भरतपुर गोल्डकपको उपाधि संकटालाई 

रमेशकुमार पौडेल

चितवन — पहिलो भरतपुर गोल्डकप फुटबल प्रतियोगितामा संकटा क्लब विजयी भएको छ । एजे इन्टरनेशनलले नारायणगढ क्याम्पाचौरमा सञ्चालन गरेको गोल्डकपको शनिबार भएको फाइनल खेलमा संकटाले झापा-११ लाई शून्यका विरुद्ध तीन गोलले पराजित गरेको हो । उपाधिसँगै संकटले ६ लाख नगद प्राप्त गर्‍यो । दोस्रो हुने झापाले तीन लाख पायो ।

भरतपुर गोल्डकपको उपाधि संकटालाई 

पुरस्कार राशिका हिसाबले यो चितवनको सर्वाधिक ठूलो प्रतियोगिता हो ।


सुरुमा आक्रमक देखिएको झापाले खेलमा बिस्तारै लय गुमाउँदै जाँदा संकटा सफल भएको हो । खेल सुरु भएको १४ औं मिनेटमा संकटाका लागि पहिलो गोल कप्तान अमित तामाङले गरेका थिए । अमितले पोष्टतर्फ गरेको लामो प्रहारको झापाका गोल रक्षक किशोर गिरीले केही भेउ नपाउँदै बलले जाली छोएको थियो । खेलमा पहिलो गोल खाएपछि झापा दबावमा देखियो । झापाले गरेको केही राम्रा प्रहार पनि गोलमा परिणत हुन सकेन ।


मध्यान्तरपछि ३७ औं मिनेटमा संकटाले आत्माघाती गोलका रुपमा झापाबाट एक गोल उपहार पायो । झापा-११ का सुमिन मैनालीले पोष्ट नजिक आफ्ना गोल रक्षकतर्फ हेड गरेर बल फालेका थिए । तर, झापाका गोल रक्षक किशोर गिरीले बल समाउन नसक्दा दुर्भाग्यपूर्ण गोल भएर झापा २-० ले पछाडि पर्‍यो । मध्यान्तरपछिको इन्जुरी समयमा संकटाका लागि लक्ष्मण रुचालले गोल थपेका थिए ।


संकटाका कप्तान अमित तामाङ शनिबारको खेलको म्यान अफ दि म्याच हुनुका साथै प्रतियोगिता अवधिकै सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले म्यान अफ दि म्याचको १० र सर्वोत्कृष्ट खेलाडीको ४० हजार रुपैयाँ नगद पुरस्कार पाए । खेल अवधिभर कुनै पनि गोल नखाएका संकटाका गोल रक्षक राजाबाबु थापा उत्कृष्ट गोल रक्षक घोषित भएर २० हजार रुपैयाँ नगद पाए ।


त्यसैगरी २० हजार राशिकै उत्कृष्ट स्ट्राइकरको पुरस्कार झापा-११ का निशान लिम्बुले पाए । उत्कृष्ट मिडफिल्डर पनि झापा-११ कै संजोग राई भएका छन् । उत्कृष्ट डिफेन्डर घरेलु टोली चितवन-११ का सुन्दास चौधरी भएका छन् । बैशाख २४ गतेदेखि सुरु भएको प्रतियोगितामा १२ वटा टिमले प्रतिस्पर्धा गरेका थिए । विजयी टिम र खेलाडीलाई भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले पुरस्कार र कप दिएकी थिइन् ।

प्रकाशित : जेष्ठ ४, २०७६ २१:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?