कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एएफसी कप-२०१९ : मनाङ घरेलु मैदानमा फितलो

कुशल तिमल्सिना

काठमाडौँ — पटक्कै देखिएन आक्रमण । मनाङका प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले खेलअघि पत्रकार सम्मेलनमा मिनर्वा पन्जाबविरुद्ध आफ्नो टोलीले धेरैभन्दा धेरै आक्रमणको प्रयास गर्ने दाबी गरेका थिए । बुधबार मनाङले पन्जाबविरुद्ध घरेलु मैदान एन्फा कम्प्लेक्समा एउटै पनि डरलाग्दो आक्रमण बुन्न सकेन ।

एएफसी कप-२०१९ : मनाङ घरेलु मैदानमा फितलो

फलत: एएफसी कप समूह चरणमा मनाङको जितविहीन यात्रा चौथो खेलसम्म पुगेको छ । यो नतिजाले समूहको शीर्षस्थानमा रहँदै इन्टर जोनल प्लेअफको सेमिफाइनल प्रवेश गर्ने मनाङको लक्ष्यमा गम्भीर धक्का लागेको छ ।


घरेलु दर्शकको साथ आफ्ना लागि सबैभन्दा ठूलो हौसला रहेको बताउने मनाङका खेलाडीबीच पन्जावसँग खेलमा तालमेल नमिलेको प्रस्टै देखिन्थ्यो । एक साताको प्रशिक्षणका क्रममा आक्रामक रणनीतिको अभ्यास गरेको मनाङले खेलमा त्यो शैली उतार्न नसकेको प्रशिक्षक लोप्साङले स्वीकारे ।


‘हामीले जुन रणनीतिसाथ तयारी गरेका थियौं, कुनै पनि खेलाडीले आफ्नो पोजिसनमा शतप्रतिशत खेल्न सकेनन्,’ प्रशिक्षक लोप्साङले भने, ‘विपक्षीभन्दा हामीले कमजोर प्रदर्शन ग¥यौं । खासमा मिडफिल्डबाट सोचेअनुसार प्रदर्शन भएन, स्ट्राइकरबीच पनि तालमेल देखिएन ।’

यो बराबरीपछि मनाङ र पन्जाब दुवैले प्रतियोगितामा जितविहीन यात्रा कायममात्र राखेनन्, दुवैको अर्को चरणको यात्रा पनि अत्यन्तै कठिन बनेको छ ।


यसअघि पन्जाबको घरेलु मैदान भुवनेश्वरस्थित कालिंगा रंगशालाको खेल २–२ को बराबरीमा सकिएको थियो । एएफसी कपअन्तर्गत दक्षिण एसियाली ‘ई’ समूहमा रहेका मनाङसँग २ र पन्जाबसँग ४ अंक भएको छ । चार टोलीसम्मिलित समूहमा मनाङ चौथो र पन्जाब तेस्रो स्थानमा छन् ।


बुधबारै भारतको चेन्नाइनले बंगलादेशको ढाका अवहानी लिमिटेडसँग ३–२ को हार बेहोरेको छ । सुरुआती अग्रता जोगाउन नसक्दा चेन्नाइनले ढाकाको घरेलु मैदानमा ३ अंक हासिल गर्न चुक्यो । ४ खेलबाट चेन्नाइन र अवहानी दुवैको ७–७ अंक भएको छ । गोलअन्तरका आधारमा चेन्नाइन पहिलो र अबहानी दोस्रो स्थानमा छन् । मनाङले समूहका बाँकी दुई खेल यिनै दुई टोलीसँग खेल्नेछ ।


एन्फा कम्प्लेक्समा घरेलु टोली मनाङले पहिलो हाफमा एउटै पनि पोस्ट आक्रमण बुन्न सकेन । गर या मरको अवस्थामा रहेको मनाङ रक्षात्मक बन्न बाध्य भएको थियो । मिनर्वाले भने पहिलो हाफमा ५ उत्कृष्ट अवसर पाएकोमा गोल गर्न असफल रह्यो ।


सुरुआती आठौं मिनेटमा स्ट्राइकर लालमुआनपुइया सामुइलले २५ यार्डबाट गरेको सिधा प्रहार क्रसबारमा लागेर फर्किएपछि पन्जाबले अग्रता अवसर गुमायो । त्यसको ५ मिनेटपछि मोइराङथेन थोइवा सिंहको समान शैलीको प्रहार पनि क्रसबारमा लागेर फर्कियो । ३८ औं मिनेटमा सामुइलले एक डिफेन्डर बिट गरी बक्सभित्रबाट गरेको प्रहार मनाङका गोलरक्षक विशाल श्रेष्ठले पन्च गरेर बचाए ।


