प्रदूषणले रोगी बढ्दो चेतनामूलक कार्यक्रम आवश्यक

फातिमा बानु

काठमाडौँ — विकासोन्मुख देशमा प्रदूषणको मात्र बढ्नुको कारक खुला निर्माणकार्य र पुराना सवारीको प्रयोगलाई मानिन्छ । यसको अर्थ विकसित मुलुकमा प्रदूषण नै छैन भन्ने चाहिँ होइन । प्रदूषणका लागि मुख्य जिम्मेवार मानिस नै हो । त्यसको असर पनि सबैभन्दा धेरै मान्छेले नै बेहोरेका हुन्छन् । 

प्रदूषणले रोगी बढ्दो चेतनामूलक कार्यक्रम आवश्यक

शनिबार कान्तिपुर हाफ म्याराथनको नवौं संस्करण आयोजना हुँदै छ । हाफ म्याराथनमा यस वर्षको नारा ‘एन्टी पोलुसन रन’ हो । राजधानी उपत्यकाका प्रदूषणको मात्रा उच्च विन्दूमा पुग्नुमा पुराना सवारी र निर्माण कार्य नै जिम्मेवार छन् । यो निष्कर्ष वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाको हो ।


डिजेलबाट चल्ने कारखाना । डिजेलबाटै प्रयोग हुने जेनेरेटर र २० वर्ष पुराना सवारीको प्रयोग घटाउन सकेमा प्रदूषणका कारण लाग्ने रोगबाट धेरैलाई बचाउन सकिने उनको भनाइ छ । डा. कोइराला भन्छन्, ‘क्रसर र सिसा उद्योग पनि खुल्लै चलिरहेका छन् । यस्ता उद्योग वस्तीबाट टाढा बनाउन आवश्यक छ । प्रदूषण घटाउन डिजेलबाट चल्ने कारखाना विद्युतीय बनाउन जरुरी छ ।’ सरकारले नीति बनाएरै वातावरण प्रदूषण घटाउन पहल गर्नुपर्ने उनले सुझाए ।


डा. कोइरालाले खेलकुद प्रतियोगिताबाट प्रदूषण नियन्त्रण अभियान सञ्चालन भएकोमा खुसी व्यक्त गरे । ‘वातावरण प्रदूषण घटाउन चेतना दिने खालका सार्वजनिक कार्यक्रम त्यति हुने गरेका छैनन्, जति आवश्यक छ । म्याराथनजस्ता खेलकुद प्रतियोगिता, र्‍यालीहरूले यसको नियन्त्रणका लागि नागरिकलाई जिम्मेवार बनाउँछ,’ कोइरालाले भने ।


उनले सरकारले नै यस्तो अभियान सुरु गर्नुपर्ने पनि बताए । ‘सरकारले जनतालाई जनताले सरकारलाई जिम्मेवार बनाउन यस्ता अभियान अत्यावश्यक छन् । हामी मुटुरोग विशेषज्ञले पनि बीचमा यस्ता अभियान चलाएका थियौं तर निरन्तर हुन सकेन,’ उनले थपे ।


महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालका छातीरोग विशेषज्ञ डा. नीरज बमले तारे होटलका सेमिनारमा सीमित प्रदूषण नियन्त्रण अभियान आमनागरिकबीच खेलकुद कार्यक्रममार्फत हुन लागेकोमा प्रभावकारी हुने बताए । स्वच्छ वातावरण र मानव स्वास्थ्यबीच गहिरो सम्बन्ध छ । यी दुईको सम्बन्ध सन्तुलित बनाउन नसक्दा मानव स्वास्थ्य नै जोखिममा परिरहेको छ । यसबारे जनचेतनामूलक कार्यक्रम निकै कम छ,’ डा. बमले भने, ‘प्रदूषण नियन्क्रणका लागि होटल केन्द्रित कार्यत्रमभन्दा म्याराथनजस्ता खुला कार्यक्रमले ठूलो भूमिका खेल्छन् ।’


