राष्ट्रपति रनिङ सिल्ड स्थगित

आनन्द गौतम

ताप्लेजुङ — राष्ट्रिय खेलकुद परिषदले राष्ट्रपति रनिङ सिल्ड जिल्लास्तरीय खेलकुद प्रतियोगिता स्थगित गरेको छ । आइतबार जिल्ला खेलकुद विकास समितिहरूलाई पत्राचार गरेर अर्को सूचना नभएसम्म प्रतियोगिता स्थगित गर्न निर्देशन दिएको हो ।

यसले गाउँपालिकास्तरीय छनोट प्रतियोगितालाई भने कुनै असर पार्ने छैन । तर मिति निर्धारण भइसकेको कार्यातालिका अवरुद्ध भएको भन्दै विद्यालयहरूले भने असन्तुष्टि जनाएका छन । ताप्लेजुङमा जेठ २२ देखि २४ सम्म मिति तोकिएको थियो । त्यसैअनुसार गाउँपालिकाले खेलाडी छनोटको काम गरिरहेका थिए ।


एक नगरपालिका र ८ गाउँपालिका रहेको जिल्लाका सबैले २० गतेसम्म सक्नेगरी कार्यतालिका बनाएर छनोट प्रतियोगिता चलाइरहेका थिए । यसले विद्यार्थीको पढाइमा नराम्ररी असर पुर्‍याउने सिंवा मावि प्रधानाध्यापक ओमनाथ गौतम बताउँछन् । ‘हाम्रो फक्तालुङ गाउँपालिकाले एक साताअघि नै छनोट गरिसक्यौं, अहिले प्रशिक्षक ल्याएर थप सिकाउने र तयारी गराउने काम गरिरहेका थियौं,’ उनले थपे, ‘अब प्रशिक्षक कहिलेसम्म पाल्ने र विद्यार्थीलाइ कहिलेसम्म सिकाइराख्ने यो व्यवस्थापन गर्न कठिन हुन्छ ।’


सरकारी संयन्त्रवाट हचुवाका भरमा मिति निर्धारण गर्ने र पटक–पटक सार्ने परिपाटीले खेलाडी विद्यार्थी र तयारी गर्नेलाई नकारात्मक असर पार्ने मोती मावि खोक्लिङका प्रधानाध्यापक केवुहाङ लिम्बु बताउँछन् । यसले आयोजक खेलकुद विकास समितिलाई पनि असर पुर्‍याएको छ । ‘हामीले १० हजार रुपैयाँ खर्च गरेर स्थानीय एफएमबाट खेलतालिका सार्वजनिक गर्‍यौं, खेलमैदानको व्यवस्थापन गर्‍यौं,’ पौडेलले भने, ‘त्यहीअनुसार कार्यालयहरूसँग परामर्श र व्यवस्थापन मिलायौं अब सरेपछि खर्चदेखि व्यवस्थापनसम्मको काम पुरै गर्नुपर्ने भएको छ ।’


स्रोतका अनुसार राष्ट्रपति सिल्ड गर्नका लागि खेलकुद परिषदले जिल्लालाइ निर्देशन गरेको थियो । तर संघअन्तर्गत मन्त्रालयले बजेट नदिएपछि परिषदले स्थगित गर्‍यो । बजेट प्रदेशले दिने भयो तर बजेट दिनुपूर्व गाउँपालिकामा सम्पन्न प्रतियोगिताको विवरण माग गर्‍यो ।


प्रदेश १ ले गाउँपालिकाको सम्पन्न प्रतिवेदन पाएपछि मात्रै जिल्ला स्तरीय प्रतियोगिताका लागि बजेट पठाउने भएपछि अब गाउँपालिकाको प्रतियोगिता सम्पन्न गर्नुपर्ने भएको छ । तर बर्खा लागिसकेकाले ढिलो भए धेरै विद्यालयले सहभागिता जनाउन नसक्ने अवस्था सिर्जना हुने शिक्षक महासंघका अध्यक्ष महेन्द्रप्रकाश गौतमले बताए ।


‘गाउँका बाटा बन्द हुन थालेका छन् । विद्यार्थीलाई हिँडाएर ल्याउन कठिन हुन्छ । सकेसम्म चाँडो गर्नुपर्छ,’ उनले भने । पहिला जिल्लामा निर्वाचनस्तरीय गर्ने र त्यसपछि जिल्लास्तरीय गरेर क्षेत्रीय प्रतियोगितामा गर्ने प्रचलन थियो । अहिले निर्वाचन क्षेत्रलाई कटाएर गाउँपालिकाबाट छनोट गर्न थालिएको छ ।


‘मन्त्रालयको उद्देश्य जतिसक्दो धेरै खेलाडीलाई छनोट गर्ने हो,’ पौडेलले छनोट प्रकृयासम्बन्धी जानकारी गराउँदै भने, ‘गाउँपालिकामा छनोट खेलाडी जिल्ला प्रतियोगितामा पठाउँछन् । प्रतिभावान खेलाडी जिल्लामा छनोट भएर क्षेत्रमा जान्छन् र त्यहाँ पनि उत्कृष्ट भए केन्द्रीय प्रतियोगितामा प्रतिस्पर्धा गर्ने अवसर पाउँछन् ।’

प्रकाशित : जेष्ठ १३, २०७६ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?