपति
प्रदेश ५ का ५ जिल्लामा आयोजना भएको आठौं खेलकुदको समापन बुधबार अपराह्न बाँकेको नेपालगन्ज रंगशालामा हुँदै छ । राष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमणमा जाने र प्रधानमन्त्री केपी शर्मा ओली पूर्वनिर्धारित कार्यतालिकाका कारण उपस्थित हुन नसक्ने भएपछि प्रतियोगिताको समापन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्नेछन् । प्रतियोगिताको उद्घाटन राष्ट्रपति भण्डारीले वैशाख ५ गते गरेकी थिइन् ।बुधबार ३ बजे उपराष्ट्रपति पुन नेपालगन्ज रंगशाला पुग्ने समय निर्धारण गरिएको छ । त्यसपछि आधा घण्टाको औपचारिक कार्यक्रम हुने र त्यहीँ त्रिभुवन आर्मी र नेपाल पुलिसबीचको पुरुष फुटबल फाइनल हुने प्रतियोगिता समारोह समितिका सदस्य कुलबहादुर खडकाले जानकारी दिए ।

फाइनल सकिएपछि सहभागी सबै टिमले मार्चपास गर्नेछन् । त्यसपछि दुईवटा नृत्यको प्रस्तुत हुनेछ । अन्तिममा नवौं राष्ट्रिय खेलकुदको आयोजना प्रदेशलाई झन्डा हस्तान्तरण गरी आठौं राष्ट्रिय खेलकुदको बिधिवत् समापन हुनेछ । वैशाख ५ गते उद्घाटन भए पनि आठौं खेलकुदका खेलहरू चैत २७ गतेदेखि नै सुरु भएको हो । प्रतियोगितामा समावेश ३५ मध्ये ३२ खेल प्रदेश ५ मा आयोजना भएको थियो । बाँकी खेल कास्की, काठमाडौं र ललितपुरमा आयोजना भएको थियो ।

प्रतियोगितामा ३ सय ७२ स्वर्ण, ३ सय ७२ रजत र ५ सय ६३ कांस्यका लागि सात प्रदेश, ३ बिभागीय र गैरआवासीय नेपाली संघ (एनआरएन) गरी ११ टोलीको सहभागिता थियो । अन्तिम दिनको खेल बाँकी रहँदा विभागीय टोलीले वर्चस्व जमाएका छन् । जसमध्ये त्रिभुवन आर्मी क्लब अग्रस्थानमा छ । नेपाल पुलिस र एपीएफले आर्मीलाई पछ्याइरहेका छन् ।

प्रकाशित : वैशाख ११, २०७६ ०८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?