२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २९७

रग्बी विश्वकप जापानमा : नेपाललाई चटारो

कुशल तिमल्सिना

काठमाडौँ — नेपालमा रग्बी खेलको गतिविधि नगन्य छ । राष्ट्रिय टोली भए पनि रग्बी रंगशाला नेपालमा छैन । नेपालले ठूला अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागिता पनि जनाएको छैन । यही रग्बीको आसन्न विश्वकपअघिको महाअभियान भने नेपाललाई राम्रैसँग लागेको छ ।

रग्बी विश्वकप जापानमा : नेपाललाई चटारो

चार महिनापछि जापानमा हुने रग्बी विश्वकपको प्रचारप्रसार अभियान शनिबार सुरु भएको छ । विश्वकप माहोल बनाउन नेपालमा पनि कार्यक्रम सुरु भएको हो । लाग्छ, नेपालले पनि विश्वकपमा सहभागिता जनाउँदै छ ।

युरोप, त्यसमा पनि बि्रटिस साम्राज्यबाट सुरु भएको रग्बी खेल पहिलोपल्ट एसियाली मुलुकमा आयोजना हुँदै छ ।


पहिलो अवसरलाई महोत्सवका रूपमा मनाउन जापानले महादेशीय स्तरमा प्रचार तीव्र पारेको छ । रग्बी एसियाको पूर्ण सदस्यको हैसियतले नेपालले यसलाई अपनत्व ग्रहण गरेको छ । जापानी राजदूतावाससँगको सहकार्यमा दुई महिनासम्म रग्बी महोत्सव अभियानक्रममा विभिन्न कार्यक्रम आयोजना हुँदै छ । यसअघि गत डिसेम्बरमा रग्बी विश्वकपको ट्रफीलाई नेपाल भ्रमण गराइएको थियो ।


'पहिलोपल्ट एसियामा रग्बीको विश्वकप आयोजना हुँदै छ भनेपछि त्यसको अपनत्व सबै एसियाली देशले लिनैपर्छ, त्यसमा पनि हामी पूर्ण सदस्य छौं । जापानसँगको सुमधुर सम्बन्धले पनि हामीलाई यस अभियानमा हातेमालो गर्न सहयोग गर्‍यो,' नेपाल रग्बी संघका अध्यक्ष टंकलाल घिसिङले भने ।


विश्वकप प्रचार अभियानको पहिलो दिन शनिबार नेपालमा मैत्रीपूर्ण खेल आयोजना भयो । रग्बी संघ र जापानी दूतावासबीचको मैत्रीपूर्ण खेलमा जापानी राजदूत मासामुसी साइगो आफैं मैदानमा उत्रिए । उनकै नामबाट बनाइएको ट्रफी साइगो कपको प्रतिस्पर्धात्मक खेलमा धेरैबेर मैदानमा बिताउन नसकेका राजदूत साइगो टचलाइन बाहिर जिस्किँदै थिए, '३० वर्षअघि भएको भए म राम्रो खेल्ने थिएँ ।'


सन् २०१२ मा नेपालमा रग्बी संघ स्थापना भएको हो । उसले रग्बी एसियाको पूर्ण सदस्यता पाएको १ वर्ष पनि भएको छैन । जापानी राजदूतावाससँगको सहकार्य नेपाल रग्बीका लागि पनि फाइदाजनक हुने अध्यक्ष घिसिङले जानकारी दिए । उनले भने, 'हामीले वाषिर्क कार्यक्रम सञ्चालन गरिरहेका छौं । सरकारी सहयोग नगन्य छ, हामीले मुस्किलले गतिविधि गर्नुपर्ने अवस्था छ ।'


जापानका विभिन्न सहरमा सेप्टेम्बर २० देखि नोभेम्बर २ सम्म रग्बी-१५ विश्वकप आयोजना हुनेछ । यही विश्वकपलाई महोत्सवको रूपमा मनाउन जापानी दूतावाससँगको सहकार्यमा रग्बी संघले दुई महिनासम्म नकआउट प्रतियोगिता, क्लब लिग, सेमिनार तथा प्रशिक्षण, रग्बी खेलसम्बन्धी र्‍याली, विद्यालयस्तरीय टच रग्बी, यू-१६ रग्बी र अन्तरक्लब रग्बी सेभेन्स प्रतियोगिता सञ्चालन गर्नेछ ।


शनिबार भक्तपुरको सानोठिमीस्थित मध्यपुर युथ एसोसिएसनको मैदानमा आयोजित मैत्रीपूर्ण प्रतियोगितामा नेपालको तर्फबाट संघका अध्यक्ष घिसिङ र राष्ट्रिय टोलीका खेलाडीसम्मिलित टोलीले जापानी राष्ट्रिय टोलीका पूर्व कप्तान किकुतानी ताकेसी, महिलातर्फ पूर्वकप्तान इनुई आयुमी र राजदूत साइगो लगायत सम्मिलित जापानी दूतावासको टोलीलाई हराएको हो । मैत्रीपूर्ण खेलमा नेपाली टोली १४-५ को स्कोरमा विजयी भयो । नेपालका लागि राष्ट्रिय टोलीका श्रीराम श्रेष्ठले एक ट्राइ र एक कन्भर्जन किक गरी ७ स्कोर गरे ।


अर्को मैत्रीपूर्ण खेलमा नेपाल वुमन रग्बी क्लबले जित हासिल गरेको छ । सृजना राईको तीन ट्राइसहित उत्कृष्ट प्रदर्शनमा नेपाल वुमन रग्बी क्लबले हिमालयन वुमन रग्बी क्लबलाई १५-५ ले हराएको हो । हिमालयनका लागि पञ्चमाया श्रेष्ठले एक ट्राइ फर्काइन् ।


विश्व रग्बीमा न्युजिल्यान्ड सबैभन्दा सफल टोली हो । सन् १९८७ देखि हरेक चार वर्षमा आयोजना हुने प्रतियोगिताको ८ संस्करणमध्ये तीन उपाधि न्युजिल्यान्डले जितेको छ । यसबाहेक अष्ट्रेलिया र दक्षिण अफ्रिका समान दुईपल्ट च्याम्पियन बनेका छन् भने इंग्ल्यान्डले एकपल्ट उपाधि जितेको छ । एसियाली स्तरमा भने जापान र यूएई रग्बीका महारथी हुन् ।

प्रकाशित : जेष्ठ ५, २०७६ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?