सगरमाथा युथ च्याम्पियन

रमेशचन्द्र अधिकारी

धनकुटा — सगरमाथा युथ क्लब मोरङले नवौं अग्नि बसुन्धरा स्मृति टुबोर्ग रारा गोल्डकप फुटबलको उपाधि जितेको छ । चौबिसे गाउँपालिकाको राजारानीमा जारी प्रतियोगिताको फाइनलमा सगरमाथाले चर्च ब्वाइज क्लब काठमाडौंलाई २–० ले पराजित गरेको हो ।

सगरमाथाले उपाधिमा ह्याटिक गरेको छ । सगरमाथाले २ लाख र उपविजेता चर्च ब्वाइजले १ लाख रुपैयाँ पुरस्कार पाए ।

पहिलो हाफ गोलरहित रहेकोमा दोस्रो हाफको अन्तिम समयमा लगातार गोल गर्दै सगरमाथा विजयी भएको हो । सगरमाथाका मनोज राईले ७२ औं र भुवन बस्नेतले ७९ औं मिनेटमा गोल गरे । मनोजले पोस्टको देब्रे कुनाबाट प्रहार गरेको बल जालीको सम्पर्कमा पुगेको थियो । लगत्तै चर्च ब्वाइजका गोलकिपर किशोर गिरी पोस्टभन्दा अगााडि बढेको फाइदा उठाउँदै भुवन खाली पोस्टमा गोल गर्न सफल भए ।

चर्च ब्वाइजका निकेश लिम्बुले पहिलो हाफमा प्रहार गरेको बल बारमा लागेर फर्कियो । छिरिङ गुरुङले दोस्रो हाफको सुरुमा पोस्ट नजिकैबाट प्रहार गरेको बल बाहिरियो । निशान लिम्बुले प्रहार पनि सफल हुन सकेन । सगरमाथाका विष्णु सुनुवार, सुशील राई, भुवन बस्नेतले प्रहार विपक्षी गोलकिपरले बचाए ।

सर्वोकृष्ट खेलाडी सगरमाथाका विष्णु सुनुवार भए । उनले २० हजार रुपैयाँ पाए । राइर्जिङ प्लेयर आयोजक रारा फुटबल क्लबका नरेन्द्र बिक, सर्वाधिक गोलकर्ता दाउफिन्सका पेटेंगा, उत्कृष्ट प्रशिक्षक सगरमाथाका रवि गुरुङ, उत्कृष्ट फरवार्ड सगरमाथाका भुवन गुरुङ, उत्कृष्ट डिफेन्डर चर्चका छिरिङ गुरुङ, उत्कृष्ट गोलरक्षक सगरमाथाका पूर्ण चेम्जोङ र म्यान अफ द फाइनल सगरमाथाका मनोज राईघोषित भए ।

सेमिफाइनलमा चर्च ब्वाइजले क्यामरुनी क्लब दाउफिन्स र सगरमाथा युथले विभागीय टोली एपीएफलाई हराउँदै फाइनल तय गरका थिए ।विजेतालाई पूर्वमन्त्री सुनीलबहादुर थापालगायतले पुरस्कृत गरे ।

प्रकाशित : जेष्ठ ९, २०७६ ०७:५१
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

मृगस्थलीमा निर्मित सडकविरुद्ध वृक्षरोपण

दामोदर न्यौपाने

काठमाडौँ — पशुपति मृगस्थली र ध्रुवस्थलीको बीचसडकमा बुधबार वृक्षरोपण गरिएको छ । युनेस्को र सर्वोच्च अदालतको निर्देशनात्मक आदेशपछि पशुपति क्षेत्र विकास कोषले सडक बन्द गराएको छ । त्यही बन्द सडकमा अभियन्ताले बिरुवा रोपेका हुन् । कपुर, धुपी र सुन्तलाका सयवटा बिरुवा रोपिएका छन् ।

काठमाडौंको तिलगंगादेखि ताम्रगंगा सडकखण्डअन्तर्गत सडकबीचमै बुधबार वृक्षरोपण गर्दै सामाजिक अभियन्ता । तस्बिर : कविन अधिकारी/कान्तिपुर

