१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

अनिश र विश्वरुपा च्याम्पियन

कान्तिपुर हाफ म्याराथन
कुशल तिमल्सिना

काठमाडौँ — १६ किलोमिटरसम्म अग्रता लिइरहेका थिए । त्यसपछि एकाएक कृष्ण बस्नेत र दुर्गाबहादुर बुढाले उछिनेपछि उनलाई लागेको थियो, ‘तेस्रोसम्म भइएला’ । अन्तिम १५ सय मिटर बाँकी हुँदा उत्कृष्ट कभरसहित पुनरागमन गरी दोस्रोपल्ट कान्तिपुर हाफ म्याराथनको उपाधि जितेपछि अनिश थापामगरको अनुहारमा बेग्लै खुसी छाएको थियो । 

अनिश र विश्वरुपा च्याम्पियन

२०७० यता पाँचपल्ट कान्तिपुर हाफ म्याराथनमा सहभागिता जनाएका अनिशले चौथो प्रयासमा दोस्रो उपाधि जितेका हुन् । यसअघि पहिलो सहभागितामै ०७० साल उनी च्याम्पियन बनेका थिए । बाँकी तीनमध्ये दुईपल्ट दोस्रो र एकपल्ट तेस्रो भए । यसपालि उनले १ घण्टा ८ मिनेट ०४ सेकेन्डको टाइमिङ निकाले । भारतीय सेनाका जागिरे उनी यसै प्रतियोगिता खेल्न आएका हुन् ।


‘सुरुदेखि नै अग्रता लिइरहेको थिएँ । उकालो, ओरालो रुट भएका कारण बीचमा म एकाएक तेस्रोमा झरें । हारिन्छ कि क्या हो जस्तो लागेको थियो । तर अन्तिममा मैले राम्रो गर्न सकें । उपाधि अप्रत्यासित जस्तो भयो, धेरै खुसी लागेको छ ।’ तयारी राम्रो भए पनि दौडको बीचमा पछि परेर पनि उपाधि जित्न सकेकोमा उनी बढी खुसी थिए ।


उपाधि जिते पनि आफ्नै प्रदर्शनबाट भने उनी खुसी छैनन् । किनभने यसअघिकै टाइमिङ पनि उनले निकाल्न सकेनन् । २०७० सालमा उपाधि जित्दा उनले १ घण्टा ७ मिनेट ४६ सेकेन्ड खर्चिएका थिए । त्यसको अर्को वर्ष दोस्रो हुँदा १ घण्टा ६ मिनेट ४२ सेकेन्ड लगाए ।


उनी तत्कालीन उपाधि विजेता हरिकुमार रिमालसँग २ सेकेन्डले पछि परेका थिए । त्यति बेला हरिले बनाएको १ घण्टा ६ मिनेट ४० सेकेन्डको टाइमिङ कान्तिपुर हाफ म्याराथनको कीर्तिमान पनि हो । ‘योभन्दा राम्रो गर्न सक्थें जस्तो लागेको थियो, ‘स्मुथ’ रुट थिएन र उकालो ओरालोमा कठिन भयो,’ पर्वत फलेवासका २८ वर्षे अनिशले भने ।


चारपल्टका उपाधि विजेता हरिकुमार रिमालले पनि यसपल्ट बीचमै दौड त्यागे । यसअघिका दुवै संस्करण विजेताको हैसियतमा उनलाई उपाधि ह्याट्रिक अवसर थियो । तर उनले १० किलोमिटर मात्र दौडिए । किन त ? हरि भन्छन्, ‘आठौं राष्ट्रिय खेलकुदको समयदेखि नै मेरो फिटनेसमा समस्या थियो । जित्ने अपेक्षाले प्रतियोगितामा सहभागी भएको थिइनँ । प्रशिक्षण पनि राम्रो थिएन । चारपल्टको विजेताको हैसियतमा जति सक्छु त्यति दौडिन्छु भनेर आएको थिएँ, जति सकें त्यति दौडिएँ ।’


१० वर्षदेखि भारतीय सेनामा कार्यरत अनिश सिलोङस्थित सेनाको खेलकुद प्रशिक्षण केन्द्रमा छन् । उनी गत जनवरी १९ मा १० किलोमिटर दौडको अल इन्डिया ओपनमा चौथो भएका थिए ।


५ सेकेन्डले पछि परेर उपविजेतामा चित्त बुझाएका जुम्लाका दुर्गाबहादुर बुढाले भने आफ्नो हारको कारण कमजोर यातायात व्यवस्थापन भएको बताए । ‘अन्तिम १ किलोमिटर बाँकी छँदासम्म पनि मैले कभर गर्न सक्छुजस्तो लागेको थियो । माइतीघरको मोडमा मैले उछिन्ने प्रयास गरेको थिएँ, मोटरसाइकलको ऐनामा हात ठोक्किएपछि मेरो ध्यान भंग भयो,’ जेठ ८ मा रारा ट्रेल दौड जितेका दुर्गाले भने, ‘यातायात व्यवस्थापन गर्दा अगाडि रहेको धावकलाई मात्र होइन उसलाई पछ्याइरहेका सबै धावकलाई उत्तिकै प्राथमिकता दिनुपर्छ । जित्दाजित्दै हारेजस्तो भएको छ ।’


दुर्गाले एक सातामा मध्यम दूरीका तीन प्रतियोगितामा सहभागिता जनाए । जेठ ५ गते बैंग्लोरमा आयोजित अन्तर्राष्ट्रिय १० किमि दौडमा १६ औं भएका उनले तीन दिनपछि रारा ट्रेल जितेका थिए । त्रिभुवन आर्मी क्लबका कृष्ण बस्नेतले तेस्रो स्थानमा चित्त बुझाए । ‘बीचमा केही अगाडि बढेको थिएँ, बानेश्वरको उकालोबाट पछि परेको तेस्रोमा सीमित भएँ, समग्रमा मैले आज सोचेअनुसार दौड्न सकिनँ,’ आठौं राष्ट्रिय खेलकुदमा म्याराथनबाट स्वर्ण जितेका कृष्णले भने ।


महिलातर्फ कान्तिपुर हाफ म्याराथनकी सफल धाविका कान्छीमाया कोजु फिटनेसका कारण सहभागी नहुने भएपछि उपाधि सबैका लागि खुला थियो । जहाँ आर्मीकी विश्वरुपा बुढाले बाजी मारिन् । सुरुदेखि नै अग्रता बनाएकी विश्वरुपालाई दोस्रो भएकी सन्तोषी श्रेष्ठ र तेस्रो भएकी बिन्द्रा धान्के श्रेष्ठले ११ किलोमिटरसम्म पछ्याइरहेका थिए । त्यसपछि विश्वरुपाले एकल अग्रता लिइन् । दोस्रोपल्ट कान्तिपुर हाफ म्याराथन च्याम्पियन बनिन् । सन्तोषी र बिन्द्रा गत संस्करणमा पनि सोही पोजिसनमा थिए ।


‘मैले सुरुदेखि नै अग्रता लिएको हो । आधाजसो हामी सँगै थियौं, त्यसपछि मैले आफ्नो गति बढाएँ,’ कीर्तिमानी धावक हरिबहादुर रोकायको उत्पादन आर्मीकी २५ वर्षीया विश्वरुपाले भनिन्, ‘उपाधि भन्दा पनि व्यक्तिगत प्रदर्शनमा सुधार अपेक्षा गरेको थिएँ, प्रशिक्षण गरेको पनि दुई सातामात्र भएको थियो । विश्वरुपाले पनि सवारीका कारण खुलेर दौड्न नसकेको गुनासो पोखिन् ।


कान्छीमायासँग प्रतिस्पर्धा गर्न नपाएकोमा यसपल्टको दौड खल्लो लागेको अनुभव विश्वरुपाले सुनाइन् । ‘आफूभन्दा सिनियर खेलाडीबाट सँगै खेल्दा धेरै कुरा सिक्न पाइन्छ । उहाँ हुनुभएको भए मेरो टाइमिङ अझै राम्रो हुन्थ्यो । प्रतिस्पर्धा बढी भयो भने प्रदर्शन पनि राम्रो हुन्छ,’ उनले भनिन् ।


विश्वरुपाले गत फागुनमा प्र्रधानसेनापति हाफ म्याराथन जित्दा १ घण्टा १७ मिनेट २० सेकेन्डको व्यक्तिगत उच्च प्रदर्शन हो । कान्तिपुर हाफ म्याराथनको उपाधि जित्ने क्रममा उनले १ घण्टा २३ मिनेट २८ सेकेन्ड खर्चिइन् । ६ वर्षदेखि आर्मीका लागि खेलिरहेकी विश्वरुपाले आठौं राष्ट्रिय खेलकुदमा १० हजार मिटर दौडमा स्वर्ण जितेकी थिइन् । सफलताको श्रेय उनले आफ्नो गडफादर मान्ने हरिबहादुर रोकाय, आर्मी र क्लबका प्रशिक्षक पुष्पराज ओझालाई दिइन् ।