प्रदूषणकै कारण मुटु र फोक्सोको बिरामी काठमाडौंमा बढेका छन् । वायु, जल, ध्वनि प्रदूषणबाट हुने दीर्घकालीन असरबारे सर्वसाधारण जानकार भएनन् वा भएर पनि चासो दिएका छैनन् । तर प्रदूषण बढिरहेको छ, त्यसको असर देखिन थालेको छ ।


डा. कोइरालाका अनुसार वातावरण प्रदूषणका कारण मुटु, क्यान्सर र फोक्सो संक्रमणसम्बन्धी नसर्ने रोगका बिरामी बढ्दै गइरहेका छन् । ‘मुटु रोगको प्रमुख कारण नै प्रदूषण हो । प्रदूषित वातावरणमा भएका हानिकारक कणहरूले रक्तनली बन्द गराइदिन्छ जसले स्ट्रोक र हृदयघात हुन्छ,’ उनले भने ।


पुराना सवारी साधनको धूवाँ, धूमपान, खाना पकाउँदा निस्कने धूवाँ र कलकारखानाबाट बाहिरिने धूवाँका कारण प्रदूषित वातावरणले मुटु र क्यान्सरका बिरामी बढाइरहेको छ । धूवाँमा मिसिएका नाइट्रोजनअक्साइड, कार्बोनमोनोअक्साइड र सल्फरअक्साइड विषाक्त रसायन श्वास नली हुँदै फोक्सो र मुटुमा पुग्छ । मुटुबाट रक्तनली हुँदै शरीरका विभिन्न भागमा पुगेर स्नायूसम्बन्धी र मानसिक रोगसमेत निम्त्याउँछ । यतिमात्रै होइन, यस्ता रसायनले श्वासप्रश्वाससम्बन्धी संक्रमण, आँखा र छालाको एलर्जी गराइदिन्छ ।


डा. बमले पनि प्रदूषणको असरका रूपमा अस्पतालमा त्यससम्बन्धी बिरामी बढेको अनुभव सुनाए । विशाक्त कीटाणु मानव शरीरमा पसेपछि स्वस्थ व्यक्तिमा तत्काल कुनै असर नदेखिए पनि दीर्घकालीन रूपमा रोगी बनाउँछ । यस्तो हावामा फेरिने प्रत्येक श्वास जोखिमयुक्त हुन्छ । सामान्य मास्क (सर्जिकल मास्क) लगाएर पनि छेकिँदैन । उनी भन्छन्, ‘अहिले श्वासप्रश्वास रोगका कारण मृत्युदर बढ्दो छ । धुमपान गर्ने व्यक्तिमा मात्रै देखिने यस्ता समस्या धुमपान नगरेकामा पनि देखिन थालेको छ ।’


डा. बमले हावामा मिसिएका सिलिका, कार्बन र लिड जस्ता हानिकारक कण श्वासनली हुँदै शरीरका विभिन्न भित्री अंगमा पुगेर दम, निमोनिया, क्षयरोग, पक्षघात र क्यान्सरसमेत गराइदिने बताए । विशेषगरी कलकारखानाका मजदुर, सडक व्यापारी, इँटाभट्टाका मजदुर, बालबालिका, गर्भवती महिला र दीर्घरोगी वातावरण प्रदूषणको मारमा परिरहेका छन् ।


विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमै ६० प्रतिशत मृत्युको कारण नसर्ने रोग हो । नसर्ने रोग बढ्नुमा वातावरण प्रदूषणलाई मुख्य कारण मानिएको छ । नसर्ने रोगबाट मृत्यु हुनेमा २२ प्रतिशत मुटुरोग, १३ प्रतिशत श्वासप्रश्वासको संक्रमण, ८ प्रतिशत क्यान्सर र २२ प्रतिशत समयअगावै जन्मिने (नौ महिनाअगावै) शिशु र १४ प्रतिशत अन्य नसर्ने रोग भएको संगठनको तथ्यांक छ ।


विश्व बैंकले सन् २०१८ मा नेपालमा गरेको अध्ययनअनुसार मृत्युका धेरै कारणमध्ये वायु प्रदूषण चौथो हो । हरेक १० मध्ये एकजनाले वायु प्रदूषणले निम्त्याएको रोगका कारण ज्यान गुमाइरहेका छन् ।

प्रकाशित : जेष्ठ १०, २०७६ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?