महादेशीयस्तर एसिया कपमा भारत र पाकिस्तान विजयी 

पहिलोपल्ट आयोजित
कान्तिपुर संवाददाता

काठमाडौँ — पहिलोपल्ट आयोजित महादेशीयस्तरको एसिया कप ह्विलचियर ट्वान्टी–२० क्रिकेट काठमाडौंमा सुरु भएको छ । उद्घाटन खेलमा नेपालले भारतसँग ६ विकेटको हार बेहोरेको छ । अर्को खेलमा पाकिस्तानले बंगलादेशमाथि ८ विकेटको जित दर्ता गरेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बुधबार टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ४० रन खडा गरेको थियो । नेपालका डिगम चेम्जोङले ६६ बलमा ७ चौका सहयोगमा ६६ रनको अर्धशतकीय इनिङ्स खेल्दा विपिन पौडेलले २५ बलमा ३३ रन जोडे । रमेश खत्रीले १५ र सागर पाण्डेले ७ रन बनाए । बलिङमा भारतका परशुराम देशाले, सौरभ मलिक र सन्तोष रन्जागानेले १–१ विकेट लिए ।

Citizen

विश्वनाथ गौरवले अर्धशतक प्रहार गरेपछि १ सय ४१ रनको लक्ष्य भारतले १५.१ ओभरमा ४ विकेट क्षतिमा पूरा गर्‍यो । म्यान अफ द म्याच विश्वनाथले ३२ बलमा ९ चौका मदतमा ५० रन बनाए । परशुरामले १९, निकुल प्रजापतीले र सन्तोषले समान १६ रनको योगदान गरे । बलिङमा नेपालका डम्बर मगर, राजु कटुवाल, याम श्रेष्ठ र विपिन पौडेलले १–१ विकेट लिए ।

दोस्रो खेलमा टस हारेर ब्याटिङ गरेको बंगलादेशले ४ विकेट गुमाई १ सय ७७ रन बनाउँदा शेजाद हुसेनले ५२ बलमा ७४ रन प्रहार गरे । मोहम्मद रिपोन उद्दिनले ३२ तथा मोहम्मद मोर्सिद आलमले १५ रन जोडे । पाकिस्तानका मोहम्मद अमिनले ४ ओभरमा ४२ रन खर्चेर २ विकेट लिए । १ सय ७८ रनको लक्ष्य पाकिस्तानले १६.३ ओभरमा २ विकेट गुमाई भेट्टायो । पाकिस्तानी जितमा मोहम्मद शाजिद अली अब्बासी र मोहम्मद लतिफले अर्धशतकीय इनिङ्स खेले । अब्बासीले २४ बलमा ६ चौका मदतमा ५१ रन र लतिफले २२ बलमा १२ चौका मदतमा पनि ५१ रन बनाए ।

लतिफ म्यान अफ द म्याचसमेत बने । पाकिस्तानका मोहम्मद बिलालले ३९ र मुराद बक्सले २३ रन थपे । बंगलादेशका अब्दुल इस्लाम र मुर्सिद आलमले १–१ विकेट लिए । नेपाल ह्विलचियर क्रिकेट संघको आयोजनामा जेठ ४ सम्म चल्ने प्रतियोगितामा एसियाका ४ टिमको सहभागिता छ ।

प्रकाशित : जेष्ठ २, २०७६ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्

बूढानीलकण्ठ स्कुलको जग्गामा आँखा

गणेश राई

काठमाडौँ — सरकारले बूढानीलकण्ठ स्कुलको जग्गा ‘उपयोग गर्ने’ भएको छ । नेपाल सरकार र बेलायत सरकारबीचको सहमतिपछि सन् १९६४ सालमा स्थापित बूढानीलकण्ठ स्कुलको जग्गा ५ सय ७० रोपनी छ । प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २४ गते सरकारको नीति तथा कार्यक्रममाथि उठेका सवालको जवाफ दिने क्रममा बूढानीलकण्ठ स्कुलको नाम नलिई ‘५ सय ७० रोपनी जग्गा अब उपयोग गरिने’ भनेका थिए । 

काठमाडौंको बूढानीलकण्ठ नगरपालिका वडा नं. ५ मा रहेको स्कुल शैक्षिक गुठीअन्तर्गत सञ्चालित छ । यो स्कुलले सबै जिल्लाबाट गरिब अभिभावकका जेहेन्दार छोराछोरीलाई प्रतिस्पर्धा आधारमा छनोट गरी कक्षा ५ देखि १० सम्म पूर्ण रूपमा नि:शुल्क अध्यापन गराउँदै आएको छ ।

