३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

'खेलकुदमा बजेट पर्याप्त छैन’

कुशल तिमल्सिना

काठमाडौँ — राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टले आर्थिक वर्ष २०७६/७७ का लागि विनियोजन गरिएको खेलकुद क्षेत्रको बजेट पर्याप्त नभएको टिप्पणी गरेका छन् ।

'खेलकुदमा बजेट पर्याप्त छैन’

बुधबार अर्थमन्त्री युवराज खतिवडाले संसदमा प्रस्तुत गरेको बजेटमा युवा तथा खेलकुद क्षेत्रलाई अघिल्लो आर्थिक वर्षभन्दा झन्डै २० करोड कम विनियोजन गरिएको छ ।

युवा तथा खेलकुदमा आर्थिक वर्षका लागि ३ अर्ब ९९ करोड ८ लाख रुपैयाँ विजियोजन गरिएको छ । त्यसमध्ये संघका लागि ३ अर्ब ४७ करोड ५१ लाख, प्रदेशका लागि ३६ करोड ५१ लाख, स्थानीय तहका लागि १४ करोड ७३ लाख विनियोजन गरिएको हो । यो रकम कुल बजेटको ०.२६ प्रतिशत हो ।

‘युवालाई छाडेर खेलकुदको मात्र बजेट हिसाब गर्दा ३ अर्ब हाराहारी हुन आउँछ । यो नियमिततर्फको बजेट हो,’ सदस्यसचिव विष्टले भने, ‘खेलकुद विकासका लागि यो पर्याप्त बजेट होइन । तर अघिल्ला वर्षहरूमा भन्दा अपेक्षित धेरै बजेट आएकाले चित्त बुझाउन सकिन्छ ।’

सदस्य–सचिवले १३ औं दक्षिण एसियाली खेलकुद र नवौं राष्ट्रिय खेलकुदका लागि आवश्यक बजेट अर्थ मन्त्रालयले छुट्टै विनियोजन गर्ने प्रस्ट पारे । ‘१३ औं साग खेलकुदका लागि मात्रै हामीलाई कम्तीमा ४ अर्बको बजेट आवश्यक छ । नवौंको तयारीका लागि पनि धेरै बजेट चाहिन्छ । अहिले विनियोजन भएको नियमिततर्फको बजेट हो र विशेष प्रतियोगिताका लागि त्यही शीर्षकमा विनियोजन हुन्छ, बजेट भाषणमा अर्थमन्त्रीज्यूले भनिसक्नुभएको छ,’ विष्टले भने ।

युवा तथा खेलकुदका लागि गत वर्ष ४ अर्ब १८ करोड ९५ लाख रुपैयाँ विनियोजन गरिएको थियो । यसपल्ट संघको बजेट घटाइएको छ भने प्रदेश र स्थानीय तहका लागि छुट्याइएको बजेट यथावत राखिएको छ ।

बालबालिका, युवाको स्वास्थ्य, शारीरिक तथा मानसिक विकासका लागि खेलकुदलाई अगाडि बढाउन संघ, प्रदेश र स्थानीय तहको सहकार्यमा समुदायस्तरदेखि नै नियमित रूपमा खेलकुद प्रतियोगिताको आयोजना, खेलाडीको प्रशिक्षण, क्षमता विकास र प्रोत्साहनका कार्यक्रमहरू सञ्चालन गर्ने बजेटमा उल्लेख छ ।

काठमाडौं उपत्यकामा अन्तर्राष्ट्रियस्तरको खेलकुद परिसर निर्माण गर्न प्रारम्भिक अध्ययन गरिने, सबै प्रदेशमा प्रदेशसँगको सह–लगानीमा प्रदेशस्तरीय सुविधासम्पन्न रंगशाला र प्रदेश तथा स्थानीय तहसँगको सह–लगानीमा सबै स्थानीय तहहरूमा खेलग्रामको विकास गर्न ४० करोड बजेट छुट्याइएको छ । यो अघिल्लो वर्षकै कार्यक्रमको निरन्तरता हो ।

काठमाडौंको मुलपानीमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान २ वर्षमा सम्पन्न गर्न १० करोड विनियोजन

गरिएको छ । २०७१ सालयता यस मैदानका निर्माणका लागि २४ करोडभन्दा बढी खर्च भइसकेको छ ।

निजी क्षेत्रको अग्रसरतामा हुने त्रिकेट लगायतका खेल मैदान निर्माण कार्यलाई सरकारले फ्रोत्साहन गर्ने तथा क्रिकेटको विकासका लागि त्रिकेट एकेडेमी स्थापना गरिने बजेटमा उल्लेछ छ ।

अर्थमन्त्री खतिवडाले १३औं दक्षिण एसियाली खेलकुदको पूर्वाधार विकास तथा नवौं राष्ट्रिय खेलकुदका लागि आवश्यक रकम विनियोजन गरिएको जानकारी दिएका छन् । त्यस्तै राष्ट्रपति शैक्षिक सुधार कोष स्थापना गरी हरेक विद्यालयमा खेल मैदान र खेलकुद शिक्षक अनिवार्य गरिने बजेटमा उल्लेख छ ।

प्रकाशित : जेष्ठ १६, २०७६ ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?