कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

एपीएफ र कर्णाली विजयी

कृष्णप्रसाद गौतम

सुर्खेत — सुर्खेतमा जारी वाइवाइ कर्णाली प्रिमियर लिग (केपीएल)–२ अन्तर्गत शनिबार विभागीय टोली एपीएफ क्लब र कर्णाली–११ विजयी भएका छन् । कर्णाली–११ ले मध्यपश्चिम क्रिकेट क्लबलाई ३१ रन र एपीएफले हिमालयन क्रिकेट एकेडेमीलाई ८४ रनले हराए । 

कर्णालीको यो दोस्रो जित हो । उसले अघिल्लो खेलमा लालीगुराँस क्रिकेट क्लबलाई ८ विकेटले हराएको थियो । जितसँगै कर्णालीले सेमीफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।


टस जितेको कर्णालीले २० ओभरमा ४ विकेट गुमाई १ सय ४८ रन तयार गरेको थियो । लक्ष्य पछ्याउने क्रममा मध्यपश्चिम क्रिकेट क्लबले पुरै २० ओभर ब्याटिङ गरे पनि ७ विकेट गुमाएर १ सय १७ रन मात्रै बनाउन सक्यो । मध्यपश्चिमलाई लक्ष्यसम्म पुग्न नदिन कर्णालीका लागि कृष्ण कार्कीले सर्वाधिक ३ र किशोर महतोले २ विकेट लिए ।


कसिलो बलिङ गरेका कृष्णले ४ ओभरमा १ मेडन ओभरसहित ११ रनमात्र खर्चिए । जितेन्द्रसिंह ठकुरी र ललित प्याकुरेलले १–१ विकेट लिए । मध्यपश्चिमबाट शैलेन्द्र यादवले सर्वाधिक ३१, राजवीर सिंहले ३० र आकाश विष्टले २३ रन बनाए पनि जितलाई पर्याप्त रहेन । प्लेयर अफ द म्याच कृष्ण कार्की चुनिए ।


यसअघि पहिले ब्याटिङ गर्ने क्रममा कर्णालीबाट कप्तान रवीन्द्रजंग शाहीले अविजित ६१ रन योगदान दिए । उनले ५६ बलमा ६ चौका प्रहार गरे । कृष्ण कार्कीले अविजित ४६ रन बनाउँदा २७ बलमा ४ चौका र २ छक्का प्रहार गरे । लोकेश बमले १७ रन बनाए । ७९ रनमा ४ विकेट गुमेपछि रवीन्द्र र कृष्णले पाँचौं विकेटमा ६९ रनको साझेदारी गरे । मध्यपश्चिमका तुल्सीरामले २ विकेट, अमित तामाङ र अजय सहनीले १–१ विकेट लिए ।


दोस्रो खेलमा एपीएफले छाडेको १ सय ९३ रनको लक्ष्य पछ्याएको हिमालयन क्रिकेट एकेडेमीले १ सय ८ रनमात्रै बनाउन सक्यो । हिमालयनलाई सस्तोमा समेट्न एपीएफका शरद भेषावकरले ४ विकेट, भुवन कार्की, पूनन बिक र सन्दीप जोराले २–२ विकेट लिए । हिमालयनका पवन कार्कीले सर्वाधिक २४ रन बनाए ।


यसअघि एपीएफका लागि अनिल साहले शतक र शरद भेषावकरले अर्धशतकीय इनिङ्स खेले । अनिलले १ सय २ रन बनाउँदा ५८ बलमा १५ चौका र ३ छक्का प्रहार गरे । शरदले ५१ रन बनाए । उनले ४९ बलमा ४ चौका र ३ छक्का प्रहार गरे ।


दुवैले १ सय ५५ रनको ओपनिङ साझेदारी गरे । कप्तान प्रदीप ऐरीले १२ र शंकर रानाले १३ रन बनाए । प्लेयर अफ द म्याच अनिल साह चुनिए । आइतबार मध्यपश्चिम र लालीगुराँस तथा एपीएफ र न्यु होराइजन क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित : वैशाख १५, २०७६ ०७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?