तेहरो उपलब्धिको त्यो सिजन

हिमेशरत्न वज्राचार्य

काठमाडौँ — विश्वकै सर्वाधिक लोकप्रिय क्लब हो, म्यानचेस्टर युनाइटेड । भलै केही समययता म्यानचेस्टरको खेल राम्रो हुन सकेको छैन मैदानमा । त्यसले समर्थकको मायालाई पक्कै कम गर्ने छैन । एकपल्ट एउटा कुनै क्लब मन परेपछि समर्थकको व्यवहार त्यस्तै हुने गर्छ ।

नेपालमा कुनै एक क्लबका सबैभन्दा बढी समर्थक छन् भने त्यो म्यानचेस्टरकै हुनुपर्छ । यो आधिकारिक दाबी होइन, तर अनुभव र संगतले भन्ने गर्छ, नेपालमा म्यानचेस्टरका ‘डाइहार्ट’ धेरै छन् ।

यसको एउटा स्पष्ट कारण पनि । सन् १९८६ को विश्वकप नेपालमा टेलिभिजनबाट सबैमाझ पुगेको पहिलो थियो । त्यो विश्वकप म्याराडोनाको अर्जेन्टिनाले जितेको थियो । त्यसैले हाम्रोमा म्याराडोना र अर्जेन्टिनी समर्थक धेरै छन् । त्यसको एक दशकभन्दा केही बढी समयपछि नेपालीमाझ टेलिभिजनसम्मको पहुँच सजिलो भइसकेको थियो ।

सन् १९९९ मा यस्तै एउटा ठूलो फुटबलको उपलब्धि कोरिएको थियो । त्यसको पनि नेपाल फुटबलप्रेमीमाझ गहिरो प्रभाव रह्यो ।

त्यो सिजन म्यानचेस्टरले विश्व फुटबल इतिहासमै अद्वितीय सफलता हात पारेको थियो । त्यो थियो तेहेरो उपाधिको उपलब्धि । म्यानचेस्टरले त्यो सिजन इंग्लिस प्रिमियर लिग जित्यो । एफए कप अनि युरोपेली च्याम्पियन्स लिग पनि जित्यो ।

इंग्लिस फुटबल इतिहासमै एकै सिजन यी तीन ठूला उपाधि जितेको यो नै पहिलो थियो । अहिलेसम्म यसलाई कसैले बराबरी वा उछिन्न सकेको छैन । त्यस्तो हुन्न पनि होला । त्यस्तो विशेषछ यो ।

म्यानचेस्टरले सर एलेक्स फर्गुसनको नेतृत्वमा यसरी के तीन उपाधि जित्यो, त्यसका समर्थक पूरा विश्वमा अविश्वसनीय ढंगले बढ्यो । नेपाली फुटबलप्रेमीमाझ त्यसको प्रभाव पर्नु नै थियो । फर्गुसनले छाड्नु अघिसम्म पनि म्यानचेस्टर गज्जबको टिम थियो । टिमले जितिरहेको मात्र थिएन, राम्रो पनि खेलिरहेको थियो । यस्तोमा यसका समर्थक झन बढी हुन थाले । नेपालमा यो क्लबका समर्थक खुबै सक्रिय पनि छन् । उनीहरूको आफ्नै छुट्टै संगठित समूह नै छ ।

म्यानचेस्टरले खेल्ने बेला उनीहरू जब ठूलो स्क्रिन अगाडि हुन्छन् । त्यति बेला सुनिने आवाज ओल्ड ट्राफोर्डको झझल्को दिने खालको छ । अहिले सबै यो चर्चा किनभन्दा म्यानचेस्टरले आत्मसात् गरेको त्यो अद्वितीय सफलताको आइतबार २० वर्ष पूरा हुँदै छ ।

