कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

गौरिकाद्वारा १२ स्वर्णको कीर्तिमान बराबर

बाँके — राष्ट्रिय खेलकुदमा पहिलोपल्ट सहभागिता जनाएकी ओलम्पियन पौडी खेलाडी गौरिका सिंहले आठौं राष्ट्रिय खेलकुद अन्तर्गत २३ औं राष्ट्रिय पौडी प्रतियोगितामा १२ स्वर्ण जितेर कीर्तिमान बराबरी गरेकी छन् ।

गौरिकाद्वारा १२ स्वर्णको कीर्तिमान बराबर

त्रिभुवन आर्मी क्लबकी उनले आफूले खेलेका सबै स्पर्धामा स्वर्ण जित्दा ६ स्पर्धामा राष्ट्रिय कीर्तिमान सुधार गरिन् ।

२०६५ सालमा काठमाडौंमा सम्पन्न पाँचौं राष्ट्रिय खेलकुदमा करिस्मा कार्कीले १२ स्वर्ण जितेको कीर्तिमान गौरिकाले बराबरी गरेकी हुन् ।

प्रतियोगिताको चौथो तथा अन्तिम दिन बुधबार गौरिकाले ४ स्वर्ण थप्दा ३ स्पर्धामा राष्ट्रिय कीर्तिमान सुधार गरिन् । २ सय मिटर इन्डिभिज्युअल मिड्लेमा उनले २ मिनेट ३२ सेकेण्डको टाइमिङ निकालेर कीर्तिमानसहित स्वर्ण जितिन् । आर्मीकै डुवाना लामाले २ मिनेट ३६.५९ सेकेन्डमा दूरी पूरा गरी रजत र एपीएफकी टिसा शाक्यले २ मिनेट ४९.८७ सेकेण्डमा दूरी पूरा गरिन् ।

महिला ५० मिटर फ्रिस्टाइलमा गौरिकाले दुईपल्ट कीर्तमानी प्रदर्शन गरिन् । हिट चरणमा २७.८१ सेकेण्डको कीर्तिमानी टाइमिङ निकालेकी गौरिकाले फाइनलमा अझै सुधार गरी २७.५९ सेकेन्डको नयाा कीर्तिमान रचिन् । यसअघि गतवर्षको राष्ट्रिय पौडीमा उनले २७.९१ सेकेण्डको कीर्तिमान बनाएकी थिइन् ।

महिलाकै १ सय मिटर ब्याकस्ट्रोकमा १ मिनेट ०७.२२ सेकेन्डको टाइमिङका साथ गौरिकाले नयाँ कीर्तिमान बनाइन् । यसअघि हिट चरणमा १ मिनेट ८.६३ सेकेन्डको टाइमिङ निकालेकी थिइन् । त्यो पनि कीर्तिमान नै थियो । गतवर्ष उनले १ मिनेट ९.३० सेकेन्डको कीर्तिमान रचेकी थिइन् ।

४ गुणा १ सय मिटर फ्रिस्टाइल रिलेमा गौरिका सम्मिलित आर्मीको टोलीले स्वर्ण जित्यो । गौरिका, डुवाना लामा, उपास्थी महर्जन र सोफिया शाहको टिमले ४ मिनेट २१.४१ को समय निकाल्दै स्वर्ण जिते । नेपाल पुलिसका समिरा शोभा थापा, अदिप्सा बैद्य, अनुस्का पोखरेल र अउसिया तन्डुकारको टिमले ४ मिनेट ३६.२५ सेकेण्डको टाइमिङका साथ रजत र एपीएफका दिया बस्नेत, अज्मी शेरचन, श्रीबी महर्जन र टिसा शाक्यको टिमले ४ मिनेट ४८.८७ को टाइमिङ निकाल्दै कास्य जिते ।

