कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

दाउफिन्स र एपीएफ फाइनलमा

धनकुटा — १४ औं संस्करणको सहिद भीमनारायण गोल्डकप फुटबलमा बिहीबार सेमिफाइनलमा जित हात पार्दै एपीएफ क्लब र क्यामरुनी टोली दाउफिन्स फाइनल पुगेका छन् ।

दाउफिन्स र एपीएफ फाइनलमा

बिहीबार एकै दिन दुई सेमिफाइनल खेलाइएको थियो । पहिलो खेलमा विन्ध्यबासिनी फुटबल क्लब मोरङविरुद्ध २-० ले दाउफिन्सले बाजी मारेको हो । एपीएफले बिर्तामोड युनाइटेडलाई दोस्रो सेमिफाइनलमा १-० ले हरायो ।


तल्लो टुँडिखेलमा जारी खेलमा दाउफिन्सको तर्फबाट खेलको १७ औं मिनेटमा पेटेङ्गाले गोल गर्दै अग्रता कायम गरे । विन्ध्यबासिनीका गोलकिपर सूर्य अधिकारीले नियन्त्रणमा लिन खोज्दा फुत्किएको बललाई पेटेङ्गाले पोस्ट नजिकैबाट सहजै गोलमा परिणत गरे । अन्तिम समयमा दाउफिन्सले अर्को गोल थप्यो । इन्ज्युरी ५ मिनेटको दोस्रो मिनेट नबित्दै दाउफिन्सका कप्तान एभरल इनामेले गोल गरेका थिए ।


प्रतिस्पर्धात्मक खेलमा विन्ध्यबासिनीले पनि केही गोल गर्ने मौका चुकाएको थियो । विन्ध्यवासिनीका तर्फबाट विष्णु सुनुवार, बुद्ध चेम्जोङ, विवेश पौडेल, दीपक गुरुङ, गिल्सन लिम्बु, तीर्थ बस्नेतले प्रहार गरेको बल असफल भएको थियो । बुद्ध र दीपकका पोस्टलक्षित प्रहार गोलरक्षक प्रिसो उत्कृष्ट ढंगले बचाएका थिए ।


दाउफिन्सका मेस्सोउकेले प्रहार गरेको बल पोस्ट नजिकैबाट बाहिरियो । पहिलो हाफमा दुवैको घम्साघम्सी बलियो भए पनि दोस्रो हाफपछि विन्ध्यवासिनी बढी दबाबमा परेको थियो । खेलको म्यान अफ द म्याच दाउफिन्सका यान्निक ओवाना घोषित भए । यो खेल अघिल्लो दिन वर्षाका कारण स्थगित भएर बिहीबार बिहान खेलाइएको हो ।


बिर्तामोडविरुद्धको अर्को खेलमा एपीएफले कठिन जित पायो । एपीएफका रवि थिङले ४४ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । बिर्तामोडले अधिकांस समय बल कब्जा गरे पनि एपीएफका गोलरक्षक अविजित राईले उत्कृष्ट बचाउ गरेका थिए ।


बिर्तामोडका विकास लिम्बु, प्रवेश दनुवार, राजकुमार कन्दङा र रवि मगरले पोस्ट नजिकैबाट प्रहार गरेको बल गोलकिपर अविजितले असफल पारे । म्यान अफ द म्याच एपीएफका गोलकिपर अविजित घोषित भए । दुवै खेलका म्यान अफ द म्याचले जनही ५ हजारसहिद ट्रफी पाए ।

प्रकाशित : जेष्ठ ३, २०७६ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?