२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

विश्व र्‍याफि्टङ च्याम्पियनसिप : नेपाल दसाैं

राजु घिसिङ

क्वीन्सल्यान्ड, अस्ट्रेलिया — नेपाली टिमले डाउन रिभरमा उत्कृष्ट प्रदर्शन गर्दै छैटौं स्थान हासिल गरेको छ । त्यससँगै नेपाल क्वीन्सल्यान्डस्थित टली नदीमा आइतबार सम्पन्न १८ औं विश्व र्‍याफि्टङ च्याम्पियनसिपको पुरुष खुलातर्फ शीर्ष १० भित्र अटाउन सफल भयो । आर ६ को विश्व च्याम्पियनसिपमा यो नै नेपालको सबैभन्दा राम्रो नतिजा हो ।

विश्व र्‍याफि्टङ च्याम्पियनसिप : नेपाल दसाैं

अघिल्लो दिन स्ललोममा ५५ सेकेन्ड पेनाल्टी बेहोरेपछि १३ औं स्थानमा रहेको नेपाल समग्र (ओभरअल) मा १२ औं स्थानमा झरेको थियो । त्यसैले च्याम्पियनसिपको अन्तिम दिन डाउन रिभरमा सहभागी १६ देशमध्ये ८ टिमको अन्तिम समूहमा रहेर नेपालले डुंगा खियाउन सुरु गरेको थियो । आफ्नो समूहमा पहिलो भएको नेपालले ४६ मिनेट ४८.३० सेकेन्डमा रेस पूरा गर्दै डाउन रिभरमा छैटौं स्थान हात पार्‍यो ।


यस स्पर्धामा न्युजिल्यान्ड (४४ मिनेट ५८.४१ सकेन्ड), रुस (४५ मिनेट ३३.२७ सेकेन्ड) र ब्राजिल (४६ मिनेट २४.९७ सेकेन्ड) ले क्रमश : स्वर्ण, रजत र कांस्य पदक जिते । सुरज गुरुङ, शक्तिकुमार गुरुङ, पदमबहादुर गुरुङ, दीपेश गुरुङ, सविन गुरुङ, रविल मियाँको नेपाली टिमलाई नजिक रहेर पनि चेक गणतन्त्र (४६ मिनेट २९.४४ सेकेन्ड) र जापान (४६ मिनेट ३१.९८ सेकेन्ड) ले भने उछिन्न सकेन ।

सुरुमै अरु टिम अगाडि बढेपछि नेपाल अन्तिममा परेको थियो ।


त्यसैले विस्तारै गति लिँदै नेपालले आफ्नो समूहमा सबैभन्दा अगाडि रेस पूरा गरेको हो । आधा दूरी पार गर्दासम्म अमेरिका, क्यानडा, इन्डोनेसिया र कोस्टारिकाभन्दा पछाडि रहेको नेपाली टिमले अन्त्यतिर टलीमा सही लय समातेको थियो । अन्त्यतिर अमेरिकालाई उछिन्दै नेपाल आफ्नो समूहमा पहिलो भयो । तेस्रो दिन शीर्ष आठमा रहेका टिमहरू पहिलो समूहमा थिए । त्यो समूहमा रहेका चीन, जर्मनी र आयोजक अस्ट्रेलियाभन्दा नेपालले राम्रो समय निकाल्दै डाउन रिभरमा छैटौं स्थान हात पारेको हो ।


'रेस सुरु गर्दा अन्त्यमा परेका थियौं,' नेपालका कप्तान सुरज गुरुङले भने, 'त्यसबाट सम्हालिँदै अगाडि बढेर सोचेभन्दा राम्रो समय निकाल्यौं । सुरुमै डुंगा जुध्नुपूर्व अघि बढ्न पाएको भए त्योभन्दा छोटो समयमै रेस पूरा गर्नसक्थ्यौं ।' डाउन रिभरमा इन्डोनेसिया सातौं, अमेरिका आठौं, क्यानडा नवौं र जर्मनी दसौं भए भने त्यसपछि अस्ट्रेलिया, कोस्टारिका, चीन, नर्वे, रोमानिया र कोलम्बिया क्रमशः ११ देखि १६ औंसम्म रहे ।


नेपालले आर ६ तर्फको विश्व र्‍याफटङ च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेको यो दोस्रो अवसर हो । यसअघि सन् २०१७ मा जापानमा सम्पन्न च्याम्पियनसिपमा नेपाल डाउन रिभरतर्फ १३ औं भएको थियो । त्यस बेला नेपाली टिम १७ देशमध्ये समग्रमा १३ औं भएको थियो । त्यो प्रदर्शनलाई यसपालि उछिन्यो ।


निमबहादुर मगरले दुई महिना सेती, मस्र्याङदी, त्रिशूलीमा प्रशिक्षण दिएको टिम स्पि्रन्टमा पाँचौं, हेड टु हेडमा नवौं, स्ललोममा १३ औं र डाउन रिभरमा छैटौं हुँदै समग्रमा दसौं स्थानमा रह्यो ।


स्पि्रन्ट (१०∞), हेड टु हेड (२०∞), स्ललोम (३५∞) र डाउनरिभर (३५∞) गरी १ हजार अंकको प्रतिस्पर्धामा नेपालले ६ सय ७२ अंक जोड्यो । अन्तर्राष्ट्रिय र्‍याफि्टङ महासंघ (आईआरएफ) ले विश्व च्याम्पियनसिपमा शीर्ष आठमा रहने टिम २०२० को मार्चमा चिलीमा हुने विश्व र्‍याफि्टङ कपमा छनोट हुने घोषणा गरेको थियो । आठौं स्थानमा रहेको इन्डोनेसियाभन्दा १६ अंक पछाडि रहेपछि नेपालले चिली यात्रा निश्चित गर्न भने सकेन । छनोट भएका पुरुष खुलाका आठ र महिलाका सात टिमलाई आतेजाते र खानेबस्नेको सबै व्यवस्था आईआरएफले गर्ने जनाएको छ ।


ब्राजिल फेरि च्याम्पियन

डिफेन्डिङ च्याम्पियन ब्राजिलले सर्वाधिक ९०९ अंक जोड्दै पुरुष खुलाको उपाधि रक्षा गर्‍यो । स्पि्रन्ट र स्ललोममा स्वर्ण पदक जितेको ब्राजिल हेड टु हेडमा पाँचौं र डाउन रिभरमा तेस्रो भयो । उसले स्पि्रन्ट र हेड टु हेडमा तेस्रो तथा स्ललोम र डाउन रिभरमा दोस्रो भएको रुसलाई ७ अंकले पछाडि पार्दै उपाधि रक्षा गरेको हो ।


दुई वर्षअघि जापानमा चारै स्पर्धामा स्वर्ण कब्जा गरेको ब्राजिलले यसअघि सन् २००७, २००९, २०१३, २०१५ र २०१७ मा आर ६ को विश्व च्याम्पियनसिप जितेको थियो । २(२ वर्षमा हुने आर ६ को च्याम्पियनसिप २०११ मा जापानले जितेको थियो ।

प्रकाशित : जेष्ठ ६, २०७६ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?