पुरुष ४ गुणा १ सय मिटर फ्रिस्टाइल रिलेमा नेपाल पुलिसका सायेद हेम्जा शाह, दिपांकर अवाले, तरुण भण्डारी र गौरव लामाले ४ मिनेट १.०९ सेकेण्डको टाइमिङ निकाल्दै स्वर्ण जिते । आर्मीका अभिरञ्जन शाही ठकुरी, अनुभव सुब्बा, दिलिप थापामगर र एलेक्स शाहको टिमले ४ मिनेट १.६९ को समयका साथ रजत जिते । एपीएफका शुभम श्रेष्ठ, तेन्जिङ गुरुङ, जेविस पौडेल र नसिर हुसेनको टिममले ४ मिनेट ४.४७ सेकेण्डको टाइमिङ निकाल्दै कांस्य जिते ।

पुरुष १ सय मिटर ब्याकस्ट्रोकमा एनआरएनका नाथान दोर्जे शेर्पाले १ मिनेट ४.०६ सेकेन्डको टाइमिङ निकाल्दै कीर्तिमानसहित स्वर्ण जिते । यस स्पर्धाको हिट चरणमा एपीएफका तेन्जिङ गुरुङले पनि १ मिनेट ११.१२ सेकेण्डको टाइमिङ निकाल्दै कीर्तिमान बनाएका थिए ।

तेन्जिङले फाइनल चरणमा १ मिनेट ९.५३ को टाइमिङसहित रजत जितेका हुन् । यस स्पर्धामा गत वर्ष प्रसान्त राज जोशीले राखेको कीर्तिमान तोडिएको हो । एपीएफका नसिर हुसेनले १ मिनेट १०.९७ को टाइमिङसहित कांस्य जिते ।

पुरुष ५० मिटर फ्रिस्टाइलमा आर्मीका एलेक्स शाहले नयाा कीर्तिमानसहित स्वर्ण जिते । उनले गतवर्ष शिरिष गुरुङले बनाएको २५.८० सेकेन्डको कीर्तिमान तोडै २५.०६ सेकेन्डको टाइमिङ निकाले । पुलिसका सायेद हेम्जा शाहले २५.९६ सेकेण्डको टाइमिङसहित रजत र आर्मीकै अनुभव सुब्बाले २६.२२ सेकेन्डको टाइमिङसहित कांस्य जिते ।

पुरुष २ सय मिटर इन्डिभिज्युअल मिड्लेमा नेपाल पुलिसका सायेद हेम्जा शाहले २ मिनेट १७.१९ को उत्कृष्ट टाइमिङका साथ कीर्तिमानी स्वर्ण जिते । उनले शिरिष गुरुङको नाममा रहेको २ मिनेट २६.१७ सेकेण्टको टाइमिङ मार्क गरेका हुन् । एनआरएनका नाथान दोर्जे शेर्पाले २ मिनेट २१.३१ सेकेण्डसहित रजत र आर्मीका अनुभव सुब्बाले २ मिनेट २३.२२ सेकेन्डसहित कास्य जिते ।

चार दिनसम्म चलेको प्रतियोगितामा चार टिमस्पर्धासहित कुल ३४ पदकका लागि प्रतिस्पर्धा भएको थियो । जसमा त्रिभुवन आर्मी २० स्वर्ण, १३ रजत र ५ कांस्यसमित टिम च्याम्पियन बन्यो । आर्मीले महिलातर्फ सबै १७ स्पर्ण जित्यो भने पुरुषतर्फ ३ स्वर्ण जितेको हो ।

दोस्रो भएको नेपाल पुलिसले ५ स्वर्ण १३ रजत र ५ काश्य जित्यो । एकमात्र खेलाडी समावेश एनआरएन टिम तेस्रो भयो । उसका खेलाडी नाथान दोर्जे शेर्पाले ५ स्वर्ण, १ रजत र १ कांस्य जिते । ४ स्वर्ण ७ रजत र २१ कांस्य जितेको एपीएफ पदकतालिकामा चौथो बन्यो ।

प्रकाशित : वैशाख १२, २०७६ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?