महिला क्रिकेट लिगमा पहिलो ड्राफ्ट

पोखरा पल्टन बलियो

काठमाडौँ — नेपाली महिला क्रिकेटमा नयाँ अध्याय थप्दै वुमन्स च्याम्पियन्स लिग (डब्लूसीएल) ट्वान्टी-२० क्रिकेट लिगको ड्राफ्ट सकिएको छ । महिला क्रिकेटमा पहिलोपल्ट भएको ड्राफ्टबाट पोखरा पल्टन बलियो टोलीमा अगाडि आएको छ । 

महिला क्रिकेट लिगमा पहिलो ड्राफ्ट

क्वीन्स इभेन्टको आयोजनामा हुने भनिएको डब्लूसीएल समय र मैदान अभावसँग जुध्दै असोज तेस्रो सातालाई सरेको छ । मंगलबार गरिएको ड्राफ्टमा १ सय ९ खेलाडीले दर्ता गरेका थिए । त्यसमध्ये ७९ खेलाडीलाई प्रस्तुत गरियो । ५ फ्रेन्चाइज टोलीले ११-११ खेलाडी लिएका छन् ।


ड्राफ्टमा खेलाडीलाई तीन समूहमा वर्गीकरण गरिएको थियो । डायमन्ड समूहमा रहने खेलाडीले ७५ हजार, रुबिज समूहमा रहनेले ५० हजार र सफायर समूहमा रहने खेलाडीले प्रतियोगिता खेलेको २५ हजार पाउने प्रावधान रहेको छ । डायमन्डमा १० खेलाडी रहेका थिए, सबै ड्राफ्टबाट टिममा परेका छन् । ११ खेलाडी ५ लाखभित्र रहेर टोलीले लिनुपर्ने प्रावधान थियो । विराटनगर टाइटन्सले ११ खेलाडी लिनेक्रममा सबै ५ लाख खर्चेको छ । वाइल्ड कार्डबाट २-२ खेलाडी लिन बाँकी नै रहेको छ ।


विनायक पोखरेलको स्वामित्व र विनोद दासको प्रशिक्षणमा रहने पोखराको मार्की खेलाडीमा सीता रानामगर छिन् । टोलीले ७५-७५ हजारमा कविता कुँवर र विन्दु रावललाई लिएको थियो । त्यस्तै अञ्जली चन्द र अनुराधा चौधरीलाई ५०-५० हजार तथा रुबी पोदार, रेवती धामी, मन्जुकुमारी बोगटी, राजमती ऐरी, सरस्वती घर्तीमगर, नवीना खडा र निशा भाटलाई समान २५ हजारमा लिइएको हो ।


पोखरासँगै ललितपुर फाल्कन्स र चितवन राइनोजले समान ४ लाख २५ हजार खर्च गरेका थिए । नेरी थापा मार्की खेलाडी र राजु बस्न्यात प्रशिक्षक रहेको ललितपुरले डायमन्डबाट ममता चौधरी र करुणा भण्डारीलाई ७५-७५ हजारमा लिएको छ । सरिता दिश्वा मगर, रोशनी बोहरालाई ५०-५० हजार तथा कविता जोशी, कृति सेन, सीमा थापा, गीता गोसाईं, शान्तिकुमारी चौधरी, सम्झना खडा र एलिसा केसीलाई २५-२५ हजारमा ड्राफ्टबाट लिएको छ ।


चितवनको प्रशिक्षकमा श्यामसन जंग थापा र मार्की खेलाडीमा इन्दु वर्मा छन् । ड्राफ्टको पहिलो नाम छान्ने अवसर पाउँदा टोलीले काजल श्रेष्ठलाई ७५ हजारमा लियो । अर्को डायमन्ड खेलाडीमा टोलीले रितु कनोजियालाई उठायो । रेखा रावल र सन्तोषी चौधरीलाई ५०-५० हजारमा लिएको चितवनले सुमन खतिवडा, सरस्वती पुन, अस्मिता खरेल, प्यारी चौधरी, कञ्चन श्रेष्ठ, सञ्जु लामा र सावित्रा जिसीलाई समान २५ हजार तिरेको छ ।


उपलब्ध रकम सबै ५ लाख खर्च गरेको विराटनगरले सोनु खडा र आरती बिँडारीलाई ७५-७५ हजारमा लिएको थियो । महेश रिजाल प्रशिक्षक र सरिता रानामगर मार्की खेलाडी रहेको विराटनगरले ज्योति पाण्डे, डोली भट्ट, लक्ष्मी चौधरी, सवनम राई र प्रतीक्षा बस्याललाई ५०-५० हजार तथा कृतिका मरासिनी, अस्मिना कर्माचार्य, शर्मिला रोक्का मगर, करिश्मा गुरुङलाई समान २५ हजारमा लिएको छ ।


दीपा अग्रवालको स्वामित्वमा रहेको क्याट क्वीन्स काठमाडौंको मार्की खेलाडीमा रुबिना क्षेत्री र प्रशिक्षकमा मनोज कटुवाल छन् । टोलीले अप्सरी बेगम र रोमा थापालाई ७५-७५ हजारमा लिएको छ । रश्मी शर्मा चौलागार्इं, संगीता राई, सरस्वती चौधरी, ममता थापालाई ५०-५० हजार तथा सुमन विष्ट, नीतु भण्डारी, ईश्वरी विष्ट, लक्ष्मी साउद र मनीषा रानालाई समान २५ हजारमा लिएको थियो ।

प्रकाशित : जेष्ठ १, २०७६ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?