सन् १९९९ मे २६ । म्यानचेस्टर समर्थकले त्यो दिनलाई आखिरमा कसरी भुल्न सक्छन् र ? क्लब आफैंले पनि त्यसलाई भुलेको छैन । त्यसै दिनको सम्झनामा म्यानचेस्टर र बायर्न म्युनिखबीच मैत्रीपूर्ण खेल हुँदै छ ।

क्लबले तय गरेको त्यो तीन उपाधिको यात्रा वास्तवमै पटक्कै सजिलो भने थिएन । अझ भनौं निकै कठिन थियो । यसक्रममा त्यस्ता धेरै मोड आए, जहाँ धेरैले अनुभव गरेका थिए, सायद म्यानचेस्टरले केही पनि जित्ने छैन ।

जस्तो, म्यानचेस्टरले केही पनि जित्नु अगाडि एफए कप सेमिफाइनलमा म्यानचेस्टरको प्रतिद्वन्द्वी थियो, आर्सनल । म्यानचेस्टरलाई त्यति बेला बलियो चुनौती पेस गर्ने एकमात्र टिम आर्सनल नै थियो । त्यो फर्गुसन भर्सेस आर्सन वेंगरको प्रतिद्वन्द्विता पनि थियो ।

भिल्लापार्कमा भएको त्यस खेलमा म्यानचेस्टर अन्त्यतिर १० खेलाडीमा समेटिएको थियो । टिमले कप्तान रोय किन गुमाइसकेको थियो । इन्ज्युरी समयमा आर्सनलले पेनाल्टी पाएपछि त टिमको स्थिति अझ नाजुक भइसकेको थियो । पेनाल्टी हान्ने जिम्मा पाए, डच लेजेन्ड डेनिस बर्गक्याम्पले । आर्सनलका लागि बर्गक्याम्पले यसअघि ६ पेनाल्टी प्रहार गरेका थिए, त्यसमध्ये सबै गोलमा परिणत भएको थियो । उनले बल बायाँ कुना च्यापेर प्रहार गरे ।

त्यसको सही अनुमान लगाउँदै पिटर्स माइकलले डाइभ दिए र गोल हुन दिएनन् । लगत्तै रायन गिग्सले म्यानचेस्टरलाई गोल गरे । त्यसलाई अझै पनि भनिन्छ, एफए कप इतिहासकै सबैभन्दा उत्कृष्ट गोल ।

मैदानको मध्यभाग भन्दा पछाडिबाट, ७० यार्ड हुनुपर्छ, गिग्सले बल एक्लै अगाडि लगे र आर्सनलका केही खेलाडी छलाएर अविश्वसनीय गोल गरे । त्यो गोलले एकातर्फ म्यानचेस्टर समर्थकमाझ अपार खुसी छाएको थियो भने आसर्नल समर्थक स्वाभाविक रूपमा स्तब्ध ।

गिग्सले मनाएको गोलको खुसी पनि आफैंमा अनुपम थियो । फाइनलमा म्यानचेस्टरले न्युकासल युनाइटेडलाई वेम्बलीमा सजिलै हरायो, २–० ले । सुरुमा मिडल्सब्रोलाई हराएको म्यानचेस्टरले चौथो चरणमा लिभरपुलको चुनौती काटेको थियो ।

त्यस खेललाई अझै पनि दुई टिमबीचको सबैभन्दा उत्कृष्ट मानिन्छ । सेमिफाइनलअगाडि म्यानचेस्टरले फुलहम र चेल्सीलाई पन्छाएको थियो । एफए कप जितेपछि लिग पनि जित्यो । कप पनि जित्यो र त्यसलाई भनिन्छ इंग्लिस डबल्स ।

त्यो सिजन लिग जित्नेक्रममा म्यानचेस्टरले तीन खेलमात्र गुमाएको थियो, आसर्नलविरुद्ध हाइबुरीमा । सेफिल्ड युनाइटेडविरुद्ध उसकै घरमा अनि मिडल्सब्रोविरुद्ध आफ्नो घरमा । मिडल्सब्रोविरुद्धको खेल गुमाएको डिसेम्बरयता म्यानचेस्टरले कुनै खेल गुमाएन । यसैक्रममा म्यानचेस्टरले नटिघङम फरेस्टविरुद्ध ८–१ को जित पनि निकाल्यो । त्यसमा अहिलेका व्यवस्थापक ओले गनर सोल्सायरले ४ गोल गरे । त्यो पनि वैकल्पिक खेलाडीको रूपमा मैदानमा छिरेको १२ मिनेटभित्र ।

लिगको अन्त्यमा अंकतालिकालाई हेर्नुपर्छ, म्यानचेस्टरको यो यात्रा पक्कै सजिलो भने थिएन । म्यानचेस्टरले दोस्रो स्थानमा रहेको आर्सनलमाथि खाली एक अंकको मात्र निर्णायक अग्रता लिन सकेको थियो । अन्तिम दिन आर्सनललाई उछिन्न म्यानचेस्टरले टोटेनहमलाई हराउनुपर्ने थियो । सुरुमा टोटेनहमले अग्रता लिएपछि त एकछिन धेरैलाई लागेको थियो । सायद लिगको उपाधि म्यानचेस्टरको होइन तर खेल अन्त्यमा २–१ ले टुंगियो जितसँगै ।

च्याम्पियन्स लिगमा म्यानचेस्टरले तय गरेको यात्रा अझ रोमाञ्चित खालको छ । समूह चरणमा म्यानचेस्टरको प्रतिद्वन्द्वी थिए, बार्सिलोना र बायर्न म्युनिख । त्यसमा बार्सिलोना तेस्रो स्थानमा रह्यो । शीर्ष दुईमा रहे बायर्नपछि म्यानचेस्टर । यही बायर्नसँग आखिरमा म्यानचेस्टरले फाइनल खेल्यो । यसअघि म्यानचेस्टरले इन्टर मिलान र युभेन्ट्सको पन्छाएको थियो । फेरि फाइनल भएको थियो, बार्सिलोनाको घरेलु मैदान नोउ क्याम्पमा ।

त्यस रातको खेलमा के भयो, धेरै लेखिएका छन् । तर यो क्रम रोकिने भने छैन । बायर्नले मारियो बास्लरको गोलले अग्रता लिएको थियो छैटौं मिनेटमा । बायर्नले लिएको त्यो अग्रता निर्धारित ९० मिनेटसम्म पनि कायम थियो ।

फेरि एकपल्ट सबैलाई लागिसकेको थियो, अब म्यानचेस्टरको पालो हो निराश हुने । तर होइन म्यानचेस्टरका लागि इन्ज्युरी समयको पहिलो मिनेटमा टेडी सेरिङघमले गोल गरे अनि तेस्रो मिनेटमा त्यो प्रसिद्ध विजयी गोल गर्ने खेलाडी थिए, तिनै सोल्सायर ।

विश्व खेलकुद इतिहासमै म्यानचेस्टरले हात पारेको त्यो सफलतालाई दुर्लभ मानिन्छ । यो आफैंमा कोसेढुंगा भयो नै । अन्त्यमा त्यो सिजनको म्यानचेस्टरका लागि खेल्ने प्रमुख खेलाडीको नाम सम्झौं त, रोय किन, पिटर्स माइकल, ग्यारी नेभिल, याप स्टाम, रायन गिग्स, डेविड बेकह्याम, पाउल स्कोल्स, निकी बट, डाइट योर्क, एन्डी कोल, टेडी सेरिङघम, फिल नेभिल अनि ओले गनर सोल्सायर आदि । व्यवस्थापक उनै सर एलेक्स फर्गुसन । क्या टिम थियो त्यो । त्यो सिजन म्यानचेस्टरले छाडेको छापको ‘लेगेसी’ वास्तवमै ऐतिहासिक छ ।

प्रकाशित : जेष्ठ ११, २०७६ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्

नमन नविता

आठौंपल्ट राष्ट्रिय च्याम्पियन भएपछि नविता श्रेष्ठ अझ केही ठूलो योजना बुनिरहेकी छन् । नेपालमै हुने १३ औं दक्षिण एसियाली खेलकुदमा केही ठूलो गर्ने सोच्दै छिन् । त्यो भनेको राम्रो खेल्ने र माथिल्लो पदक जित्ने नै हो ।
हिमेशरत्न वज्राचार्य

काठमाडौं — यस्तो हुनसक्छ र ? नविता श्रेष्ठकै भनाइमा यस्तो भएको थिएन  । गुवाहाटीमा सम्पन्न पछिल्लो दक्षिण एसियाली खेलकुद (साग) मा टेबलटेनिसको वुमेन्स डबल्सबाट एक कांस्य पदक आएको थियो  ।

नविताको जोडीमा थिइन् एलिना महर्जन । एलिना नातामा नविताको नन्द पर्छिन् । पदक जितेको त्यस यात्रामा कसैले पनि उनीहरूबीच कुराकानी भएकोसम्म सुनेनन् । यो कथा हो, नेपाली टेबलटेनिसको । कथाकी नायिका हुन् नविता ।


नवितालाई माया गर्ने पनि होलान् । त्यो भन्दा बढी त उनलाई माया नगर्ने नै होला । नविता कहिले हार्छिन् र खुसी मनाउँछु भनेर पर्खिरहेकाहरू पनि कम छैनन्, नेपाली टेबलटेनिसमा । एउटा सत्यता के हो भने उनको चर्चाबिना यो क्षेत्र अपुरो हुन्छ । नवितालाई वास्ता नगरौं भन्न सकिने छैन । उनी हुन्, नेपाली टेबलटेनिसकै सर्वाधिक सफल खेलाडी । नेपालमा यो खेलकै सर्वकालीन सफल खेलाडीभन्दा पनि हुन्छ ।


यस्तो नहुँदो हो त उनले हालै सकिएको आठौं राष्ट्रिय खेलकुदमा चार स्वर्ण जित्ने थिइनन् । त्यो भन्दा ठूलो त के हो भने उनले महिला एकलमा जितेको स्वर्णसँगै यी २७ वर्षीया खेलाडी लगातार आठौंपल्ट च्याम्पियन भइन् । उनको यो च्याम्पियन बन्ने यात्रा ०६७ मा सुरु भएको हो । यो क्रम जारी छ । यसबीच उनले जम्मा–जम्मी एकै खेलमात्र गुमाइन् । त्यो थियो तिनै एलिनाविरुद्ध । त्यो खेलअघि नविताले खासै अभ्यास गरेकी थिइनन् ।


त्यति बेला उनको मन टेबलटेनिसबाट केही समयका लागि बरालिएको थियो । नत्र उनी यस्तो खाले खेलाडी होइनन् । कुनै पनि खेलमा कोही खेलाडीको यति धेरै प्रभुत्व चल्नुमा भाग्यको मात्र खेल हुन्न । पेन–होल्ड शैलीमा खेल्ने नविताको खेल नै यस्तो छ । उनका अगाडि नेपाली टेबलटेनिसमा अरू खासै टिक्न सक्दैनन् । उनको सबैभन्दा बलियो पक्ष हो पावर गेम । सायद अभ्यासका बेला एलिना वा अरू केही खेलाडी उनको नजिक हुन सक्छन् । तर प्रतियोगितामै त उनको छेउछाउ पुग्न पनि गाह्रो छ ।


अब अर्को प्रश्न यस्तो कसरी भयो त ? नविताकै भनाइ सापटी लिने हो भने यसपछाडि खास–खास कारण छन् । जस्तो, खेलप्रति उनको लगनशीलता, समर्पित भावना अनि त्यसलाई सुहाउँदो योजना । उनी यी तीनै क्षेत्रमा कहिल्यै पनि बढी मिहिनेत गर्न कन्ज्युस्याँइ गर्दिनन् । टेबलटेनिसमा उनको मन जहिल्यै पनि एकचित्त हुन्छ । त्यही एकपल्ट मन बहकिएको थियो । अब हुन्न । उनी आठौंपल्ट राष्ट्रिय च्याम्पियन भएपछि अझ केही ठूलो योजना बुनिरहेकी छन् ।


यो भनेको नेपालमै हुने १३ औं दक्षिण एसियाली खेलकुदमा केही ठूलो गर्ने हो। अझ राम्रो खेल्ने र माथिल्लो पदक जित्ने उनको योजना छ। उनको यस्तै स्वभावकै कारण उनी भारत छाडेर अरू देशका खेलाडीलाई हराउन सक्ने क्षमताकी भएकी छन् । अबको लक्ष्य भारतीय खेलाडी नै हो । ढिलो चाँडो उनलाई पनि यो खेलबाट टाढा हुनैपर्छ । त्यसअघि नै नेपालका लागि टेबलटेनिसबाट कुनै राम्रो सफलता भित्र्याउन चाहन्छिन् उनी ।

टेबल टेनिस नै सबथोक
नविता टेबलटेनिसलाई आफ्नो जीवनको सबैभन्दा महत्त्व पक्ष मान्छिन् । जो बिना उनको जीवन अधुरो हुनेछ । ‘टेबलटेनिसबिना त म आफ्नो जीवन नै कल्पना गर्न सक्दिनँ,’ नविता भन्छिन् । केही दिनमात्र भयो, उनलाई भैंसेपाटीस्थित एक रेस्टुरेन्टमा भेटेको । सधैं जस्तै सँगै थिए, श्रीमान राकेश महर्जन । आफ्नो जीवनमा टेबलटेनिसको महत्त्वबारे बोल्न खोज्दा लाग्थ्यो, नविताका लागि श्रीमानभन्दा पनि खेल नै ठूलो हो ।


के यस्तो पनि हुनसक्छ र ? यही प्रश्नमा राकेशको सायद केही उत्तर हुने छैन । उनको उत्तर हाँसो मात्र हुनसक्छ, त्यो पनि मन्द–मन्द । एउटा तथ्य के पनि हो भने राकेश नहुँदो हो त अहिलेकी नविता हुने थिइनन् । राकेश उनको पहिलो प्रशिक्षक हो । नविताले टेबलटेनिसको कखरा उनैबाट सिकेकी हुन् । पछि यी प्रशिक्षकको तिनै आफ्नी चेलीमाथि माया बस्यो । ९ वर्ष प्रेमसम्बन्ध रह्यो । अहिले विवाहको रूप लिएको ६ वर्ष भइसक्यो ।


परिवारमा ५ दिदीबहिनीमध्ये केही हदसम्म ‘टमब्वाइ’ पाराकी हुन् नविता । विजेश्वरी माविमा पढथन् । त्यसै स्कुलका टेबलटेनिस प्रशिक्षक थिए राकेश । राकेशको परिवार पनि आफैं टेबलटेनिसमय छ । राकेश पनि औसतका खेलाडी । उनका तीन बहिनी छन् । सबै टेबलटेनिस खेल्छन् । त्यसमध्ये माहिली बहिनी हुन् एलिना । व्यावसायिक खेलाडीका रूपमा नविता र एलिनाको बोलचाल नै छैनभन्दा हुन्छ । यो सम्बन्ध टेबलटेनिसको बोर्डमा पुग्दा अझ गहिरिने गर्छ ।


यसको एउटा राम्रो अर्को उदाहरण छ । कुनै खास प्रतियोगिताको खेलमा नविताले एउटा गेम एलिनाविरुद्ध शून्यकै स्थितिमा जित्न लागेकी थिइन् । त्यसैले जानाजान एक अंक छाडिदिइन् एलिनाका लागि । एलिना पनि के कम र ? निर्णायक मोडमा उनले पनि जानाजान नै अंक छाडिन् । त्यो खेल चलिरहँदा जहाँ एलिनाले प्रत्येक अंक जित्दा लैनचौरको कभर्डहलमा ताली बज्थ्यो । त्यहीं नविताले अंक जोडा खुसी हुने एउटै हुन्थे, त्यो भनेको उनकै शिष्य स्यान्टु श्रेष्ठ ।


त्यति बेला सबैभन्दा तनावमा देखिन्थे तिनै राकेश । आखिरमा उनले आफ्नी श्रीमतीको समर्थन गर्ने कि बहिनीको ? यस्तो महसुस हुन्छ । उनी प्रायः परिवारको टेबलटेनिस युद्धमा पेलिने एक्ला पात्र हुन् । उनलाई गाह्रो छ वास्तवमै । उनले रोजेकै बाटो हो यो । सायद राकेश यसमा खुसी छन् । उनकै यही समर्पणले आखिरमा नेपाली टेबलटेनिसले एक अद्वितीय च्याम्पियन खेलाडी पाएको छ, नविताको रूपमा । त्यसैले भन्न कर लाग्छ, सफल महिलाका पछाडि उनका श्रीमान पनि हुन्छन् ।


नन्दभाउजुको यो सम्बन्ध पनि आफैंमा कतै नपाइने खाले छ । उनीहरू यो सम्बन्ध पारिवारिकतामा मात्र पनि सीमित छैन । एउटा नेपालकै महिला नम्बर एक टेबलटेनिस खेलाडी हो भने एलिना उसलाई चुनौती दिनसक्ने खास प्रतिद्वन्द्वी । नम्बर २ खेलाडीभन्दा पनि हुन्छ । तर अरूले देखे जस्तो नविता र एलिनाबीचको सम्बन्धमा चिसोपन मात्र छैन । नविता भन्छिन्, ‘जीवनको कुनै मोडमा एलिनालाई सबैभन्दा बढी सहयोग र माया चाहिने बेला उनको नजिक म नै रहनेछु ।’

उनको एटिच्युड
पुलिसकी नवितालाई साह्रै घमण्डी खेलाडी हो भन्ने पनि कम छैनन् नेपाली टेबलटेनिसमा । एटिच्युड बोक्ने खेलाडीका रूपमा लिइन्छ उनलाई । एलिनासँग मात्र होइन, नविताको अरू खेलाडीसँग पनि खासै घुलमिल छैन । अझ भनौं, उनी खासै लोकप्रिय छैनन्, टेबलटेनिस वृत्तमा । खास के हो भने यही एटिच्युडले उनलाई नेपाली टेबलटेनिसको नम्बर १ खेलाडी बनाएको हो । ‘च्याम्पियन हुनु छ भने यत्तिको हुनैपर्छ, यत्तिको एटिच्युड बोक्नैपर्छ,’ उनी हाकाहाकी भन्छिन् पनि ।


लगातार आठ पटक च्याम्पियन हुने क्रममा उनले आफ्नो जीवनलाई एउटा ढाँचामा ढालेकी छन् । जसमा लगातार योजना र परिश्रम त छ नै । त्यत्तिकै उनको त्यो पारा पनि छ । यसमा उनी आफूलाई अरू खेलाडीभन्दा फरक राख्छिन् । उनी आफ्नो खेल अझ कसरी परिस्कृत पार्ने हो भनेर अधिकांस समय सोचिरहन्छिन् । उनी ससाना कुरामा पनि ध्यान दिन्छिन् । जस्तै, कति बेला के खाने, कसका अगाडि कसरी खाने, अनि कुन बेला कस्तो लुगा लगाउने ।


उनलाई अरूले के भन्छन् त्यो मतलब छैन । बरू उनी भन्छिन्, ‘कसैलाई सफल खेलाडी बन्नु छ भने यस्तो एटिच्युड बनाए हुन्छ, केही फरक पर्दैन ।’ उनको यो पारा विकास हुनुपछाडि शिक्षाले पनि काम गरेको छ कि ? उनको शैक्षिक योग्यता स्नातकोत्तर छ । भन्छिन्, ‘राम्रो खेलाडी हुनु छ भने पढाइ पनि राम्रो गर्नुपर्छ । राम्रो खेल र राम्रो पढाइले खेलाडीको जीवन सजिलो मात्र होइन कि शिक्षाले कुनै मोडमा खेलाडीलाई सहयोग गरिरहेकै हुन्छ ।’


कसैले चित्त नबुझेको कुरा गर्‍यो भने त्यसलाई गलत साबित गर्न त्यसकै पछाडि लाग्ने बानी पनि छ उनको । जस्तो, नविता ०७२ सालमा सर्वाधिक लोकप्रिय खेलाडी चुनिएकी थिइन् एनएसजेएफ स्पोर्टस अवार्डमा । सुरुमा मनोनयनमा पर्दा धेरैले उनलाई भनेछन्, टेबलटेनिस खेलाडीले पनि पपुलर अवार्ड जित्न सक्छ र ? तिनीहरूलाई देखाउन नै उनले दिनरात मिहिनेत गरिन् । जुन दिन उनले यो अवार्ड जितिन् । त्यो उनको जीवनको एउटा निकै खुसीको क्षण थियो ।

शिष्य नम्बर एक
अहिले नवितामात्र नम्बर १ खेलाडी होइनन्, उनका शिष्य स्यान्टु पनि पुरुष नम्बर १ खेलाडी हुन् । गुरुचेलाको यो सम्बन्ध पनि आफैंमा गज्जब छैन र ? राष्ट्रिय खेलकुदमा नविताले एकलमा स्वर्ण जित्दा पुरुषतर्फ च्याम्पियन हुने अरू केही होइनन् । स्यान्टु नै थिए । नवितालाई अचेल लाग्छ, स्यान्टु पनि उनको परिवारको एक सदस्य नै हुन् । सायद चाँडै नै सुरु भयो कि । नत्र स्यान्टुमा पनि नविताकै जस्तो एटिच्युड पाइन्छ, आफ्नै गुरुको बाटामा छन् स्यान्टु ।


यही जोडीले इन्डोनेसियामा भएको एसियाली खेलकुदमा गज्जब नै गर्‍यो । मिक्स डबल्सको पहिलो चरणको खेलमा नविता र स्यान्टुको प्रतिद्वन्द्वी थियो, चिनियाँ विश्व नम्बर १ जोडी लिन गैयान र वाङ मानयु । तिनै चिनियाँविरुद्ध तेस्रो सेट जितेर नविता र स्यान्टुले तहल्का नै मच्चाए । विश्वास गर्न गाह्रै प्रदर्शन थियो त्यो । भलै, उनीहरूले खेल जितेनन् । मन भने सबैको जिते । त्यो क्षणलाई अहिले सम्झिनुपर्छ । नविताको अनुहारमा बेग्लै चमक देख्न पाइन्छ ।


यो भेटमा जोडिने एउटा अर्का व्यक्तित्व थिए चतुरानन्द वैद्य । उनी अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष हुन् । आफ्नो कार्यकालमा नविता जतिको खेलाडी पाएकोमा उनी उत्तिकै खुसी छन् । उनी चाहन्छन्, नविताले अझ प्रगति गरोस् । नविताको प्रगतिमा यी अध्यक्षको अझ बढी साथ रहने छ । अबको दक्षिण एसियाली खेलकुदमा अझै राम्रो गर्ने नविताको अठोटलाई भने नमन गर्नैपर्छ ।

प्रकाशित : वैशाख २८, २०७६ ०९:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्