एएफसी कप : ‘मनाङ मर्स्याङ्दीलाई जित निर्विकल्प’

कान्तिपुर संवाददाता

काठमाडौँ — लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबका प्रशिक्षक छिरिङ लोप्साङले आफ्नो टोलीले एएफसी कप समूह चरण पार गर्न बाँकी तीनै खेलमा सुखद नतिजाका लागि प्रयास गर्ने बताएका छन् । 

त्यसका लागि मनाङलाई बुधबार घरेलु मैदानमा भारतीय टोली मिनर्वा पन्जाबविरुद्ध हुने खेल महत्त्वपूर्ण छ । एएफसी कपको दक्षिण एसियाली समूहमा रहेको मनाङले यसअघि ३ खेलबाट १ अंक बटुलेको छ । समूह विजेताले मात्र अर्को चरणमा स्थान बनाउने नियमअनुसार मनाङलाई बाँकी ३ खेल गर या मरको अवस्थामा छ ।

‘सुरुआती ३ खेलमा हामीले अपेक्षाअनुसार नतिजा ल्याउन सकेनौं, बाँकी तीन खेल शतप्रतिशत जितका लागि खेल्नेछौं, अर्को चरणमा जाने हो भने हामीले सबै खेल जित्नुपर्छ । मिनर्वाविरुद्धको खेल जित्न सके त्यसपछि दुई खेलमा राम्रो गर्ने प्रेरणा मिल्नेछ,’ प्रशिक्षक लोप्साङले मंगलबार पत्रकार सम्मेलनमा भने । मनाङले मिनर्वाविरुद्ध उसैको मैदान भुवनेश्वरस्थित कालिंगा रंगशालामा २-२ गोलको बराबरी खेलेको थियो । त्यसअघिका दुई खेलमा मनाङ पराजित भएको हो । घरेलु मैदानमा बंगलादेशको ढाका अवहानी लिमिटेडसँग १-० ले हारेको मनाङले चेन्नईयन एफसीसँग २-० को हार बेहोरेको थियो ।

‘मिनर्वाविरुद्ध राम्रो प्रदर्शन गरे पनि अवसर सदुपयोग गर्न नसक्दा हामीले अंक बाँडेका थियौं,’ प्रशिक्षक लोप्साङले भने, ‘यस खेलमा हामीले अघिल्ला खेलका कमजोरी सुधार गर्ने लक्ष्य लिएका छौं । त्यहीअनुसार रणनीति परिवर्तन गरी आक्रामक फर्मेसन तयार गरेका छौं, हामीलाई घरेलु दर्शकको पनि साथ रहनेछ ।’

कप्तान विराज महर्जनले ‘ए’ डिभिजन च्याम्पियनको शैली मनाङले एएफसी कपमा देखाउन नसकेको स्विकारे । ‘यसअघिका तीनै खेलमा हामी हाम्रै कमजोरीले पराजित हुनुपरेको सत्य हो । लामो समयदेखि एउटै सेट भए पनि इन्ज्युरीका कारण खेलाडी परिवर्तन गर्नुपर्‍यो । टिममै तालमेल नमिलेजस्तो देखियो,’ राष्ट्रिय टोलीका समेत कप्तान विराजले भने । उनले मिनर्वाविरुद्धको खेल जसरी पनि जित्नैपर्ने भएकाले टिमका खेलाडीबाट शतप्रतिशत योगदान हुने अपेक्षा गरे ।

मनाङको जस्तै योजना मिनर्वा पन्जाबको पनि छ । लिगमा तीन चरणका खेल सकिँदासम्म समूह विजेताका लागि सबैको ढोका खुला रहेकाले मनाङविरुद्ध ३ अंकका लागि खेल्ने पन्जाबका प्रशिक्षक सचिन बडाढेले बताए । उनले नेपाली लिग च्याम्पियनविरुद्धको खेल प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने अपेक्षा गरे । ‘मनाङविरुद्ध उसकै मैदानमा हुन लागेको खेलप्रति हामी सकारात्मक छौं,’ उनले भने ।

