१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

विश्व च्याम्पियनसिपमा नेपाली र्‍याफ्टर

विश्व र्‍याफ्टिङ च्याम्पियनसिप
राजु घिसिङ

क्वीन्सल्यान्ड, अस्ट्रेलिया — त्रिशूली, मर्स्याङदी, भोटेकोसी, सेतीमा अभ्यस्त मंगल तामाङ, तर्क कुमाल र महेन्द्र पन्त जापान पुग्ने पहिलो पुस्ताका नेपाली रिभर गाइड हुन् । सन् २००१ मा जापान पुगेर उनीहरूले नदीमा पर्यटक घुमाउने काम गर्थे । त्यसको दुई वर्षपछि पुगे निमबहादुर मगर ।

विश्व च्याम्पियनसिपमा नेपाली र्‍याफ्टर

उनले सन् २००३ देखि २०१५ सम्म सिजनमा जापान पुगेर पर्यटकलाई साहसिक खेलको स्वादमात्र चखाएनन्, स्थानीयलाई ‘हाइट वाटर स्पोर्ट्स’ सिकाए पनि । त्यहाँ र नेपालमा प्रशिक्षण दिएका खेलाडी दुई वर्षअघि सम्पन्न विश्व र्‍याफटिङ च्याम्पियनसिपको उपविजेता टिमका महत्त्वपूर्ण सदस्य थिए ।


नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा) का अध्यक्ष भएका उनै निमबहादुरले प्रशिक्षकका रूपमा सम्हालेको टिम १८ औं विश्व र्‍याफ्टिङ च्याम्पियनसिपमा नेपाली चुनौती तेर्स्याउन क्वीन्सल्यान्डस्थित टली नदीमा अन्तिम अभ्यास गरिरहेको छ, जहाँ आर ६ को च्याम्पियनसिपको औपचारिक प्रतिस्पर्धा बिहीबारदेखि लगातार चार दिन चल्नेछ । महिला र पुरुष दुवैमा चार–चार स्पर्धामा गरी कुल ३० देशका टिम सहभागी विश्व र्‍याफ्टिङकै सबैभन्दा प्रतिष्ठित प्रतियोगितामा त्यसअघि तीन दिन ‘पोल पोजिसन’ को होड चल्नेछ ।


कोस्टारिकाको रेभेन्टाजोन नदी, जुरियालाबाबाट सन् १९९८ मा सुरु विश्व र्‍याफ्टिङ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने जापान पहिलो एसियाली राष्ट्र हो । र्‍याफ्टिङमा मुख्य स्पर्धा पुरुष खुलालाई लिइन्छ । यसमा एक दशकयता जापानलाई हरेक संस्करणमा उपाधि दाबेदार मानिन्छ । ब्राजिल, चेक गणतन्त्र, रुस, स्लोभेनिया सधैं स्वर्णका दाबेदार हुन् ।


आर ६ तर्फ १२ पटक विश्व च्याम्पियनसिप भए । त्यसमा ब्राजिलले ६ मध्ये ५ संस्करणको उपाधि कब्जा गरेको छ । स्लोभेनिया र रुस २–२, जर्मनी, चेक र जापान १–१ पल्टका विश्वविजेता हुन् । महिलातर्फ चेकले ५, न्युजिल्यान्डले ४ तथा जापान, अमेरिका र क्यानडाले १–१ पल्ट उपाधि जितेका छन् ।


आर ४ तर्फ चारपल्ट विश्व च्याम्पियनसिप आयोजना भयो । त्यसमा ब्राजिलले दुई तथा जापान र चेकले एक–एकपल्ट मुख्य उपाधि जिते । महिलातर्फ आर ४ को तीन संस्करणमा चेक, बेलायत र जापान च्याम्पियन भए । सन् २०१२ को विश्व च्याम्पियनसिपमा भने युवा (२३ वर्षमुनि) तथा मास्टर्स (४० वर्षमाथि) का स्पर्धामात्र समावेश गरिएको थियो । विश्व च्याम्पियनसिपमा युवाले २०१०, मास्टर्सले २०१२ र जुनियर (१९ वर्षमुनि) का स्पर्धाले २०१३ देखि प्रवेश पाएका थिए ।


