१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

काँकडभिट्टाको विजयी सुरुवात

पर्वत पोर्तेल

काँकडभिट्टा — दुहबी गोल्डकपमा दाउफिन्स क्यामरुनसँग व्यहोरेको पराजयको बदला लिंदै मेची नेत्रालय काँकडभिट्टा फुटबल ट्रेनिड सेन्टर घरेलु मैदानमा उत्कृष्ट पुनरागमन गर्दै चौथो मेचीनगर गोल्डकपको क्वाटरफाइनल प्रवेश गरेको छ । 

काँकडभिट्टाको विजयी सुरुवात

आयोजकले पेनाल्टी सुटआउटमा ४–२ ले दाउफिन्सको चुनौती समाप्त पार्दै पाहुना टोलीलाई पहिलो खेलमै रोकेको हो । उसले यसअघि इटहरी गोल्डकपमा समेत दाउफिन्सलाई पहिलो चरणबाटै बाहिर पठाएको थियो ।


निर्धारित समयमा खेल २/२ गोलको बराबरीमा टुंगिएपछि पेनाल्टी सुटआउटबाट अन्तिम निर्णय लिइएको थियो । त्यसमा मेचीका पुजन उपरकोटी, नीरज बस्नेत, विकास राई र निशान लिम्बूले गोल गरे । योगेश गुरुडको प्रहार दाउफिन्सका गोलरक्षक प्रिसोले रोके । दाउफिन्सका शिलो मार्टिन र पेटेंगाको प्रहार बाहिरियो । प्रिसो र विगविगको गोल खेल जित्न पर्याप्त बनेन ।


खेल सुरु भएको छैटौं मिनेटमै दाउफिन्सका ओगेन जुनियरले गोल गरेर आयोजकलाई अत्याएका थिए । मेसुकेको कडा प्रहार आयोजकका गोलकिपर किशोर गिरीले पञ्च गरेका थिए । त्यही रिबाउन्ड बललाई जुनियरले गोलमा परिणत गरे । २० औं मिनेटमा जुनियरले अर्को गोल थप्दा आयोजक पूर्ण रूपमा दबाबमा देखिन्थ्यो । मैदानको मध्यभागमा अनमार्क रहेका जुनियरको एकल प्रयास गोलमा परिणत हुँदा आयोजकका गोलकिपर गिरी अवाक् बने ।

२–० ले पछाडि परेको आयोजकबाट नगेन तामाङले पहिलो गोल गर्दा घरेलु दर्शकमा उत्साह थपियो । २१ औं मिनेटमा उनले पेनाल्टी बक्सभित्र दाउफिन्सका खेलाडी बिट भइसकेको अवस्थामा गोल गरेका थिए । पहिलो हाफको अन्त्यतिर तामाङले पुनः गोल गर्दै खेल बराबरीमा ल्याए । दाउफिन्सका खेलाडीले अफसाइड अपिल गर्दै छाडेको बललाई तामाङले पोस्टको दिशा दिए । नगेन म्यान अफ द म्याच घोषित भई ११ हजार रुपैयाँ पाए ।

मेचीका प्रशिक्षक मुन्ना सुब्बाले टिमवर्कका कारण दाउफिन्सविरुद्ध उत्कृष्ट नतिजा निकाल्न सफल भएको बताए । ‘दाउफिन्स हाम्रा लागि ठूलो चुनौती थियो,’ उनले थपे, ‘सबै खेलाडीको मिहिनेतले नतिजा राम्रो आयो ।’


दाउफिन्सका टिम मेनेजर आशिक थापामगरले भने डिफेन्सको कमजोरीको फाइदा विपक्षी टिमले उठाएको सुनाए । भने, ‘डिफेन्सिभ बलियो नहुँदा खेल लम्बियो र पराजित हुनुपर्‍यो ।’

प्रकाशित : वैशाख १३, २०७६ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?