पन्जाबका कप्तान ओमालाजा नुरेक करिमले पनि मनाङसँगको खेल जित्नुको विकल्प नरहेको बताए । ‘मनाङ नेपाली लिग च्याम्पियन हो, हामी भारतको । नतिजा जस्तो पनि आउन सक्छ । तर, हामी शतप्रतिशत जितका लागि खेल्नेछौं ।’

यस समूहमा पन्जाबले यसअघिका तीनै खेल बराबरी खेलेको थियो । समूहमा उसको ३ अंक छ । एएफसी कपको समूह ‘ई’ मा मनाङसँगै दक्षिण एसियाली टोली बंगलादेशको अवहानी, भारतका मिनर्वा र चेन्नईयन छन् । सबैले होम एन्ड अवेका आधारमा ६-६ खेल खेल्नेछन् । समूह विजेता टोली इन्टर जोन प्लेअफको सेमिफाइनलमा पुग्नेछ ।

प्रकाशित : जेष्ठ १, २०७६ ०७:५१
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

एन्फा विवाद सतहमा

कुशल तिमल्सिना

काठमाडौँ — कर्माछिरिङ शेर्पा नेतृत्वको समूहले परिवर्तनको नारा दिएर अखिल नेपाल फुटबल संघ (एन्फा) को बागडोर सम्हालेको भर्खर एक वर्ष पूरा भएको छ । यसबीचमा समूहकै सदस्यहरूको असन्तुष्टि यदाकदा सुनिए पनि औपचारिक रूपमा सार्वजनिक भएको थिएन । तर केन्द्रीय कार्यसमिति बैठकमा उपाध्यक्षसहित तीन सदस्यले बैठक बहिस्कार गरेपछि एन्फा विवाद सतहमा आएको छ ।

मंगलबार काठमाडौंमा बसेको केन्द्रीय कार्यसमिति बैठक विधानसम्मत नभएको कारण देखाउँदै निर्वाचित उपाध्यक्ष वीरबहादुर खड्का तथा सदस्य नुवाकोटका पूर्णमान चित्रकार र तनहुँका रत्नकुमार श्रेष्ठले बैठक बहिस्कार गरे ।

चितवनमा गत भदौमा एन्फाको विधान संशोधन गरिएको थियो । त्यही विधान राष्ट्रिय खेलकुद परिषद्बाट स्वीकृत नभई लागू गर्न खोजिएको भन्दै उनीहरूले बैठक बहिस्कार गरेका थिए । ‘विधान राखेपबाट पारित नहुन्जेल वैधानिक हुँदैन, भविष्यमा अध्यक्षज्यूलाई नै अप्ठेरो पर्नसक्ने देखेर बेलैमा सचेत गराएका हौं, तर उहाँहरू मान्नुभएन । विधानविपरीतको बैठकमा हामी बस्न सकेनौं,’ उपाध्यक्ष खड्काले भने ।

वरिष्ठ उपाध्यक्ष नपाउने भएपछि बैठक बहिस्कार गर्नुभएको हो ? भन्ने प्रश्नमा खड्काले भने, ‘म फुटबल विकासका लागि स्वयंसेवकका रूपमा काम गरिरहेको मान्छे हुँ । उपाध्यक्ष छु, त्यसमा वरिष्ठ थपिँदैमा मैले अतिरिक्त पाउने केही छैन । वरिष्ठ पद मेरा लागि गौण हो ।’ चुनावअघि अध्यक्ष शेर्पाबाट आफूलाई वरिष्ठ बनाउने आश्वासन भने पाएको खड्काले स्वीकारे ।