‘धार्मिक जंगललाई जंगलकै रूपमा फर्काउन सर्वोच्च अदालतको आदेश छ,’ अभियन्ता अर्जुन रानाले भने, ‘त्यही जंगललाई जंगलकै रूपमा फर्काउने अभियानका रूपमा बिरुवा रोप्न सुरु गर्‍यौं । यसलाई निरन्तरता दिन्छौं ।’

पशुपति क्षेत्र विकास कोषले तिलगंगा ताम्रगंगा सडक गत साताबाट बन्द गर्न सुरु गरेको थियो । बाटो खुला राख्न केही जनप्रतिनिधि र ट्यांकर, ट्रक व्यवसायीले अवरोधसमेत गरेका थिए । अभियन्ताको समेत साथ लिएर कोषले सडक बन्द गराउन सुरु गरेको हो । बन्द सडकको काठमाडौं महानगरपालिका अनुगमन समितिका संयोजक उपमेयर हरिप्रभाखड्गीले अनुगमन गरिन् ।

उनले कपुरको बिरुवासमेत सडकमा रोपिन् । ‘यो विश्व सम्पदामा परेको क्षेत्र हो । यसलाई ख्यालख्याल ठान्नु हुँदैन,’ बिरुवा रोपेपछि खड्गीले भनिन्, ‘बीचबाट बाटो खोल्दा कसलाई फाइदा भयो ? जनता यो बाटोबाट हिँडेनन् । ट्रक व्यावसायिकलाई फाइदा भयो । सीमित वर्गको फाइदाका लागि यत्रो विश्व सम्पदालाई जोखिममा पार्नु हुँदैनथ्यो ।’

पशुपतिको पूर्वमा रहेको मृगस्थली र ध्र्रवस्थली पशुपतिको मुख्य वन सम्पदामा पर्छन् । धार्मिक मात्र नभई वनस्पतिका दृष्टिले पनि महत्त्वपूर्ण मानिन्छ यो जंगल । ‘यहाँका वन क्षेत्रले पशुपति क्षेत्रलाई मनोरम बनाउनसमेत मद्दत गरेका छन्,’ अभियन्ता सिर्जना अर्यालले भनिन्, ‘पशुपति क्षेत्रमा फूल फुल्ने, फल लाग्ने, हरियाली भइरहनेजस्ता जंगल छन् । यस्तो ठाउँ मासिएको छ । जभाभावी शव गाडिएको छ । गन्हाएर जंगल क्षेत्रमा हिँडिनसक्नु छ । यसलाई जोगाउनु हाम्रो दायित्व हो ।’

यो जंगलमा मडिल्लो, शिरीष, हाडेवयर, सुनचाप, काउलो, प्वाँले, वायुविडङ, धुसरु, सिलिङगे, जगर, काभ्रो, चिलाउने, पैयु, देवदार, सिप्लेकानजस्ता रूख छन् । त्यसैगरी मसला, सल्ला, धुपी, काढेसल्ला,बेल, खरी, काँगियो, बकेनाजस्ता रूख छन् । यो जंगलको मुख्य विशेषता भनेको लप्सीको रूख हो ।

यही लप्सीको रूख पाइने भएकाले जंगलको नामै श्लेष्मान्तक रहेको हो । लप्सी भने मासिँदै गएको छ । यहाँ बाक्लोचाहिंँ चिलाउने, प्वालो, मुसलिनी, कालिमयलजस्ता रूख यही उम्रिएका हुन् । बाहिरबाट ल्याएर रोपिएका रूख पनि छन् । मसला, देवदार, काडेसल्ला, गोब्रे सल्लाजस्ता रुख बाहिरबाट ल्याएर रोपिएका हुन् ।

पशुपतिविज्ञ संस्कृतिविद् गोविन्द टण्डनका अनुसार प्रधानमन्त्री जंगबहादुर राणाको पालादेखि बाहिरबाट ल्याएर रूख रोप्न थालिएको हो । राणाले विसं १९२० मा विश्वरूप मन्दिरको पश्चिमपट्टि मन्दिरतिर जानेबाटको दायाँबायाँ बाहिरबाट ल्याइएका बिरुवा रोपेका थिए । जंगबहादुरपछि राणा प्रधानमन्त्री जुद्धशमशेरले विसं १९८९ देखि २००२ सम्म गौशलाका दायाँबायाँ मसलाका रूख हुर्काएका थिए ।