सरकारको नीति तथा कार्यक्रमको बुँदा ६९ मा ‘विश्वविद्यालय, विद्यालयलगायत सार्वजनिक निकाय मा प्रयोगविहीन अवस्थामा रहेका जमिन उपयोगमा ल्याइनेछ’ उल्लेख छ । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा सवालजवाफका क्रममा भनेका थिए, ‘एउटा जमाना थियो, काठमाडौंको एउटा विद्यालयलाई ५ सय ७० रोपनी दिन्थ्यौं, सबै सार्वजनिक विद्यालयलाई ५ सय ७० रोपनी जमिन दिन सक्छौं ? त्यसको सदुपयोग हुनुपर्छ कि पर्दैन ? वार्षिक
पाँच–छ करोड रुपैयाँ पनि त्यही विद्यालयलाई दिन्छौं । सबैलाई त्यसरी दिन सकिन्छ कि सकिँदैन ? पहिले ट्यालेन्ट हन्ट गर्न चार कक्षा पढेका विद्यार्थी छानेर ल्याइन्थ्यो, अब त्यो स्थिति छैन ।’

प्रधानमन्त्री ओलीले जमिन खेर फाल्न र पैसा खर्च गर्दै जान नहुने बताएका थिए । ‘लुकाएर कुरा गरेको होइन । संघसंस्थाहरूको जमिन खुला राख्नुपर्ने ठाउँमा खुला राख्नुपर्छ । पोखरी, खेल मैदान, बगैंचा बनाउनुपर्ने ठाउँमा बनाउनु पनि पर्छ । हामीले सदुपयोगको सिद्धान्त र नीति लिनुपर्छ,’ उनले भनेका थिए ।

सरकारले २०२१ सालअघि ५ सय ७४ रोपनी क्षेत्रफल जग्गा अधिग्रहण गरी बूढानीलकण्ठ विद्यालय विस्तार गरेको थियो । पर्खाल, बाटो, नाली विस्तार हुँदा हाल ५ सय ६९ रोपनी ६ आना जमिन विद्यालयका नाममा रहेको शिक्षक तथा निवर्तमान केशर खुलालले जनाए ।

बूढानीलकण्ठमा बेलायत र नेपाल सरकारबीच सम्झौता भई भौतिक पूर्वाधार निर्माण तथा जनशक्ति व्यवस्थापन गरिएको थियो । पठनपाठन भने सन् १९७३ मा सुरु भएको हो । तत्कालीन युवराज दीपेन्द्र शाह बूढानीलकण्ठ स्कुल पढ्ने भएपछि विद्यालय हातामा पर्खाल लगाइएको थियो । त्यतिखेर करिब तीन सय रोपनी क्षेत्रमा पर्खाल लगाइएको थियो भने एक दशकअघि सबै क्षेत्रफल घेरा हालिएको थियो । पूर्वतर्फको ६ आना जग्गा दाबी गर्दै एक व्यक्तिले मुद्दा हालेकाले त्यहाँ पर्खाल लगाइएको छैन । मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ ।

छात्रवृत्तिलाई साढे पाँच करोड
सरकारले बूढानीलकण्ठ स्कुललाई वार्षिक ५ करोड ५० लाख रुपैयाँ उपलब्ध गराउँछ । त्यो रकम त्यहाँ पढ्न विद्यार्थीका निम्ति खाने, बस्ने, स्कुल ड्रेस, हाउस ड्रेस, ब्रस, मन्जन, साबुन, पानी, किताब, कापी, कलम आदिमा खर्च गरिन्छ । वर्षमा ४० जना छात्रछात्राले यहाँ नि:शुल्क पढ्ने मौका पाउँछन् । सबै विद्यार्थीले छात्रावासमा अनिवार्य बस्नुपर्ने नियम छ ।

