साउथ साइडर्स र ग्रेटमाया भिड्ने

नुमा थाम्सुहाङ

काठमाडौँ — तेस्रो यू–१६ मेन्स राष्ट्रिय बास्केटबल च्याम्पियनसिपमा साउथ साइडर्स र द ग्रेटमाया फाइनल पुगेका छन् । प्राइम कलेजको कोर्टमा बिहीबार सम्पन्न सेमिफाइनलमा साउथ साइडर्सले पिपुल्सलाई ६५–५४ स्कोरले पराजित गरेको छ । साउथलाई फाइनलमा पुर्‍याउन सिजन महतोले १८ स्कोर बटुलेका थिए । 

साउथ साइडर्स र ग्रेटमाया भिड्ने

पहिलो क्वाटरमा साउथले १६–१३ स्कोरको अग्रता लिएको थियो । त्यसपछि दोस्रोमा निरन्तरता दिँदै २३–१७ ले क्वाटर आफ्नो पक्षमा पारेको साउथले तेस्रो क्वाटरमा भने ८–१३ ले पछि पर्‍यो । यद्यपि समग्रमा अगाडि रहेको उसले चौथोमा १८–११ स्कोर थप्दै खेल टुंग्याएको थियो ।


अर्को खेलमा ग्रेटमायाले कीर्तिपुर बास्केटबल एकेडेमीलाई ४७–३५ स्कोरले हराएको थियो । ग्रेटमायाका लागि जाङ्बु शेर्पाको १४ स्कोर गरे । पहिलो क्वाटरमा दुवैको कडा टक्कर थियो । कीर्तिपुरले १४–१३ को साँघुरो अन्तरले अग्रता बनाएको हो । त्यसपछि ग्रेटमायाले दोस्रो क्वाटरमा ८–४ स्कोर जोड्यो ।


तेस्रोमा उत्कृष्ट प्रदर्शन गर्दै गेटमायाले १७ स्कोर थप्दा कीर्तिपुरबाट ७ स्कोरमात्र भएको थियो । अन्तिम क्वाटरमा कीर्तिपुरले कडा टक्कर दिए पनि खेल आफ्नो पक्षमा पार्न सकेन । कीर्तिपुरले १०–९ ले चौथो क्वाटर टुंग्याएको थियो ।


शुक्रबार फाइनल हुनेछ । बलियो टोली मानिएका साउथ साइडर्स र ग्रेटमाया पहिलोपल्ट फाइनल खेल्दै छन् । अहिलेसम्म राम्रो प्रदर्शन गर्न सकेकाले उपाधि जित्ने साइर्डसका प्रशिक्षक रविन गौतमको दाबी छ । उनले भने, ‘मेरा खेलाडीहरू उपाधि जित्न एकदम तयार छन् ।’


अर्का दाबेदार ग्रेटमायाका प्रशिक्षक जसमान तामाङ पनि आफ्नो टोलीले राम्रो खेलिरहेको बताउँछन् । उनले भने, ‘खेलमा हारजित त भइहाल्छ । हार्छु भनेर कसैले पनि खेल्दैन । सक्दो राम्रो प्रस्तुति दिन्छौं । त्यसका लागि मेरा खेलाडी सक्षम छन् ।’ समान ५ खेल खेलिसकेकाले आफ्ना खेलाडीले राम्रो प्रदर्शन गर्नेमा दुवै टोलीका प्रशिक्षक विश्वस्त छन् ।


(प्रशिक्षार्थी)

प्रकाशित : जेष्ठ १०, २०७६ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?