जंगललाई पूर्ववत् अवस्थामा ल्याउने काममा बाटो बन्द गर्न सुरु गरेको भोलिपल्ट टिपर व्यवसायी,ट्यांकर व्यवसायी बाटो खुला गर्न माग गर्दै काममा अवरोध गर्दै आएका छन् । अवरोध गर्न आउनेलाई प्रतिनिधिसभाका सांसददेखि कागेश्वरी मनोहरा नगरपालिकाका मेयरले समेत साथ दिए ।

जनप्रतिनिधि गएपछि प्रहरी पनि पुगेको थियो । महानगरीय प्रहरी प्रभाग गौशलाका डीएसपी सुनील मल्ल आफैं पुगे । काम रोकिएपछि त्यहाँ जम्मा भएका प्रतिनिधिसभाका सांसद कृष्ण राई, प्रदेश नम्बर ३ का सांसद रामेश्वर फुँयाल र कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापा फर्किएका थिए ।

जंगलको ६ सय ७५ मिटर लामो र ७ मिटर चौडाइको सडक खनिएको थियो । युनेस्कोको बन्द नगरे विश्व सम्पदा सूचीबाटै हटाइदिने चेतावनी, सर्वोच्च अदालतको निर्देशनात्मक आदेश, मन्त्रिपरिषद् कार्यालयको बाटो बन्द गर्न आदेशलगायत देखाउँदै कोषले बाटो बन्द गर्न सुरु गरेको थियो । बाटो बन्द गर्ने काममा अवरोध गरेको थाहा पाएपछि सम्पदा संरक्षण अभियन्ता तिलगंगा ताम्रगंगा सडक हेर्न गएका थिए । ‘धेरै दबाब दिएपछि कोषले बन्द गर्न लागेको थियो,’ रानाले भने, ‘बाटो बन्द गराउनै पर्छ । बाटो खोल भन्न आउने कस्ता जनप्रतिनिधि ? अदालतको अवहेलना गर्न मिल्छ जनप्रतिनिधिले ? सरकारकै निर्देशन कार्यान्वयन गर्नसमेत अवरोध गर्ने ? यो बाटो जसरी पनि बन्द गराउनै पर्छ ।’

एमालेबाट प्रतिनिधित्व गर्ने सांसद कृष्ण राईले यत्रो समय बन्द नभएको बाटो अहिले आएर किन बन्द गर्नु भन्ने आफ्नो भनाइ रहेको बताए । ‘१०/१२ वर्ष चल्यो,’ राई भन्छन्, ‘अहिले बन्द नगरौं भन्ने हाम्रो भनाइ हो ।’ अभियन्ता भने केही दुःख सहेरै भए पनि विश्वसम्पदा जोगाउनुपर्ने बताउँछन् । ‘केही जाम होला । केही दुःख होला,’ राना भन्छन्, ‘दुःख सहेरै भए पनि विश्व सम्पदा जोगाउन त लाग्नुपर्‍यो नि । विश्व सम्पदा जोगाउने दायित्व त जनप्रतिनिधि हो नि । उहाँहरू नै भूमाफिया र टिपर व्यवसायीसँग मिलेर बन्द गराउन आउनु दुःखद हो ।’

कोषले सवारी बन्द गरे पनि सर्वसाधारणलाई हिँड्न भने बाटो छाडिदिने जनाएको छ । प्रदेश नम्बर ३ का सांसद नरोत्तम वैद्य भने सडक बन्द गर्नुपर्ने तर विकल्पचाहिँ दिनै पर्ने बताउँछन् । ‘सर्वसाधारण हिँड्न पनि दिनुपर्दैन । सडक पूरै बन्द गरिदिए हुन्छ,’ वैद्य भन्छन्, ‘तर कोषले विकल्प दिन्नँ भन्न मिल्दैन । सदस्य सचिव जिम्मेवार हुनुपर्छ ।’ वैद्यले एयरपोर्टको छेउबाट सडक निकाल्न सकिने बताए । ‘नागरिक उड्डयन प्राधिकरणको गुरुयोजना बनेको छ ।

प्रकाशित : जेष्ठ ९, २०७६ ०७:४१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT