१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

भलिबलमा पुलिस र एपीएफ च्याम्पियन

कुशल तिमल्सिना

बाँके — आठौं राष्ट्रिय खेलकुदअन्तर्गत राष्ट्रिय भलिबलको स्वर्ण पुरुषतर्फ नेपाल पुलिस क्लब र महिलातर्फ नेपाल एपीएफ क्लबले जितेको छ ।

भलिबलमा पुलिस र एपीएफ च्याम्पियन

गत संस्करणको विजेता त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गरी पुलिस पुरुष भलिबलमा नयाँ च्याम्पियन बन्यो । एपीएफले महिलातर्फको उपाधि रक्षा गर्ने क्रममा प्रदेश ३ लाई ३–० को सोझो सेटमा हरायो ।


खजुरास्थित केगाउँमा नवनिर्मित शुक्र भलिबल कोर्टमा बुधबार बिहान स्वर्ण पदकलाई भएको प्रतिस्पर्धामा आर्मीबिरुद्ध पुलिस उत्कृष्ट देखियो । आठौं खेलकुदका समयमा जापानमा मैत्रीपूर्ण भलिबल खेल्न गएको भन्दै कप्तान तथा मुख्य स्पाइकर मानबहादुर श्रेष्ठलाई निलम्बन गरेपछिको असर आर्मीको टिममा प्रत्यक्ष देखियो । त्यसबाहेक फाइनलमा आर्मीको रक्षापंक्ति कमजोर थियो ।


युवा र प्रतिभावान खेलाडीले भरिएको नेपाल पुलिसले भने एकपछि अर्को उत्कृष्ट प्रदर्शन गर्दै उपाधि हत्याउन सफल भयो । पुलिसले पहिलो सेट २५–१८ ले जितेको हो । १० अंकदेखि आर्मीलाई पछि पारेको पुलिसले सेटमा सहज जित हासिल गरेको हो । दोस्रो सेट २३–२५ ले जित्दै साविक विजेता आर्मीले पुनरागमनको संकेत गरेको थियो ।


त्यसपछिका दुई सेटमा पुलिसले क्रमसः २५–२१ र २५–१८ ले जितेर स्वर्ण पदक भित्र्यायो । तेस्रो सेटमा पुलिसले ५ देखि लगातार अग्रता बनाएर १५ पुर्‍याए पनि त्यसपछि आर्मीले खेलमा फर्कने संकेत देखिएको थियो । रक्षापंक्तिले अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा आर्मीले तेस्रो सेट गुमायो । चौथो तथा निर्णायक सेटमा दुवै टिमको ५ अंक थियो । त्यसपछि पुलिसले लगातार अग्रता बनाउँदै स्वर्ण पदक जित्न सफल भयो ।


पुलिसका कुलबहादुर थापा उत्कृष्ट खेलाडी चुनिए । उत्कृष्ट खेलाडी कुलबहादुरलाई स्थानीय आशिष पेन्ट्सका अध्यक्ष किरणकुमार कार्कीले ११ हजार रुपैयाँ पुरस्कार प्रदान गरे । महिलातर्फ उत्कृष्ट बनेकी च्याम्पियन टोली एपीएफकी सरस्वती चौधरीलाई स्वर्गीय लक्ष्मी नारायण श्रेष्ठ भलिबल मेमोरियल ट्रष्टले १० हजार रुपैयाँ प्रोत्साहन पुरस्कारको प्रायोजन गरेको छ ।


बुधबारै भएको महिलातर्फको फाइनलमा एपीएफले काठमाडौं नैकापको न्यु डायमण्ड एकेडेमीका अधिकांश खेलाडीहरू सम्मिलिन प्रदेश ३ को टोलीलाई सहज सेटमा पराजित गरेको हो ।


खुला कोर्टमा खेलाइएको खेलमा हावाको वेगका कारण महिलाको फाइनल खेल केहि प्रभावित बनेको थियो ।

एपीएफले प्रदेश ३ विरुद्ध २५–११, २५–१३ र २५–१९ को सेटमा जित हासिल गरेको हो । एपीएफले दुई वर्षअघि सम्पन्न सातौं राष्ट्रिय खेलकुदमा स्वर्ण जित्दा फाइनलमा नेपाल पुलिसलाई पराजित गरेको थियो ।


बुधबारै तेस्रो स्थानका लागि भएको खेलमा पुरुषतर्फ एपीएफले गण्डकी प्रदेशलाई ३–२ को सेटमा पराजित गरी कास्य जित्दा महिलातर्फ नेपाल पुलिसले गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा हरायो ।

प्रकाशित : वैशाख १२, २०७६ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?