'सहर एकसाथ हुने अवसर हो’

शिल्पा कर्ण

काठमाडौँ — झन्डै २० वर्षअघि अमेरिकामा रहेका बेला सतिश जोशीले म्याराथनमा भाग लिएका थिए । त्यसका लागि उनले निकै पहिलेदेखि तयारी गरिरहेका थिए । निकै सफल रह्यो उनको त्यो दौड । अर्को वर्ष केही तयारी गरेनन् ।

सतिश जोशी अभियन्ता, वायु प्रदूषण सचेत नागरिक समूह संस्थापक सदस्य, दृष्टि


फलस्वरुप एक वर्ष दौडनै नमिल्ने गरी घाइते भए । यो ‘म्याराथन संस्कृति’ अहिले विश्वका विभिन्न सहर, राज्य र देशहरूमा स्थापित छ । तर नेपालमा भने छैन भन्छन् जोशी ।

‘यहाँ म प्रदूषणले गर्दा एक्सरसाइज गर्न वा दौडनै चाहन्नँ,’ जोशीले कारण सुनाए, ‘दौडदाँ, एक्सरसाइज गर्दा शरीरले बढी हावा वा सास लिन्छ । तर लिने सासै स्वस्थ भएन भने हामी कसरी स्वस्थ हुनसक्छौं ?’ त्यो उल्टै मानवका लागि हानिकारक हुन्छ । उनको भनाइ छ राजधानी र नेपालको हकमा म्याराथन संस्कृति विकास हुन सकेको छैन । स्वच्छ हावामा कुद्नु स्वास्थ्यका हिसाबले निकै राम्रो भए पनि ‘ट्रेडमिल’ मा कुदेर चित्त बुझाउनुपरेकोमा उनी दुःखी छन् ।

उनको अनुभवमा म्याराथन सिंगै सहर एकसाथ हुने निकै राम्रो अवसर हुन्छ । सहरमा टोलैपिच्छे बेग्लै रनिङ समूह हुन्छन् । जसले सँगै अभ्यास गर्छन् र सँगै म्याराथन दौडन्छन् । सामाजिकीकरणको माध्यम हो सडक प्रयोग र म्याराथन दौड । ‘यो मुख्य रूपमा स्वास्थ्यसँग सम्बन्धित हो । स्वास्थ्य शिक्षाका लागि यो संस्कृति सहयोगी साबित हुन्छ,’ उनले थपे, ‘दोस्रोमा मानवीय सम्बन्ध स्थापना, व्यवहार गर्नु र सम्बन्ध विस्तार पनि म्याराथन संस्कृतिको फाइदा हो ।’ अर्को फाइदा हो, आफूलाई सास फेर्न बढी हावा चाहिएपछि उनीहरू आफूले लिने हावाबारे बढी चासो लिन्छन् । हावा प्रदूषणरहित हुनुपर्ने रहेछ, यसका लागि आफूले के गर्न सकिन्छ भनेर सोच्छन् सहरवासी ।’

उनको भनाइमा उपत्यकामा प्रदूषणको स्थिति झन् झन् बिग्रँदै गइरहेको छ । उनका अनुसार तुलनात्मक रूपमा भारतको दिल्ली, चीन जस्तो गम्भीर त होइन, तर निकै खराब भने हो । यहाँको भूगोलअनुसार जाडोमा हावा निकै नराम्रो, प्रायः चैतदेखि जेठसम्म पहिलेभन्दा केही कम प्रदूषण हुन्छ । तर विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा बढी नै प्रदूषित हुन्छ हावा । ‘वर्षात्मा पानी परेपछि मौसम केही सफा हुन्छ पहिलेभन्दा । नत्र हिमाल त परै जाओस् यहाँ वरपरका पहाड पनि देखिन्न प्रदूषित वायुका कारण,’ जोशी भन्छन् ।

उपत्यकामा वायु प्रदूषणको कारण उद्योगको प्रदूषण नभई निकै सुक्ष्म धूलोका कण रहेको उनको ठहर छ । यहाँ फोहोर जलाएर निस्केको धुँवा, ईंटाभट्टा तथा निर्माण सामग्रीका धूलो र गाडीको धुँवा अर्को कारक हो । निकै साना धूलोको कणको हिसाबले हेर्दा उपत्यकामा विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा निकै बढी प्रदूषण हुन्छ । ‘त्यस्ता सूक्ष्म कण न नाक, न फोक्सोले फिल्टर गर्न सक्छ । अन्तमा रगतमा मिसिन जान्छ र मस्तिष्कसम्म पुग्छ । जुन विभिन्न गम्भीर रोगको कारण बन्न पुग्छ,’ उनले भने ।

प्रदूषण रोक्ने सन्दर्भमा नेपालका नियम कानुन राम्रो भए पनि फितलो कार्यान्वयनले समस्या भएको जोशीको ठम्याइ छ । उनी भन्छन्, ‘निकै कालो धुँवा फाल्ने सवारीले पनि हरियो स्टिकर पाएको देखिन्छ । यो प्रदूषण टेस्टिङ निजी कम्पनीलाई दिए प्रभावकारी नतिजा आउन सक्छ, दिल्ली र श्रीलंकामा पनि यो अभ्यास छ ।’ उपत्यकामा गाडी तथा मोटरसाइकलको संख्याका आधारमा प्रदूषणमापक उपकरणयुक्त संस्थाको संख्या ४–५ दर्जन हुनुपर्ने र वर्षमा दुईपल्ट मापन गर्नुपर्ने सुझाव छ उनको ।

अहिले योगा गर्ने, मर्निङवाक गर्ने संख्या बढेको छ । यो संस्कृतिका रूपमा अघि बढिरहेको छ । उपत्यकाझैं भू–बनोट भएका अन्य उपत्यकाबाट वायु प्रदूषण कम गर्ने तरिका सिक्नुपर्छ । सडकमा सवारी साधन घटाउन पैदलयात्रीमैत्री सडक हुनुपर्ने आवश्यकता देख्छन् उनी । ‘आजभन्दा २०/२५ वर्ष अघिसम्म ५० प्रतिशत पैदलयात्री थिए भने अहिले ३० प्रतिशत हाराहारी होलान्,’ उनले भने, ‘यसको मुख्य कारण पैदलयात्रुमैत्री र साइकल चालकमैत्री सडक नहुनु नै हो ।’

बाटो विस्तार गर्नु भनेको लागूऔषध प्रयोगकर्तालाई लागूऔषध उपलब्ध गराउनु झैं हो । अव्यवस्थापनले गर्दा नै पैदलयात्री र साइकल प्रयोगकर्ताका रूपमा सडक प्रयोग गर्न हिच्किचाउनुपर्ने अवस्था छ । दुघर्टनाको दर बढ्दो छ ।

उनको बुझाइमा नेपालमा कार वा आफ्नै वाहनलाई सम्पन्नताको प्रतीक मान्ने चलन छ, जबकि त्यो गलत हो । गुस्ताव पेट्रोको भनाइ सापटी लिँदै उनले भने, ‘विकसित राष्ट्र त्यो होइन, जहाँ गरिबसँग कार हुन्छ । बल्कि त्यो हो जहाँ धनीहरूले पनि सार्वजनिक सवारी प्रयोग गर्छन् ।’ रुट अध्ययन गरेर पिक आवरमा बढी सवारी चलाउनुपर्ने, सार्वजनिक सवारी तथा सडक व्यवस्थापन गर्नुपर्नेमा सरकार उल्टैआफ्नो दायित्वबाट पन्छिएको उनको भनाइ छ ।

प्रकाशित : जेष्ठ ९, २०७६ ०७:५३
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

दुर्गाले जिते रारा ट्रेल

राजबहादुर शाही

रारा, मुगु — कर्णालीको प्रमुख पर्यटकीय गन्तव्य रारामा आयोजित प्रथम ट्रेल रनको उपाधि जुम्लाका २८ वर्षीय धावक दुर्गाबहादुर बुढाले जितेका छन् ।

मुगुको रारामा बुधबार आयोजित पहिलो रारा ट्रेल रनका प्रतिस्पर्धी दौड्दै । पुरस्कृत भएपछि विजेता खेलाडी । तस्बिर : राजबहादुर/कान्तिपुर

नेपाली सेनाले आयोजना गरेको प्रतियोगितामा दुर्गाले निर्धारित दुरी ५५ मिनेट ३८ सेकेन्डमा पार गरे । उनले १ लाख रुपैयाँ पुरस्कार हात पारे । दुर्गाले आठौं राष्ट्रिय खेलकुदमा स्वर्णसहित तीन पदक जितेका थिए ।

जुम्लाकै २७ वर्षीय धीरबहादुर बुढा दोस्रो भए । उनले ५९ मिनेट १६ सेकेन्डमा पार गरे । ६० मिनेट २० सेकेन्डमा दुरी पार गरी सेनाका नवराज सावत तेस्रो भए । दोस्रोले ६० हजार र तेस्रोले ४० हजार रुपैयाँ पुरस्कार पाए । सेनाका भीम गुरुङले चौथो स्थान हासिल गरी २० हजार र जुम्लाका प्रकाश कठायतले पाँचौं स्थान हासिल गरी १० हजार रुपैयाँ जिते ।

रारा ट्रेल रनको उपाधि जित्ने दुर्गा जुम्लाको कनकासुन्दरी गाउँपालिका–३ का हुन् । भारतीय सेनाको जागिर छाडेर उनी दौडमै होमिएका छन् । १३ वर्षको उमेरदेखि दौडै आएको उनले स्मरण गराए । उनले कर्णाली स्पोर्टस क्लबमार्फत खेल्दै आइरहेका छन् ।
राराको पर्यटन प्रवर्द्धनका लागि प्रतियोगिता गरिएको नेपाली सेनाले जनाएको छ ।

ट्रेल रनमा कर्णाली प्रदेशका विभिन्न जिल्लाका साथै सेना, प्रहरी र सशस्त्र प्रहरीका खेलाडीले सहभागिता जनाएका थिए । श्रीदल गुल्मका अनुसार प्रतियोगितामा १ सय ३० खेलाडी सहभागी थिए । पहिलोपल्ट आयोजित प्रतियोगिता भव्य रूपमा सफल भएको श्रीदल गुल्मका गुल्मपति सेनानी रवि केसीले बताए ।

प्रतियोगिताको उद्घाटन उत्तर–पश्चिम पृतनाका उपरथी सरोजप्रताप राणाले गरेका थिए । दौडलाई प्रत्येक वर्ष निरन्तरता दिँदै जाने राणाले बताए । उनले प्रतियोगितामार्फत राराको पर्यटन प्रर्वद्धनमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे । राराको पर्यटन विकासलाई माथि उठाउन खेल गतिविधि बढाउँदै लैजानुपर्ने प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले बताए ।

प्रकाशित : जेष्ठ ९, २०७६ ०७:५२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT