एमेच्योर गल्फर सम्मानित

काठमाडौँ — व्यावसायिक उपाधि जित्ने एमेच्योर गल्फरहरू शनिबार सम्मानित भएका छन् । नेपाल गल्फ संघले शुक्रबहादुर राई, टंकबहादुर कार्की र सुवास तामाङलाई नगदसहित सम्मानित गरेको छ ।

एमेच्योर गल्फर सम्मानित

शुक्र एकै सिजन दुई व्यावसायिक उपाधि जित्ने पहिलो एमेच्योर गल्फर हुन् । इस्टर्न ओपन जितेका शुक्रले बिहीबारमात्र सर्वाधिक धनराशिको सूर्य नेपाल पि्रमियर गल्फ च्याम्पियनसिप जितेका थिए । गल्फको २०१८-१९ सिजनलाई स्मरणीय बनाउनेक्रममा शुक्रले एमेच्योरमा इस्टर्न ओपन र काठमाडौं ओपन जितेका थिए भने आठौं राष्ट्रिय खेलकुदमा टिम इभेन्टमा स्वर्ण जितेका थिए ।

बंगलादेश ओपनको टिम इभेन्टमा शुक्रले टंकसँग मिलेर स्वर्ण जितेका हुन् । टंकले एनपीजीए टुरमा व्यावसायिकतर्फ विजेता बनेर गत सिजन एमेच्योरको बलियो उपस्थिति देखाएका थिए । उनले आठौं राष्ट्रिय खेलकुदमा व्यक्तिगततर्फ १२ अन्डरको राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेका हुन् ।

शुक्र र टंक दुवैलाई समान ५० हजार तथा सुवासलाई २५ हजार रुपैयाँसहित सम्मानित गरिएको हो । १७ वर्षे सुवासले सूर्य नेपाल च्यालेन्ज जितेका थिए । सबैभन्दा कम उमेरमा व्यावसायिक इभेन्ट जित्ने नेपाली खेलाडीको रूपमा नाम दर्ता गराएका सुवास कार्यक्रममा थिएनन् ।

उनीहरूलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव केशवकुमार विष्ट, नेपाल गल्फ संघका अध्यक्ष टासी घलेलगायतले सम्मानित गरेका थिए । सोही अवसरमा सुनसरी र कास्की गल्फ संघलाई गल्फ सेट र रेन्ज बल सहयोगस्वरुप प्रदान गरियो ।

सदस्य-सचिव विष्टले अवसर कम भए पनि गल्फले प्रगति गरिरहेको जनाउँदै नियमित प्रतियोगिता हुदा नयाँ खेलाडी उत्पादन हुने कुरालाई गल्फले प्रमाणित गरेको बताए । संघका अध्यक्ष घलेले युथ कार्यक्रमलाई निरन्तरता दिँदा आजको दिनसम्ममा एमेच्योर खेलाडी उपाधि जित्ने स्थितिमा पुगेको बताए ।

डिसेम्बरमा नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुदमा पदक ल्याउने वातावरण बनाउन परिषद् जुनसुकै सहयोग गर्न तयार रहेको विष्टले बताइरहँदा अध्यक्ष घलेले नेपालले गल्फबाट पदक नल्याएमा आफू संघमा बसिरहनुको कुनै औचित्य नरहने दाबी गरेका थिए ।

प्रकाशित : जेष्ठ ५, २०७६ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?