१७ वर्षीय स्ट्राइकर थोइवाको गोलमार्फत पाहुना टोलीले ३९ औं मिनेटमा अग्रता बनायो । कालिफ अल हसनको क्रस प्रहार विशालले पन्च गरे पनि बक्सभित्र अनमार्क रहेका थोइवाले रिबाउन्ड बललाई गोलमा परिणत गरे । त्यसको एक मिनेटपछि नै श्रेयस गोपालनले गोल अवसर पाएका थिए । तर उनको प्रहार विशालले रोके ।


पहिलो हाफको इन्ज्युरी समयमा पन्जाब १० खेलाडीमा समेटियो । मनाङका स्ट्राइकर अदिलेजालाई फाउल गरेपछि प्रतीक जोशी दोस्रो पहेँलो कार्ड खाँदै मैदान छाड्न बाध्य भए । उनले ४१ औं मिनेटमा पहिलो पहेँलो कार्ड पाएका थिए ।


१० खेलाडीमा समेटिएको पन्जाबविरुद्ध दोस्रो हाफमा मनाङ केही चलायमान देखिए पनि गोल गर्न भने ८१ मिनेटसम्म कुर्नुपर्‍यो । अन्जन विष्टको पासमा डिफेन्डर सहिद अजिजले पन्जाबका गोलरक्षक अर्शदीप सिंहलाई छक्याउँदै बल गोललाइन पार गराए ।


यसअघि खेलको ५९ औं मिनेटमा कमल श्रेष्ठको क्रसमा अन्जनको हेडर पोस्ट नजिकैबाट बाहिरियो । ६६ औं मिनेटमा हेमन गुरुङको कर्नरमा अजिजले गरेको हेडरले पनि पोस्टको दिशा लिन सकेन । पन्जाबका श्रेयस गोपालनले वान भर्सेस वानको अवसर पाए । तर विशाल बाधक बने ।


८८ औं मिनेटमा पन्जाबका गोपालनले गरेको हेडर गोललाई साउदी अरेबियाका रेफ्री शुक्री हुसेन अल हुन्फुसले अफसाइड करार गरिदिए । थपिएको ५ मिनेट इन्ज्युरी टाइममा मनाङका ओलावाले अफिजले दुई अवसर पाए तर दुवैमा पन्जाबका गोलरक्षक सिंहले रोके । अदिलेजाको पासमा ओलावालेले वान भर्सेस वान अवसर पाउँदा सिंहले एक हातले पन्च गरेर बल रोकेपछि अन्तिम समयमा विजयी गोल अवसर चुकेको हो । वैकल्पिक कोटा सकिसकेपछि डिफेन्डर रोबर्ट अल्फ्रेट प्रिमस चोटग्रस्त भएकाले पन्जाब अन्तिम १० मिनेट ९ खेलाडीमा समेटिएको थियो ।


‘रेफ्रीले पैसा खाए’

खेलमा आफूअनुकूल नतिजा नआएपछि पन्जाबका प्रशिक्षक सचिन तानाजी बडाढेले खेलपछि पत्रकार सम्मेलनमा रेफ्रीमाथि आक्रोश पोखे । उनले रेफ्रीले पैसा लिएर मनाङको पक्षमा निर्णय सुनाएको गम्भीर आरोप लगाएका छन् । ‘म मेरा खेलाडीको प्रदर्शनबाट गर्व गर्छु, उनीहरूले निकै नै राम्रो खेले । ११ विरुद्ध ९ जना खेल्दा गोल गर्न सकियो धेरै खुसीको कुरा हो,’ उनले भने ।


प्रशिक्षक बडाढेले आफ्ना डिफेन्डरलाई दिइएको रातो कार्ड, मनाङको गोलमा आफ्ना गोलरक्षकमाथिको फाउल र आफ्नो टिमले गरेको गोललाई अफसाइड करार गर्नुलाई रेफ्रीको कमजोरी मानेका छन् । ‘त्यो रेडकार्ड थियो र ?,’ उनले प्रतिप्रश्न गरे, ‘अवश्य पनि थिएन । हामीले गरेको गोललाई अफसाइड दिइयो । सायद उनीहरूले पैसा लिएका थिए । यस्ता निर्णयले खेलको अवस्था बिगारिदिन्छ ।’


उनले आफ्नो असन्तुष्टि समेटेर एएफसीमा उजुरी दिने बताएका छन् । ‘हाम्रो टिमले ९ विरुद्ध ११ जनासँग प्रतिस्पर्धा गरिरहेको थियो । उनीहरूले खेलको अवस्था र विकास बुझ्नुपथ्र्यो । हामी एएफसीमा उजुरी दिन्छौं,’ प्रशिक्षक बडाढेले भने, ‘यस्ता घटना दोहोरिन नदिन म्याच कमिस्नरले तत्काल गम्भीर निर्णय लिनुपर्छ, ता कि यो नदोहोरियोस् ।’ उनले मनाङको दोस्रो चरण प्रवेशको सम्भावना सकिएको र आफ्नो टिमका लागि अन्य खेलको नतिजामा भरपर्ने पनि बताए ।


प्रकाशित : जेष्ठ २, २०७६ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?