प्रधानमन्त्री कप क्रिकेट : एपीएफको जित

काठमाडौँ — प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेटमा साबिक विजेता एपीएफले राष्ट्रिय टोलीका कप्तान र उपकप्तानप्रेरित प्रदेश ३ विरुद्ध ४१ रनको जित हासिल गरेको छ । 

प्रधानमन्त्री कप क्रिकेट : एपीएफको जित

शनिबार क्रिवि त्रिकेट मैदान कीर्तिपुरमा एपीएफले दिएको २ सय ८९ रनको विशाल लक्ष्य पछ्याउने क्रममा राष्ट्रय टोलीका उपकप्तानसमेत रहेका ज्ञानेन्द्र मल्लको शतक प्रदेश ३ का लागि अर्थहीन बन्यो । पाँचौं नम्बरमा ब्याटिङ गरेका ज्ञानेन्द्रले १ सय ११ बलमा १ सय १७ रनको इनिङ्स खेले । अन्तिम ओभरको दोस्रो बलमा क्याचआउट हुनुअघि ज्ञानेन्द्रले ८ चौका र ५ छक्का प्रहार गरे ।


प्रदेश ३ का लागि कप्तान पारस खड्काले पनि ४५ बलमा ४६ रन बटुले । योगेन्द्रसिंह कार्की र रित गौतमले पहिलो विकेटमा ४० रनको साझेदारी गरेका थिए । रितले २७ र योगेन्द्रले १२ रन बनाए । एउटा एन्डमा ज्ञानेन्द्रले टिकेर ब्याटिङ गरिरहे पनि अर्को एन्डबाट लगातार विकेट झरिरह्यो । प्रदेश ३ ले निर्धारित ओभरमा ९ विकेट गुमाएर २ सय ४७ रनमात्र जोड्न सक्यो । एपीएफका कमलसिंह ऐरीले ३, अविनाश बोहराले २ विकेट लिए । पृथु बाँस्कोटा र भुवन कार्कीले १–१ विकेट झारे ।


यसअघि टस जितेर ब्याटिङ गरेको एपीएफले सुमित महर्जनको सानदार इनिङ्स सहयोगमा निर्धारित ओभरमा ९ विकेट गुमाएर २ सय ८८ रनको योगफल खडा गर्‍यो । सुरुआती बयाट्सम्यानले अपेक्षित प्रदर्शन गर्न नसकेको अवस्थामा पाँचौं नम्बरमा ब्याटिङमा आएका सुमित शतकबाट ६ रनले चुके । ४० औं ओभरमा रनआउट सिकार हुनुअघि सुमितले १ सय ३ बल सामना गरी ५ चौका र ६ छक्का प्रहार गरे ।


एपीएफका पृथुले पनि ५८ बलमा ५९ रनको अर्धशतकीय योगदान गरे । आफ्नो इनिङ्समा पृथुले ३ चौका र १ छक्का प्रहार गरे । एपीएफका प्रदीप ऐरीले पनि ४० रन जोडे । अन्त्यतिर अमरसिंह रौटेलाले १८ बलमा २ चौका र २ छक्काको सहयोगमा नटआउट २७ रन बनाएपछि एपीएफले ठूलो योगफल खडा गरेको हो । बलिङतर्फ प्रदेश ३ का नन्दन यादव र जितेन्द्रसिंह ठकुरीले ३–३ विकेट लिए । सुमित म्यान अफ द म्याच चुनिए ।

प्रकाशित : जेष्ठ १२, २०७६ ०८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?