कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

गाउँले पाए संरचना, खेलाडीले सम्मान

ठाकुरसिंह थारू

बर्दिया — नेपाल आर्मीका खो खो खेलका प्रशिक्षक लक्षमीनारायण वैद्य प्रतिस्पर्धाका लागि खेलाडीको टोलीसहित बर्दिया ठाकुरबाबा नगरपालिका २ रानीपुर गाउँमा छन् । बर्दिया राष्ट्रिय निकुन्ज छेउको उक्त गाउँ पुग्ने सपनामा पनि सोचेका थिएनन् । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताले भने त्यो अवसर जुरायो ।

गाउँले पाए संरचना, खेलाडीले सम्मान

काठमाडौंको कोलहालमा बस्ने बानी परिसकेका उनलाई गाउँको वातावरणमा रमाउने अवसर जुरेको छ । ‘खो खो खेल ह्नुे ठाउँ नजिकै जंगल छ । खुला वातावरणको मजा नै फरक,’ वैद्य भन्छन्, ‘गाउँमा प्रतियोगिता भए पनि निकै रमाइलो भइरहेको छ । यहाँको समुदायले खेलाडीलाई सम्मान गरेर हौसला प्रदान गरिरहेका छन् ।’

उनले ठूला सहर र गाउँमा हुने प्रतियोगिता हेर्न दर्शकमा पनि निकै भिन्नता पाएको अनुभव सुनाए । गाउँका सर्वंसाधारणहरूले खेलाडीहरूलाई निकै माया दिएको उनको अनुभव छ । ‘प्रतियोगिता हेर्न सहरभन्दा गाउँमा बढी भीड लाग्दो रहेछ । यहाँका मान्छेहरूले माया दिएर खेलाडीको मनोबल बढाउन निकै सहयोग गरेका छन्,’ उनले कान्तिपुरसँग भने, ‘गाउँले दिएको सम्मानले खेलाडीलाई प्रतिस्पर्धा गर्न ऊर्जा थपेको छ ।’

सुदूरपश्चिम प्रदेशकी खो खो खेलाडी मनमती धामी पनि बर्दिया आएको पहिलोपल्ट हो । यसअघि बर्दिया आएको अनुभव उनीसँग छैन । खेलमा स्पर्धा गरिरहेकी उनले गाउँको वातावरणमा बस्न पाउँदा रमाइलो भइरहेको सुनाइन् ।

‘राष्ट्रिय प्रतियोगिता गाउँमा खेल्न पाउँदा रमाइलो लागेको छ । गाउँमा माया पाइएको छ,’ उनले गाउँ बसाइको अनुभव सुनाइन्, ‘खेल खेलिसकेपछि फुर्सदको समयमा गाउँमा घुमघाम गर्दा फरक अनुभव भइरहेको छ ।’ बर्दियाको सदरमुकाम गुलरियाबाहेक जिल्लामा खासै सहर छैन । सानातिना बजार छन् । यही जिल्लामा राष्ट्रियस्तरका चार प्रतियोगिता भइरहेका छन् ।

ग्रामीण क्षेत्रमा प्रतियोगिता सञ्चालन भइरहँदा गाउँले करोडौंका खेल भौतिक संरचना पाएका छन् । राष्ट्रियस्तरको प्रतियोगिता आयोजना भएका गाउँले मुलुकमा आफ्नो पहिचान पाएका छन् । मुलुकभरिबाट छनोट भएर स्पर्धा गर्न आएका खेलाडीले बर्दियालाई चिन्ने अवसर पाएका छन् । गाउँमा भइरहेका प्रतियोगितालाई भव्य रूपमा सम्पन्न गर्न स्थानीयहरू लागिपरेका छन् । उनीहरूले सम्मान दिएर खेलाडीलाई हौसला प्रदान गरिरहेका छन् ।

बर्दिया बाँसगढी नगरपालिका ४ मगरपुर गाउँमा सवा दुई करोडको कबड्डी एकेडेमी निमार्ण भएको छ । सामुदायिक वन नजिकै कबड्डी प्रतियोगिता भयो । स्पर्धाका लागि आएका खेलाडीहरू गाउँमा रमाए । ठाकुरबाबा नगरपालिका २ रानीपुरमा सवा दुई करोडमा खो कबर्ड हल निमार्ण भइसकेको छ । यहाँ महिला/पुरुष खो खो प्रतियोगिता आयोजना भइरहेको छ ।

ठाकुरद्वारामा चेस, गुलरिया नगरपालिका त्लुसीपुर गाउँमा सेपाकतक्रो (चुङ्गीजस्तै चोयाको बल) प्रतियोगिता भयो । यहाँ १ करोड ५ लाखको संरचना बनेको छ । गुलरियामा एथ्लेटिक्सका लागि सुर्की ट्र्याक निर्माण गरिएको छ । बर्दियाको बढैया तालमा हुने भनिएको ट्राइथलन प्रतियोगिता पोखरा सारिएको छ ।

त्यस्तै बाँकेको खजुरा गाउँपालिका सीतापुर गाउँमा महिला/पुरुष भलिवल प्रयोगिता आयोजना भयो । खजुरा डी गाउँमा फुटबल, बी गाउँमा पुरुष बक्सिङ र के गाउँमा महिला हक्की प्रतियोगिता भए । ‘राष्ट्रिय प्रतियोगिता आफ्नै गाउँमा गराउन पाउँदा हाम्रो लागि गौरवको विषय हो । मुलुकभरिका खेलाडीहरूलाई हाम्रो गाउँ चिनाउने अवसर पाइयो,’ खजुरा गाउँपालिका ३ का वडा अध्यक्ष तिलकवीर सुनार भन्छन् ।खेलकुद विकास समिति प्रदेश ५ का अध्यक्ष भीम वलीले राष्ट्रिय प्रतियोगिताले ग्रामीण खेलकुदको विकासमा टेवा पुगेको बताए । उनले गाउँगाउँमा खेलको मौहल छाएको जनाए ।

‘हाम्रो चाहना भनेकै ग्रामीण खेदकुदको विकास गर्नु नै थियो । त्यो उद्देश्य पूरा भएको छ,’ उनले भने, ‘प्रतियोगिताले गाउँमा खेलकुदले संरचना पाए । खेलाडीले सम्मान ।’ राष्ट्रिय प्रतियोगितामा ३५ खेल समाबेश गरिएका थिए । अधिकांश खेलहरू सम्पन्न भइसकेका छन् ।

प्रकाशित : वैशाख ११, २०७६ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?