१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

खेलमैदान बनाउन वन्यजन्तु ऐन बाधक

प्रकाश बराल

बागलुङ — ढोरपाटनमा हाइअल्टिच्युट ट्रेनिङ सेन्टर बनाउने युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्को योजनामा वन्यजन्तुसम्बन्धी ऐन बाधक बनेको छ । वन मन्त्रालयले दिएको अनुमतिपछि परिषद्ले जिल्ला र पश्चिमाञ्चल खेलकुद विकास समितिको समन्वयमा खेलमैदान बनाउने तयारी गरेको थियो ।

खेलमैदान बनाउन वन्यजन्तु ऐन बाधक

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०७३ को दफा ५ का १० वटा नियमले वन्यजन्तु संरक्षण गरिएको आसपासमा संरचना बनाउन रोक लगाएको छ । यसले मैदान बन्ने/नबन्ने निश्चित छैन । निर्माणको प्रारम्भिक काम थालिएकोमा ऐन बाधक भएको जिल्ला खेलुकद विकास समितिका अध्यक्ष धनबहादुर परियारले बताए । प्रारम्भिक सर्वेक्षणले ढोरपाटनमा खेलमैदान बनाउन उपयुक्त ठहर्‍याएको थियो । चालु वर्ष सरकारले अध्ययन तथा सर्भेका लागि ३० लाख रुपैयाँ विनियोजन गरेको थियो ।


कम्तीमा एक सय रोपनी जमिन उपलब्ध भएमा डीपीआर बनाउने योजना थियो । परिषद्बाट खटिएका इन्जिनियर प्रनिश ताम्राकारले मैदानका लागि ठाउँ उपयुक्त ठहर गरेका थिए । ‘प्रारम्भिक अध्ययनमा छेन्टुङ र उत्तरगंगा नजिकै गरी दुई ठाउँ छनोट गरिसकेका थियौंं,’ अध्यक्ष परियारले भने, ‘जग्गा उपलब्ध भए अन्तर्राष्ट्रिय मापदण्डअनुसारको फुटबल मैदान र सुविधासम्पन्न कभर्डहल बन्नेछ ।’


राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका सूचना अधिकारी विष्णु श्रेष्ठले समन्वयको काम भइरहेको बताए । वन्यजन्तुहरू पालिएको स्थानमा धेरै क्रियाकलापमा रोक छ । ‘राष्ट्रिय गौरवकै आयोजना बन्ने भयो भने हामीले पनि समन्वय गरेर काम अगाडि बढाउन सहयोग गछौं,’ श्रेष्ठले भने, ‘समन्वयको काम कता पुगेको छ, अध्ययन गर्छाैं ।’ यहाँ बन्ने कभर्डहलमा ‘इन्डोर’ खेलहरू सञ्चालन हुनेछन् भने मैदानमा क्रिकेट, फुटबल र अन्य खेलको अभ्यास र राष्ट्रिय प्रतियोगता गर्न सकिन्छ ।


५ वर्षअघि ग्रामिण सूचना प्रविधिका अभियन्ता महावीर पुनले पनि यो क्षेत्रको अध्ययन गरेर शीतकालीन ओलम्पिकका लागि मैदान निर्माण्ँ गर्न सकिने बताएका थिए । केही भाग आरक्षणभित्र पर्छ भने केही स्थान सार्वजनिक छ । ‘राष्ट्रिय महत्त्वकै काम गर्ने हो भने सार्वजनिक जमिन उपयोग गर्न सकिन्छ,’ पश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले भने, ‘यो मैदान बनाउन सक्दा देशकै पहिचान बढ्नेछ ।’ ढोरपाटनमा अहिलेसम्म सिकारका लागि अन्तर्राष्ट्रिय सिकारी आउने गर्छन् । खेल मैदान बनाएमा संसारभरका खेलाडीले अभ्यासका लागि आउने वातावरण बन्ने उनले बताए ।


सिकार खेल्ने ठाउँ अहिले पहिचान गरिएको स्थानभन्दा ७ देखि १० किमि पर छन । हेलिकोप्टरमा आएका सिकारी जंगल क्षेत्रमा बस्छन् । ‘हजारौं रोपनी जमिन चरनक्षेत्रकै रूपमा भएकाले १ सय रोपनी जमिन दिनलाई कुनै समस्या नहुनुपर्ने हो,’ ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले भने, ‘विकासका लागि हाम्रा सरकारी संयन्त्रनै बाधक छन् ।’ ‘स्थानीय सरकारले सार्वजनिक जमिन प्रयोग गरेर केही गरौं भन्दा पनि नपाउने त ?’


ढोरपाटनलाई नेपाल सरकारले पर्यटकीय गन्तव्यको सूचीमा पनि सूचीकृत गरेको छ । हाल आन्तरिक पर्यटकसमेत बढ्न थालेकाले सहज सडक र होटल निर्माण भएमा आर्कषक खेल र पर्यटकको गन्तव्यबाटै राज्यले करोडौं आम्दानी गर्न सकिने उनले सुझाव दिए । उत्तरगंगा जलाशययुक्त जलविद्युत निर्माण भएमा यसको महत्त्व अझै बढ्नेछ । जलाशय बने पनि तोकिएको स्थानमा खेल मैदान बनाउन सकिने गरी छनोट भएको छ ।


सिकार आरक्षकी प्रमुख संरक्षण अधिकृत सरस्वती सापकोटाले परिषद् र समितिको औपचारिक पत्र नआएको बताइन् । ‘पत्र आएको छैन, विभागमा भए मलाई थाहा भएन,’ उनले भनिन्, ‘अनुमति दिने काम विभाग र मन्त्रालयबाटै हुन्छ । यहाँ हामीले समन्वयमात्र गर्ने हो ।’

प्रकाशित : जेष्ठ ८, २०७६ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?