सन्दीप जितमा साक्षीमात्र

सुरेशराज न्यौपाने

नयाँ दिल्ली — दिल्ली क्यापिटलले इन्डियन प्रिमियर लिग (आईपीएल) को आफ्नो अन्तिम लिग खेलमा नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई बेन्चमै राख्यो । शनिबार साँझ आफ्नो गृहमैदान फिरोज शाह कोटला मैदानमा राजस्थान रोयल्ससँग सन्दीपलाई नखेल्याए पनि ५ विकेटको सहज जित हात पारेको छ । 

सन्दीप जितमा साक्षीमात्र

प्लेअफको शीर्ष दुई स्थानभित्र रहन दिल्लीलाई यो खेल महत्त्वपूर्ण थियो । जितले दिल्लीको प्लेअफमा रहने सम्भावना थप बलियो भएको छ । आइतबार मुम्बई इन्डियन्स र कोलकाता नाइट राइडर्सबीचको अन्तिम लिगको नतिजाले शीर्ष दुई टिमको निर्क्योल गर्नेछ । जितसँगै दोस्रो स्थानमा रहे पनि दिल्लीको रनरेट मुम्बई पछाडि छ ।


रनरेटमा सुधार ल्याउने उद्देश्यसहित दिल्लीले बलिङ थप धारिलो बनाएको थियो । त्यही रणनीतिअन्तर्गत नै स्पिन भन्दा पनि तीव्र र मध्यम गतिका बलरलाई मैदान उतारेको थियो । यो रणनीति सफल पनि देखियो । इशान्त शर्मा, ट्रेन्ट बोल्ट, अमित मिश्रा उत्कृष्ट बलिङ गर्दै राजस्थानलाई १ सय १५ रनमै सीमित गर्न सफल भए । शर्मा र मिश्रा दुवैले ३-३ विकेट लिए । दिल्लीले २३ बल बाँकी छँदै लक्ष्य भेट्टायो ।


सन्दीप प्लेइङ ११ मै नपर्नुमा उनले अघिल्लो खेलमा गरेको बिर्सनलायक बलिङ पनि हो । दिल्लीमै भएको रोयल च्यालेन्जर्स बेंग्लोरविरुद्धको यी दायाँहाते युवा स्पिनरले कुनै विकेट त लिएनन् । ३ ओभरमा ३६ रन खर्चेका थिए । सन्दीपका लागि आईपीएलमा विकेट नलिएको त्यो पहिलो पटक थियो । यस सिजन आईपीएलका ६ खेलमा उनले ८ विकेट लिइसके ।

सन्दीपले अपेक्षाअनुसार बलिङ नगर्दा बाँकी खेलमा मौका पाउने कुरामा आशंका गरिएको थियो । नभन्दै दिल्लीले जारी सिजनको गृहमैदानमा अन्तिम खेलमा सन्दीपलाई खेलाएन ।

प्रकाशित : वैशाख २१, २०७६ २०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?