१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

५० सेकेेन्ड पेनाल्टीको मूल्य

विश्व र्‍याफि्टङ
राजु घिसिङ

अस्ट्रेलिया — नेपाली टिमलाई स्ललोममा कमजोर मानिएको थियो । बिना गल्ती लगातार सात गेट पार गरेर पनि आठौंमा कप्तान सुरज गुरुङ गेट पार गर्न असफल भएपछि नेपाली टिम ५० सेकेन्ड पेनाल्टी (कारबाही) मा पर्‍यो ।

डुंगाको पछिल्लो भागले पोल छुँदा ११ औं गेटमा पनि ५ सेकेन्ड गुमाएपछि नेपाली टिम क्वीन्सल्यान्डस्थित टली नदीमा भइरहेको १८ औं विश्व र्‍याफि्टङ च्याम्पियनसिपको तेस्रो दिन शनिबार स्ललोममा १३ औं स्थानमा सीमित भयो ।


१४ गेट पार गर्नुपर्ने स्ललोममा दुई चरणमा प्रदर्शन गर्न पाइन्छ । त्यसमध्ये एक उत्कृष्ट समयबाट स्पर्धामा निर्णय लिइन्छ । कप्तान सुरज गुरुङ, शक्तिकुमार गुरुङ, पदमबहादुर गुरुङ, दीपेश गुरुङ, सविन गुरुङ, रविल मियाँ र सुनील गुरुङ (वैकल्पिक) को नेपाली टिमले पहिलो चरणमा ११८.२० सेकेन्डमा दूरी पार गरेको थियो । त्यसैमा ५५ सेकेन्ड पेनाल्टीमा परेपछि नेपालको समय १७३.२० सेकेन्ड निस्कियो ।


'लाइन (पानीको बहाव) समात्न नसकेपछि आठौं गेटमा गाह्रो भयो,' शक्तिले भने, 'तैपनि त्यसमा पेनाल्टीमा पर्छौं भन्नेमा शंका थियो तर ५० सेकेन्ड गुमायौं । ११ औं गेटमा पनि ५ सेकेन्ड पेनाल्टीमा परेको पछि मात्रै थाह भयो ।' डुंगाको दाँयातर्फ तेस्रो क्रममा प्याडल चलाइरहेका कप्तान सुरजले भने, 'प्रयास गर्दागर्दै पूरै टाउको गेटभित्रबाट पार गराउन सकिएन । त्यसैले ५० सेकेन्ड पेनाल्टीमा पर्‍यौं । पहिलो चरणमा अरु गेटमा प्रदर्शन राम्रै रहेको थियो ।'


१६ देशमध्ये नर्वे, रोमानिया र कोलम्बियालाई पछाडि परेको नेपाली टिमको प्रदर्शनबारे सुरजले थपे, 'दोस्रो चरणमा पहिलो गेटमै पेनाल्टीमा परेपछि सम्हालिन सकेनौं ।' दोस्रो चरणमा नेपाली टिम पहिलो गेटमै ५ सेकेन्ड पेनाल्टीमा परेपछि लयमा फर्किन सकेन । चौथो, ५, ६, ७, ११ र १४ औं गेटमा ५(५ सेकेन्ड गुमायो । १२ औं होलमा ५० सेकेन्ड पेनाल्टीमा परेपछि २०७.८८ सेकेन्ड रह्यो । त्यसैले नेपाली टिम पहिलो चरणकै समयको आधारमा स्ललोममा १३ औं स्थानमा रह्यो ।


हेड टु हेडमा क्वाटरफाइनलमै स्तब्ध भएको डिफेन्डिङ च्याम्पियन ब्राजिलले १०२.७२ सेकेन्डसाथ स्ललोममा स्वर्ण पदक जित्यो । रुस (१०९.७१ सेकेन्ड) ले रजत र चीन (११४.६१ सेकेन्ड) ले कांस्य पदक हात पारे । यसअघि ब्राजिलले स्पि्रन्ट र चीनले हेड टु हेडमा स्वर्ण जितेको थियो । चेक गणतन्त्र, न्युजिल्यान्ड, जर्मनी, जापान, कोस्टारिका, अस्ट्रेलिया, क्यानडा, इन्डोनेसिया र अमेरिका स्ललोममा नेपालभन्दा अगाडि रहे । दुई वर्षअघि जापानमा पनि नेपाली टिम १३ औंमा रहेको थियो ।


आर ६ तर्फको यस विश्व च्याम्पियनसिपकै मुख्य आकर्षण मानिएको पुरुष खुलामा स्पि्रन्ट (१०∞), हेड टु हेड (२०∞), स्ललोम (३५∞) र डाउन रिभर (३५∞) गरी चार स्पर्धामा सर्वाधिक अंक बटुल्ने टिम च्याम्पियन हुने गर्छ ।

स्ललोममा १३ औं स्थानमा रहँदा त्यसमा नेपालले १९३ अंक पायो । आठौं गेटमा पेनाल्टीमा नपरेको भए नेपाल शीर्ष आठमा रहने थियो । ११ औं गेट पारलगत्तै ढुंगामा ठोक्किएपछि डुंगालाई फर्काउन पनि समय लाग्यो । त्यसैले नेपाली टिम समग्र (ओभरअल) मा तीन स्थान ओर्लदै १२ औंमा पुग्यो ।


नेपाल स्पि्रन्टमा पाँचौं र हेड टु हेडमा नवौं भएको थियो । अन्तर्राष्ट्रिय र्‍याफि्टङ महासंघ (आईआरएफ) ले मार्च, २०२० चिलीमा आमन्त्रण विश्व र्‍याफि्टङ कपमा यस विश्व च्याम्पियनसिपमा शीर्ष आठ टिम छनोट हुनेछन् । त्यसमा छनोट हुनलाई नेपाली टिमले विश्व च्याम्पियनसिपको अन्तिम दिन आइतबार डाउनरिभरमा उत्कृष्ट प्रदर्शन गर्दै ठूला टिमलाई उछिन्न आवश्यक छ ।

प्रकाशित : जेष्ठ ५, २०७६ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?