‘एन्टी पोलुसन रन’ को अभियानसहित सम्पन्न नवौं संस्करणको कान्तिपुर हाफ म्याराथनमा महिला र पुरुष दुवैतर्फका विजेताले हिरो डुएट स्कुटरसहित ५०–५० हजार रुपैयाँ पुरस्कार पनि पाए । महिला/पुरुष दुवैतर्फ दोस्रोदेखि छैटौं स्थान हासिल गर्नेले क्रमशः ३०, २०, १०, ५ र ३ हजार रुपैयाँ पुरस्कार पाए ।


५ किलोमिटरको कर्पोरेट तथा मिडिया दौडतर्फ टेक मिडियाका राजेश खड्काले १७ मिनेट २०.०८ सेकेन्डको टाइमिङसहित उपाधि जिते । साबिक विजेता अजय तामाङ दोस्रो र उत्तम श्रेष्ठ तेस्रो भए । महिलातर्फ उपाधि जितेकी काजल श्रेष्ठले २१ मिनेट २३.५ सेकेन्डमा दौड पूरा गरिन् । जुनेली सुनार दोस्रो तथा सुनीता गौतम तेस्रो भए । उपाधि विजेताले ३ रात ४ दिनको थाइल्यान्ड भ्रमण प्याकेज, दोस्रो हुनेले २ रात ३ दिनको पोखरा भ्रमण प्याकेज र तेस्रो हुनेले माउन्टेन फ्लाइटको टिकट पुरस्कारस्वरुप पाए ।


हाफ म्याराथन अन्तर्गत ह्विलचियर रेसको उपाधि भने लगातार छैटौंपल्ट आर्मीका रामबहादुर तामाङले जितेका छन् । प्रेमबहादुर बिक दोस्रो र मोहनबहादुर बस्नेत तेस्रो भए । महिलातर्फ यामी झाँक्री मगरले उपाधि रक्षा गरिन् । रजनी राई दोस्रो र बबिता थापा तेस्रो भए । दुवैतर्फका विजेताले २० हजार, उपविजेताले १० हजार र तेस्रो हुनेले ५ हजार रुपैयाँ पुरस्कार पाए ।


ह्विलचियर दौड थापाथलीस्थित कान्तिपुर पब्लिकेशन्सको कार्यालय अगाडिबाट सुरु भइ माइतीघर परिक्रमा गरी थापाथली आएर सकिएको थियो । ५ किलोमिटरको कर्पोरेट दौड थापाथलीबाट माइतीघर हुँदै बानेश्वर सिभिल अस्पतालबाट सोही रुट फर्किएर थापाथली पुगेर सकिएको थियो । २१.१ किलोमिटर हाफ म्याराथनको रुट भने थापाथली, माइतीघर, बानेश्वर, कोटेश्वर, सल्लाघारी चोकबाट सोही रुट फर्किएर थापाथली आएर टुंगिएको थियो ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले कान्तिपुर हाफ म्याराथनको उद्घाटन गरेका थिए । कान्तिपुर पब्लिकेशन्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियालगायतले विजेता खेलाडीलाई पुरस्कार वितरण गरे । प्रतियोगितामा अहिलेसम्मकै सर्वाधिक ३ हजार ५ सयभन्दा बढी सहभागी थिए ।


हाफ म्याराथन

पुरुषटाइमिङ

अनिश थापामगर१ः०८ः०४

दुर्गाबहादुर बुढा१ः०८ः०९

कृष्ण बस्नेत१ः०९ः०२

गजेन्द्र राई१ः११ः४२

किरणसिंह बोगटी१ः११ः४३

रामजी बस्नेत१ः१२ः०४

महिलाटाइमिङ

विश्वरुपा बुढा१ः२३ः२८

सन्तोषी श्रेष्ठ१ः२४ः०१

विन्द्राधान्के श्रेष्ठ१ः२४ः५८

फुलमती राना१ः३१ः४४

रेखा विष्ट१ः४१ः४८

सरस्वती खड्का१ः४६ः५१


५ किलोमिटर कर्पोरेट तथा मिडिया

पुरुषटाइमिङ

राजेश खड्का१७ः२०.०८

अजय तामाङ१७ः५५.९५

उत्तम श्रेष्ठ१८ः१२.४६

महिलाटाइमिङ

काजल विष्ट२१ः२३.५

जुनेली सुनार२३ः१९.२

सुनीता गौतम२४ः०९.७


ह्विलचियर दौड

पुरुष

रामबहादुर तामाङ

प्रेमबहादुर बिक

मोहनबहादुर बस्नेत


महिला

यामी झाँक्री मगर

रजनी राई

बबिता थापा

प्रकाशित : जेष्ठ १२, २०७६ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?