कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

कान्तिपुर हाफ म्याराथन : ३५ सयको सहभागिता निश्चित

काठमाडौँ — कान्तिपुर हाफ म्याराथनको नवौं संस्करण शनिबार आयोजना हुँदै छ । 'एन्टी पोलुसन रन' को नारा दिइएको यस संस्करणमा करिब ३ हजार ५ सयले सहभागिता निश्चित गरेका छन् । यो अहिलेसम्मकै सर्वाधिक सहभागिता हो । 

कान्तिपुर हाफ म्याराथन : ३५ सयको सहभागिता निश्चित

वैशाख २२ देखि जेठ ९ सम्मको नाम दर्ता समयमा हाफ म्याराथन महिला र पुरुष, ५ किलोमिटर कर्पोरेट दौड र हि्वलचियर दौड गरी ३ विधामा ३ हजार ४ सय ७५ जनाले सहभागिता निश्चित गरेका छन् । हाफ म्याराथनमा मात्र १ हजार २ सय ७० जनाको सहभागिता रहनेछ ।


५ किमि कर्पोरेट र मिडिया दौडमा पुरुषतर्फ १ हजार ४ सय र महिलातर्फ ८ सय १५ जनाले फारम भरेका छन् । हि्वलचियर दौडतर्फ २० जनाको सहभागिता निश्चित भएको छ । थापाथलीस्थित कान्तिपुर पब्लिकेशन्स हाताबाट शनिबार बिहान ७ देखि सुरु हुने दौडको उद्घाटन राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खडाले गर्नेछन् । अघिल्लो संस्करणमा २ हजार ५ सय ६० जनाले सहभागिता जनाएका थिए ।


हाफ म्याराथन थापाथलीबाट सुरु भई माइतीघर, नयाँ बानेश्वर, तीनकुने, कोटेश्वर, कौशलटार, थिमि, सल्लाघारी चोकबाट फर्किएर सोही रुट थापाथली आएर सम्पन्न हुनेछ । ५ किलोमिटरको कर्पोरेट दौड थापाथलीबाट सुरु भई माइतीघर, नयाँ बानेश्वर, सिभिल अस्पताल अगाडिबाट फर्किएर सोही रुट थापाथली आएपछि सकिनेछ । हि्वलचियर दौड भने थापाथलीबाट माइतीघर मण्डला परिक्रमा गरी पुनः थापाथली आएपछि सम्पन्न हुनेछ ।


हाफ म्याराथनको आठवर्षे इतिहासमा महिलातर्फ एपीएफकी कान्छीमाया कोजु र पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका हरिकुमार रिमाल सबैभन्दा सफल खेलाडी हुन् । दुवै आआफ्नो विधाका साबिक विजेता हुन् । कान्छीमायाले पाँचपल्ट र हरिले चारपल्ट उपाधि जितिसकेका छन् । यस संस्करणमा कान्छीले तयारी नगरेको भन्दै सहभागिता जनाएकी छैनन् । यसअघिका दुवै संस्करणका च्याम्पियन हरिका लागि भने यसपल्ट ह्याटि्रकको अवसर छ ।


हाफ म्याराथनको महिला र पुरुष दुवैका विजेताले १-१ थान हिरो डुएट स्कुटर र ५०-५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । दुवै विधामा दोस्रोदेखि छैटौंसम्मका विजेताले क्रमशः ३० हजार, २० हजार, १० हजार, ५ हजार र ३ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।


हि्वलचियरतर्फ दौडका विजेता (महिला र पुरुष) ले २० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । दोस्रो र तेस्रो हुनेले क्रमशः १० र ५ हजार पुरस्कार पाउने छन् । कर्पोरेट दौडतर्फ भने भ्रमण प्याकेज पुरस्कार व्यवस्था गरिएको छ । उपाधि विजेता (महिला र पुरुष) ले ३ रात ४ दिनको थाइल्यान्ड भ्रमण, दोस्रो हुनेले २ रात ३ दिनको पोखरा भ्रमण र तेस्रो हुनेले माउन्टेन फ्लाइटको टिकट पुरस्कारस्वरुप पाउने छन् ।


हाफ म्याराथनमा गत संस्करण हरिकुमारले १ घण्टा ९ मिनेट ०२ सेकेण्डमा दूरी पूरा गरी उपाधि जितेका थिए । होमलाल श्रेष्ठ र गजेन्द्र राई क्रमशः दोस्रो र तेस्रो भएका थिए । महिलातर्फ कान्छीमायाले १ घण्टा २१ मिनेट २८ सेकेण्डमा दूरी पूरा गरी उपाधि जित्दा सन्तोषी श्रेष्ठ र वृन्दा श्रेष्ठ क्रमशः दोस्रो र तेस्रो भएका थिए । हि्वलचियरतर्फ पुरुषमा आर्मीका रामबहादुर तामाङ र महिलामा यामी झाँक्री तामाङ विजेता बनेका थिए । कर्पोरेटनर्फ पुरुषमा अजय तामाङ र महिलामा लादेन प्रधानले उपाधि जितेका थिए ।


प्रकाशित : जेष्ठ १०, २०७६ २२:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?