प्रिन्सिपल होमनाथ आचार्यका अनुसार यो वर्ष १ हजार १ सय ४४ विद्यार्थी अध्ययनरत छन् । ‘सरकारले उपलब्ध गराएको रकम देशका ७७ जिल्लाबाट छानिएर आएका छात्रछात्राका निम्ति खर्च हुन्छ, हामी शिक्षक र कर्मचारीको तलबमा होइन,’ उनले भने । गुठीले छात्रवृत्तिबाहेकका विद्यार्थीबाट उठाइने शुल्कबाट तलब व्यवस्था गरेको छ । यहाँ ८० जना शिक्षक र १ सय ६० कर्मचारी कार्यरत छन् । यहाँ विज्ञान संकायतर्फ कक्षा ११ र १२ तथा ए लेभलको पनि पढाइ हुन्छ ।

सर्वसाधारणलाई उपयोग गर्न दिइन्छ : सचिव
शिक्षा मन्त्रालयका सचिव तथा बूढानीलकण्ठ स्कुल सार्वजनिक शैक्षिक गुठीका अधयक्ष खगराज बरालले पनि विद्यालयको खाली जग्गा उपयोग गर्ने नीति अघि बढेको बताएका छन् । ‘स्कुलको जग्गा धेरै बाँझा छन्, स्कुललाई डिस्टर्भ नहुने गरी त्यसलाई उपयोगमा ल्याइनेछ,’ उनले भने, ‘सर्वसाधारणका निम्ति खुला ठाउँ पनि आवश्यक छ । अडिटोरियम हल बनाउने, फलफूल रोप्नेलगायत प्रकृतिसँग नजिक हुने योजना र नीति अघि सारिएको छ ।’

बूढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्धवप्रसाद खरेलले स्कुल स्थानीयको पहुँचबाहिर रहेको बताए । ‘जनताको जग्गा अधिग्रहण गरेर ब्रिटिसले स्कुल बनाइदियो, दरबार राजपरिवारका सदस्यले पनि पढेकाले नमुना बन्यो,’ स्कुलको बोर्ड अफ ट्रस्टीका सदस्यसमेत रहेका खरेलले भने, ‘तर स्थानीयले केही पाएनौं । अब यो विद्यालयले स्थानीय जनताको शिक्षा विकास प्रवर्द्धन र समृद्धिको साधकको भूमिका खेल्नुपर्छ । हामीले गुठी अध्यक्षलाई विधान संशोधन गर्न भनेका छौं ।’ उनले विद्यालयको करिब तीन सय रोपनी जग्गा चार दशकदेखि बाँझो रहेको बताए ।

नगरप्रमुख खरेलले कुलमध्ये २५ प्रतिशत बूढानीलकण्ठ नरपालिकाका विद्यार्थी हुनुपर्ने, विद्यालयका तीनवटा फुटबल मैदान रहेकाले असर नपर्ने गरी स्थानीयले पनि खेल्न पाउनुपर्ने बताए । बूढानीलकण्ठ धार्मिक स्थलसमेत सँगै रहेको छ । ठाउँ अभावले पर्यटकको यातायात साधन राख्न र बस बिसौनीसमेत अभाव रहेकाले १५ रोपनी क्षेत्रफलमा बसपार्क बनाउनुपर्ने नगरपालिकाको प्रस्ताव छ ।

विद्यालयका प्रिन्सिपल आचार्यले गुठी र विद्यालय व्यवस्थापन समितिले निर्माण गरेको गुरुयोजनाअनुसार विद्यालयको जग्गा सदुपयोग गर्ने बताए । ‘स्कुलको सम्पत्ति सरकारकै हो तर हाम्रो स्वामित्वमा रहेको जग्गा स्कुलको हितमा प्रयोग गरिन्छ,’ उनले भने, ‘स्कुलको जग्गा आम अभिभावक, शुभचिन्तकको रायअनुसार उपयोग हुन्छ ।’

शिक्षाविद् मनप्रसाद वाग्लेले सबै जिल्लाबाट गरिब तथा जेहेन्दार विद्यार्थी छानेर नि:शुल्क पढाउने विद्यालय बूढानीलकण्ठ र कास्कीको गण्डकी बोर्डिङमात्र भएको बताए । ‘यस्ता नमुना स्कुललाई सातै प्रदेशमा खोल्नुपर्छ । तर दूरदृष्टिसहित स्थापना भएको विद्यालयलाई अतिक्रमण गर्नु मनासिव होइन,’ उनले भने, ‘त्यसको सट्टा बूढानीलकण्ठ स्कुललाई प्रादेशिक विश्वविद्यालय बनाउन पहल गर्नु उचित हुन्छ ।’

प्रकाशित : जेष्ठ २, २०७६ ०७:४८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT