१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सावित्राको चार गोल

सेतु उपाधि नजिक

काठमाडौँ — नेपाली स्टार खेलाडीद्वय सावित्रा भण्डारी र अनिता बस्नेत आबद्ध सेतु एफसीले इन्डियन वुमन्स लिग फुटबलको फाइनल यात्रा तय गरेको छ । सोमबार सेमिफाइनलमा सेन्ट्रल एसएसबी वुमन्स फुटबल टिममाथि ८-१ गोलको फराकिलो जित निकाल्दै सेतुले मणिपुर पुलिस विरुद्धको उपाधि भिडन्त पक्का गर्‍यो । 

पन्जाबस्थित गुरु नानक रंगशालामा सेतुलाई फाइनलमा पुर्‍याउन सावित्राले ह्याटि्रकसहित ४ गोल गरिन् । प्रतियोगितामा उनको यो तेस्रो ह्याटि्रक हो । उनले यस लिगमा व्यक्तिगत गोलसंख्या १३ पुर्‍याएकी छन् ।


सावित्राले ४ गोलका अलावा दाङमेई ग्रेसले पनि ह्याटि्रक पूरा गरिन् भने रतनवाला देवीले १ गोल थपिन् । सावित्राले पहिलो हाफको ४१ औँ मिनेटमा व्यक्तिगत पहिलो र टिमका लागि दोस्रो गोल गरिन् । सावित्रा, ग्रेस र रतनवालासम्मिलित सेतुको अग्रपंक्ति निकै नै आक्रामक बनेको खेलमा सावित्राले ५९ र ६५ औँ मिनेटमा गोल गरी ह्याटि्रक पूरा गरिन् । अन्तिम मिनेटमा उनले चौथो गोल गरेकी थिइन् ।


यसअघि १३ औँ मिनेटमा ग्रेसको गोलमार्फत सेतुले अग्रता बनाएको हो । त्यसयता उनले पहिलो हाफको इन्ज्युरी समयमा दोस्रो गोल गरिन् भने ५२ औँ मिनेटमा ह्याटि्रक पूरा गरिन् । रतनवालाले ७१ औँ मिनेटमा एक गोल गरिन् । रतनवालाले गोल गर्नु एक मिनेटअघि एसएसबीका लागि दुलार मारान्डीले एक गोल फर्काएकी थिइन् ।


सोमबारै पहिलो सेमिफाइनलमा मणिपुर पुलिसले गोकुलम केरला एफसीलाई ४-२ ले पराजित गरेको थियो । ४७ औँ मिनेटमै १० खेलाडीमा समेटिँदा २-१ ले पछि रहेको मणिपुरले सशक्त प्रदर्शन गरी नाटकीय रूपमा खेल आफ्नो पक्षमा पारेको थियो ।


सेतु र मणिपुरले समूह चरणको पहिलो खेलमा प्रतिस्पर्धा गरेका थिए । जहाँ सेतु ६-४ ले विजयी भएको थियो । त्यसमा पनि सावित्राले ४ गोल गरेकी थिइन् । लिगमा सेतु अपराजित टिम हो भने मणिपुरले सेतुसँग मात्र हारेको छ ।

प्रकाशित : जेष्ठ ६, २०७६ २०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?