‘चुनावअघि मलाई वरिष्ठ उपाध्यक्ष बनाउने सहमति भएको थियो । आकांक्षी धेरै भएपछि कसैलाई पनि वरिष्ठ नतोक्ने पनि सहमति भयो । पछि अध्यक्षलाई वरिष्ठ तोक्न कहाँबाट कस्तो दबाब आयो थाहा भएन,’ उपाध्यक्ष खड्काले भने, ‘अध्यक्षले मलाई वरिष्ठ बनाउन नसक्ने बताएपछि मैले केही सर्त राखेको थिएँ ।’ उनले सर्तबारे केही खुलाएनन् । मंगलबारको एन्फा बैठकले भने उपाध्यक्ष पंकजविक्रम नेम्बाङलाई वरिष्ठ उपाध्यक्षमा मनोनीत गरेको थियो ।

यसकै आक्रोशको परिणामस्वरुप उपाध्यक्षखड्काले सामाजिक सञ्जालमार्फत फ्रान्समा हुने आसन्न फिफा कंग्रेसमा सहभागी नहुने घोषणा गरेका छन् । तर अन्तिम निर्णय नगरेको र बुधबार छलफलपछि निर्णय गर्ने उनले बताए ।

एन्फा महासचिव इन्द्रमान तुलाधरले भने उपाध्यक्ष खड्काको विधानबारे राखेको तर्कको कुनै तुक नरहेको प्रतिक्रिया दिए । उनले भने, ‘उपाध्यक्षले भनेजस्तो विधानलाई राखेपले स्विकृति नदिएको होइन । राखेप प्रतिनिधिकै रोहबरमा विधान पास भएको हो र राखेपको छापसहितको प्रति हामीसँग सुरक्षित छ,’ उनले भने, ‘त्यही विधानअनुसार हामीले विराटनगरम विशेष अधिवेशन सम्पन्न गरिसक्यौं । अहिले आएर विधानअनुरुप भएन भन्नु जायज होला र ?’महासचिवले नयाँ विधानबारे फिफा र एएफसीसँग पनि समन्वय गरिसकेको जानकारी गराए ।

एन्फा कार्यसमिति बैठकले आर्थिक वर्ष २०७६÷०७७ का लागि वार्षिक बजेट र कार्यक्रम पारित गरेको छ । जिल्ला, प्रदेश लिग र एन्फा प्रेसिडेन्ट लिगको नियमावली अनुमोदन गरी यसै वर्षदेखि सञ्चालन गर्ने निर्णय भएको छ । अर्को वर्षदेखि राष्ट्रिय लिग हुने भएको छ ।

बैठकले संघमा अनुबन्ध रहेका ४५ जिल्लामा ‘ए’, ‘बी’ र ‘सी’ डिभिजनका क्लबको सम्भाव्यता अध्ययन गर्ने तथा ४५ मध्ये १० जिल्लामा एकैपल्ट भौतिक पूर्वाधारको स्तरोन्नति गर्ने निर्णय गरेको छ । त्यस्तै कर्मचारी कार्यविधि पनि लागू गरिने निर्णय भएको छ ।

प्रदेशस्तरका कार्यक्रम सञ्चालन गर्न केन्द्रीय महासचिवको सहयोगी रहने गरी सहायक महासचिवहरूलाई प्रदेशको जिम्मेवारी तोकिएको छ । जसअनुसार ५ सहमहासचिवमध्ये प्रदेश १ मा वसन्त अर्याल, २ मा मोहम्मद समिउल्लाह, ३ मा मोहनकुमार बस्नेत, गण्डकीमा विश्व पौडेल, प्रदेश ५ मा प्रकाश पंगेनी तथा कर्णाली र सुदूरपश्चिममा प्रकाश विष्ट (मानार्थ सदस्य) लाई अनुमोदन गरिएको छ । केन्द्रीय स्तरको कार्यक्रमका लागि अरुणमान जोशीले महासचिवलाई सहयोगी भूमिका निर्वाह गर्नेछन् ।

एन्फामा आबद्ध व्यक्तिहरूले संघको हितविपरीत अभिव्यक्ति दिएको भन्दै बैठकले प्रवक्ता किरण राईको संयोजकत्वमा पदाधिकारीले पालना गर्नुपर्ने आचारसंहिता निर्माणको जिम्मा दिइएको छ ।

प्रकाशित : जेष्ठ १, २०७६ ०७:४८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT