कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

एन्फा विवाद सतहमा

कुशल तिमल्सिना

काठमाडौँ — कर्माछिरिङ शेर्पा नेतृत्वको समूहले परिवर्तनको नारा दिएर अखिल नेपाल फुटबल संघ (एन्फा) को बागडोर सम्हालेको भर्खर एक वर्ष पूरा भएको छ । यसबीचमा समूहकै सदस्यहरूको असन्तुष्टि यदाकदा सुनिए पनि औपचारिक रूपमा सार्वजनिक भएको थिएन । तर केन्द्रीय कार्यसमिति बैठकमा उपाध्यक्षसहित तीन सदस्यले बैठक बहिस्कार गरेपछि एन्फा विवाद सतहमा आएको छ ।

एन्फा विवाद सतहमा

मंगलबार काठमाडौंमा बसेको केन्द्रीय कार्यसमिति बैठक विधानसम्मत नभएको कारण देखाउँदै निर्वाचित उपाध्यक्ष वीरबहादुर खड्का तथा सदस्य नुवाकोटका पूर्णमान चित्रकार र तनहुँका रत्नकुमार श्रेष्ठले बैठक बहिस्कार गरे ।


चितवनमा गत भदौमा एन्फाको विधान संशोधन गरिएको थियो । त्यही विधान राष्ट्रिय खेलकुद परिषद्बाट स्वीकृत नभई लागू गर्न खोजिएको भन्दै उनीहरूले बैठक बहिस्कार गरेका थिए । ‘विधान राखेपबाट पारित नहुन्जेल वैधानिक हुँदैन, भविष्यमा अध्यक्षज्यूलाई नै अप्ठेरो पर्नसक्ने देखेर बेलैमा सचेत गराएका हौं, तर उहाँहरू मान्नुभएन । विधानविपरीतको बैठकमा हामी बस्न सकेनौं,’ उपाध्यक्ष खड्काले भने ।


वरिष्ठ उपाध्यक्ष नपाउने भएपछि बैठक बहिस्कार गर्नुभएको हो ? भन्ने प्रश्नमा खड्काले भने, ‘म फुटबल विकासका लागि स्वयंसेवकका रूपमा काम गरिरहेको मान्छे हुँ । उपाध्यक्ष छु, त्यसमा वरिष्ठ थपिँदैमा मैले अतिरिक्त पाउने केही छैन । वरिष्ठ पद मेरा लागि गौण हो ।’ चुनावअघि अध्यक्ष शेर्पाबाट आफूलाई वरिष्ठ बनाउने आश्वासन भने पाएको खड्काले स्वीकारे ।


‘चुनावअघि मलाई वरिष्ठ उपाध्यक्ष बनाउने सहमति भएको थियो । आकांक्षी धेरै भएपछि कसैलाई पनि वरिष्ठ नतोक्ने पनि सहमति भयो । पछि अध्यक्षलाई वरिष्ठ तोक्न कहाँबाट कस्तो दबाब आयो थाहा भएन,’ उपाध्यक्ष खड्काले भने, ‘अध्यक्षले मलाई वरिष्ठ बनाउन नसक्ने बताएपछि मैले केही सर्त राखेको थिएँ ।’ उनले सर्तबारे केही खुलाएनन् । मंगलबारको एन्फा बैठकले भने उपाध्यक्ष पंकजविक्रम नेम्बाङलाई वरिष्ठ उपाध्यक्षमा मनोनीत गरेको थियो ।


यसकै आक्रोशको परिणामस्वरुप उपाध्यक्ष खड्काले सामाजिक सञ्जालमार्फत फ्रान्समा हुने आसन्न फिफा कंग्रेसमा सहभागी नहुने घोषणा गरेका छन् । तर अन्तिम निर्णय नगरेको र बुधबार छलफलपछि निर्णय गर्ने उनले बताए ।


एन्फा महासचिव इन्द्रमान तुलाधरले भने उपाध्यक्ष खड्काको विधानबारे राखेको तर्कको कुनै तुक नरहेको प्रतिक्रिया दिए । उनले भने, ‘उपाध्यक्षले भनेजस्तो विधानलाई राखेपले स्विकृति नदिएको होइन । राखेप प्रतिनिधिकै रोहबरमा विधान पास भएको हो र राखेपको छापसहितको प्रति हामीसँग सुरक्षित छ,’ उनले भने, ‘त्यही विधानअनुसार हामीले विराटनगरम विशेष अधिवेशन सम्पन्न गरिसक्यौं । अहिले आएर विधानअनुरुप भएन भन्नु जायज होला र ?’ महासचिवले नयाँ विधानबारे फिफा र एएफसीसँग पनि समन्वय गरिसकेको जानकारी गराए ।


एन्फा कार्यसमिति बैठकले आर्थिक वर्ष २०७६÷०७७ का लागि वार्षिक बजेट र कार्यक्रम पारित गरेको छ । जिल्ला, प्रदेश लिग र एन्फा प्रेसिडेन्ट लिगको नियमावली अनुमोदन गरी यसै वर्षदेखि सञ्चालन गर्ने निर्णय भएको छ । अर्को वर्षदेखि राष्ट्रिय लिग हुने भएको छ ।


बैठकले संघमा अनुबन्ध रहेका ४५ जिल्लामा ‘ए’, ‘बी’ र ‘सी’ डिभिजनका क्लबको सम्भाव्यता अध्ययन गर्ने तथा ४५ मध्ये १० जिल्लामा एकैपल्ट भौतिक पूर्वाधारको स्तरोन्नति गर्ने निर्णय गरेको छ । त्यस्तै कर्मचारी कार्यविधि पनि लागू गरिने निर्णय भएको छ ।


प्रदेशस्तरका कार्यक्रम सञ्चालन गर्न केन्द्रीय महासचिवको सहयोगी रहने गरी सहायक महासचिवहरूलाई प्रदेशको जिम्मेवारी तोकिएको छ । जसअनुसार ५ सहमहासचिवमध्ये प्रदेश १ मा वसन्त अर्याल, २ मा मोहम्मद समिउल्लाह, ३ मा मोहनकुमार बस्नेत, गण्डकीमा विश्व पौडेल, प्रदेश ५ मा प्रकाश पंगेनी तथा कर्णाली र सुदूरपश्चिममा प्रकाश विष्ट (मानार्थ सदस्य) लाई अनुमोदन गरिएको छ । केन्द्रीय स्तरको कार्यक्रमका लागि अरुणमान जोशीले महासचिवलाई सहयोगी भूमिका निर्वाह गर्नेछन् ।


एन्फामा आबद्ध व्यक्तिहरूले संघको हितविपरीत अभिव्यक्ति दिएको भन्दै बैठकले प्रवक्ता किरण राईको संयोजकत्वमा पदाधिकारीले पालना गर्नुपर्ने आचारसंहिता निर्माणको जिम्मा दिइएको छ ।

प्रकाशित : जेष्ठ १, २०७६ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?