अन्नपूर्ण म्याराथन जेठ २० मा

काठमाडौँ — अन्नपूर्ण आरोहण दिवस जुन ३ (जेठ २०) मा दोस्रो अन्नपूर्ण म्याराथन प्रतियोगिता हुने भएको छ । प्रतियोगिता कास्कीको अन्नपूर्ण गाउँपालिकाअन्तर्गत अन्नपूर्ण हिमालको फेदी (बेसक्याम्प) देखि पयर्टकीय गाउँ घान्द्रुकसम्मको दुरीमा आयोजना हुनेछ । 

अन्नपूर्ण म्याराथन जेठ २० मा

अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव (जेठ १७ देखि २०) को अन्तिम दिन म्याराथन गरिने सहआयोजक अन्नपूर्ण काठमाडौं समाजले जनाएको छ । अर्को आयोजकमा अन्नपूर्ण सेन्चुरी पर्यटन समिति रहेको छ ।


अन्नपूर्ण बेसक्याम्पको पूर्वाधार विकास गरी खेलकुदको माध्यमबाट पयर्टन प्रवर्वद्धन गर्नका लागि गत वर्षदेखि म्याराथन सुरु गरिएको समाजका संयोजक ऋषिराम भण्डारीले बताए ।


४२.१९५ किमिको म्याराथन अन्नपूर्ण आधारसिविरबाट सुरु भई माछापुच्छ्रे आधारसिविर, बगर, देउराली, हिमालय, दोभान, सिनुवा, भनुवा, छोम्रोङ, घुर्जुङ, टाँडापानी, भैंसीखर्क हुँदै घान्द्रुक पुगेर टुंगिने छ ।


विजेताले १ लाख ५ हजार रुपैयाँ पुरस्कार जित्ने छन् । दोस्रोले ७५ हजार र तेस्रो हुनेले ५५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । चौथोदेखि १० औं स्थानसम्म आउने क्रमश: ११, १०, ९, ८, ७, ६ र ५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।


प्रतियोगिता खुला भएकाले महिला/पुरुष दुवै खेलाडीले भाग लिन सक्ने जनाइएको छ । गतवर्ष भन्दा शीर्ष तीनस्थानको विजेताको पुरस्कार ५ हजार वृद्धि गरिएको हो ।


गत वर्ष पहिलो संस्करणमा पाँच दर्जनभन्दा बढीको सहभागिता रहेको थियो । यसपल्ट १ सयभन्दा बढीको सहभागिता रहने आयोजकको अपेक्षा छ । विदेशी धावकको पनि सहभागी रहने संयोजक भण्डारीले बताए ।


प्रतियोगितालाई नेपाल एथलेटिक्स संघको समन्वय रहेको छ । टेक्निकल डाइरेक्टरमा ट्र्याक एन्ड फिल्डका प्रशिक्षक खडग रानाभाट छन् ।


अन्नपूर्ण हिमालको फेदीदेखि पर्यटकीय गाउँ घान्द्रुकसम्मको रुटमा हुने म्याराथनले खेलाडीलाई छुट्टै आनन्द महसुस गराउने आयोजक बताउँछ । स्वदेशी खेलाडीका लागि १ हजार रुपैयाँ दर्ता शुल्क तोकिएको समाजले जनाएको छ । पोखरादेखि घान्द्रुकसम्म आतेजातेसहित खानेबस्ने सम्पूर्ण सुविधा आयोजकले बेहोर्ने जनाइएको छ ।


पहिलो संस्करण आर्मीका धावकहरूले वर्चस्व जमाएका थिए । हरिकुमार रिमालले उपाधि जित्दा ४ घण्टा १७ मिनेट लगाएका थिए । उनीभन्दा ४२ सेकेन्डले पछि परेका पूर्ण तामाङ दोस्रा र ३ मिनेट २९ सेकेन्डले पछि परेका होमलाल श्रेष्ठ तेस्रा भएका थिए ।

फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको टोलीले जुन ३ मा अन्नपूर्ण हिमालको सफल आरोहण गरेका थिए ।


उनैले ८ हजार मिटरभन्दा अग्ला हिमाल आरोहणको इतिहासमा विश्व कीर्तिमानी राखेको सन्दर्भमा उक्त दिनलाई अन्नपूर्ण आरोहण दिवसका रूपमा मनाइँदै आएको छ ।

प्रकाशित : जेष्ठ ८, २०७६ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?