डाउनरिभरको आकर्षण

अन्तर्राष्ट्रिय र्‍याफ्टिङ महासंघ (आईआरएफ) हरेक वर्ष (पालैपालो आर ४ र आर ६) आयोजना गरिरहेको विश्व र्‍याफ्टिङ च्याम्पियनसिपमा चार स्पर्धा (स्प्रिन्ट, हेड टु हेड, स्लालोम र डाउनरिभर) समावेश गरिएको छ । यसमध्ये मुख्य आकर्षण हो, डाउनरिभर । समग्रमा चार स्पर्धामा सर्वाधिक अंक जोड्ने टिम नै विश्व च्याम्पियन हुने गर्छ ।


त्यसक्रममा सबैभन्दा बढी (४० प्रतिशत) अंक डाउनरिभरमा छुट्याइएको हुन्छ । त्यसैले यो स्पर्धालाई विशेष मानिन्छ । प्राविधिक रूपमा रणनीतिक र शारीरिक रूपमा बलिया खेलाडीले डाउनरिभरमा सफलता हात पार्ने गर्छन् । यो स्पर्धा प्रतियोगिताको अन्तिम दिन सञ्चालन गर्ने परम्परा छ । टली संस्करणमा पनि यसैलाई निरन्तरता दिइएको छ ।


प्राविधिक रूपमा सबैभन्दा कठिन स्लालोमलाई मानिन्छ । यसमा ३० प्रतिशत अंक दिइन्छ । ठीक नकआउटजस्तै दुई टिमको प्रतिस्पर्धा गर्दै अगाडि बढ्ने स्पर्धा हेड टु हेडको मूल्यांकन २० प्रतिशत हुन्छ । तीव्र गतिमा डुंगा खियाउँदै अघि बढाउने प्रतिस्पर्धा स्प्रिन्टमा हुन्छ । यो स्पर्धामा १० प्रतिशत अंक छुट्याइन्छ । नेपाली खेलाडीलाई हेड टु हेड र डाउनरिभरमा राम्रो मानिन्छ ।


हारगनको बाटो

आर ४ लाई ओलम्पिक र पारा ओलम्पिक खेलकुदमा समावेश गर्नुपर्ने अभियान सुरु गरेपछि आईआरएफको विरोध गर्नेले गत वर्ष अर्को संगठन पनि बनाएको छ । विश्व र्‍याफ्टिङको छाता संगठनका रूपमा आईआरएफ यथावत् छ । २१ वर्षअघि स्थापित आईआरएफको सदस्य देशसंख्या ६२ पुगेको छ । त्यसमध्ये एक हिमालयन रिभरगाइड एसोसिएसन अफ नेपाल (हारगन) हो ।


हारगनले सन् २००८ मा आईआरएफको सदस्यता लिएपछि नेपाली खेलाडीका लागि विश्व र्‍याफ्टिङकै सर्वाधिक प्रतियोगिता खेल्ने ढोका खुलेको हो ।


हारगनको निमन्त्रणामा अध्यक्ष जोसेफ विलिस जोन्सले जनवरी, २०१७ मा त्रिशूलीमा भएको राष्ट्रिय र्‍याफ्टिङ प्रतियोगिताको अवसरमा नेपालको भ्रमण गरेका थिए, जुन नेपाल र्‍याफ्टिङ एन्ड क्यानोइङ संघले आयोजना गरेको थियो । आईआरएफको सदस्य हारगन भए पनि राष्ट्रिय खेलकुद परिषद र नेपाल ओलम्पिक कमिटीले सदस्यता भने नेपाल र्‍याफ्टिङ एन्ड क्यानोइङ संघलाई दिएको छ ।


जोन्सको टिमले त्रिशूलीमा सञ्चालन गरेको सेमिनारबाट १६ नेपालीले आईआरएफ निर्णायकको प्रमाणपत्र हात पारेका थिए । त्यसैबाट नेपाली रिभरगाइडले र्‍याफ्टिङलाई खेलका रूपमा गम्भीरतापूर्वक लिए ।


सन् २०१७ को अक्टोबरमा योसिनो नदीमा भएको विश्व च्याम्पियनसिप (आर ६) मा नेपाल कायक क्लबका विनोद गुरुङ, प्रकाश गुरुङ, हरि आलेमगर, रोशन लामा, मानबहादुर कँडेल, टंकबहादुर गुरुङ र विशाल गुरुङले नेपाली टिमको प्रतिनिधित्व गरेको थियो । उनीहरूको टिम राष्ट्रिय प्रतियोगितामा पहिलो भएको थियो ।


छनोटबाट विश्व च्याम्पियनसिप खेल्ने पहिलो नेपाली र्‍याफ्टिङ टिम त्यही हो । सेनाका राजीव चन्द फिजिकल ट्रेनर रहेको त्यो टिम हेड टु हेडमा सेमिफाइनल पुगेको थियो । समग्रमा भने नेपाली टिम च्याम्पियनसिपमा १७ देशमध्ये १३ औं भएको थियो ।


आईआरएफको तथ्यांक हेर्ने हो भने नेपाली टिमले विश्व र्‍याफ्टिङ च्याम्पियनसिप २०१६ मै खेलेको थियो । यूएईको अल आइनस्थित कृत्रिम नदी ‘वादी एड्भेन्चर’ मा भएको आर ४ को च्याम्पियनसिपमा राजेन्द्र श्रेष्ठ, राजकुमार श्रेष्ठ, विकास गुरुङ, रामशरण श्रेष्ठ र टंक थिङले खेलेका थिए ।


दुबईमा रिभरगाइडमा कार्यरत रहेकाले उनीहरूले नेपाली टिमका रूपमा सहभागी हुने अवसर पाएको हारगनका पूर्वअध्यक्ष मनीष राईले बताए । स्प्रिन्टमा सातौं भएको त्यो टिम समग्रमा २० देशमध्ये १७ औंमा रहेको थियो ।


गत वर्ष (२०१८) को विश्व र्‍याफ्टिङ च्याम्पियनसिप (आर ४) अर्जेन्टिनामा भएको थियो । त्यसको छनोट (राष्ट्रिय प्रतियोगिता) मा प्याडल नेपाल विजेता बन्यो । तर, उसले आर्थिक कारण देखाएर अर्जेन्टिना गएन । हुन त दुई वर्षअघिको टिम पनि चन्दा संकलन गरेर विश्व च्याम्पियनसिपमा पुगेको थियो ।


यसपालिको कथा पनि उस्तै छ । स्थानीय तहलगायत विभिन्न व्यक्ति र संस्थाको सहयोगमा अस्ट्रेलिया आइपुगेको सुरज गुरुङ, सुनील गुरुङ, शक्तिकुमार गुरुङ, पदमबहादुर गुरुङ, दीपेश गुरुङ, सविन गुरुङ र रविल मियाँको टिमले विश्व च्याम्पियनसिपमा पदक जित्ने लक्ष्य बनाएको छ ।


उनीहरूको टिम नेपाल र्‍याफ्ट एन्ड कायक क्लब फिस्लिङ राष्ट्रिय प्रतियोगिताका चारै स्पर्धामा विजेता भएको थियो । त्रिशूली, मर्स्याङदी र माथिल्लो सेतीमा दुई महिना कडा अभ्यास गरेका उनीहरूको मिहिनेतको परीक्षा टली नदीमा हुँदै छ ।

प्रकाशित : वैशाख ३१, २०७६ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?