दक्षिण अफ्रिकालाई गर या मरको स्थिति

एजेन्सी

साउथह्याम्प्टन — आईसीसी एकदिवसीय विश्वकपको सुरुआती डेढ साताको निराशाजनक नतिजापछि दक्षिण अफ्रिका पहिलो जितको लक्ष्यका साथ सोमबार साउथह्याम्प्टनमा वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्दै छ । 

दक्षिण अफ्रिकाका कप्तान फाफ डु प्लेसिस र बलर इमरान ताहिर । फाइल तस्बिर

डेल स्टेयन चोटका कारण बाहिरिनु, लुंगी एनगिडी अनफिट हुनु, अनिश्चित ब्याटिङ क्रम र लगातार तीन हारको शृंखलाले दक्षिण अफ्रिकाका लागि विश्वकप–२०१९ को अभियानमा निकै कठिन सुरुआत मिल्यो । भारतविरुद्धको ६ विकेटको हारमा उसका फास्ट बलरहरूको प्रदर्शन टिम प्रबन्धनका लागि आशातीत रहन्छ । तर, वेस्ट इन्डिजको आक्रामक बलरहरूको सामना गर्न दक्षिण अफ्रिकाका ब्याट्सम्यानहरूले आफ्नो प्रदर्शन स्तर माथि लानुपर्नेछ ।
एनगिदी खेल्ने नखेल्नेमा अझै सन्देह छ । यस्तोमा टिमको बलिङ आक्रमणमा विविधता ल्याउन र अझै कसिलो बनाउन कप्तान फाफ डु प्लेसिसले स्टेयनलाई प्रतिस्थापन गरेका बेउरान हेनरिक्सलाई अवसर दिन सक्नेछन् । सेमिफाइनलमा पुग्ने सम्भावनालाई जीवितै राख्न दक्षिण अफ्रिकाका लागि यो खेल गर या मरको अवस्थामा छ ।

वेस्ट इन्डिज ट्रेन्ट ब्रिजमा अस्ट्रेलियासँग बेहोरेको साँधुरो हारबाट उठ्ने प्रयास गर्नेछ । उनीहरूले महसुस पनि गरेका होलान् कि त्यस खेलमा अधिकांश समय उनीहरूकै नियन्त्रणमा थियो ।

सुरुआती दुई खेलमा फास्ट बलरको आक्रामक सुरुआतले वेस्ट इन्डिजको पुराना सफलताका दिनहरू स्मरण गराउँथ्यो । तर, अस्ट्रेलियाविरुद्ध फास्ट बलरहरूको सुरुआती असफलता र जवाफी ब्याटिङमा ब्याट्सम्यानहरूको खराब सट सेलेक्सनकै कारण अस्ट्रेलियाविरुद्ध उसले नोक्सानी बेहोरेको हो ।

यद्यपि सुरुआती दुई जित र अस्ट्रेलियाविरुद्ध साँधुरो हारको नतिजापछि वेस्ट इन्डिज टोली आफ्नो प्रतिस्पर्धी दक्षिण अफ्रिकाभन्दा हेड टू हेडमा अगाडि छ । उसको आत्मविश्वासी पक्ष यही हो ।
ह्याम्प्सायर ओभलमा सोमबार अपराह्न वर्षाको सम्भावना छ । दिनभर बदली हुने मौसम पूर्वानुमानका कारण यस खेलमा फास्ट बलरले एकपल्ट फेरि निर्णायक भूमिका खेल्नेछन् ।

प्रकाशित : जेष्ठ २७, २०७६ ०९:०६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

मेक्सिकोले गैरकानुनी आप्रवासी रोक्ने 

एजेन्सी

वासिङ्टन — मेक्सिकोले अवैध रूपमा अमेरिका प्रवेश गर्ने आप्रवासीलाई रोक्ने सहमति जनाएको छ । अमेरिकी राष्ट्रपतिले घोषणा गरेअुनसारको करबाट जोगिन मेक्सिकोले उक्त सहमति जनाएको हो । 

मेक्सिको सीमा क्षेत्रमा गरिएको पत्रकार सम्मेलनमा गैरकानुनी आप्रवासीबारे जानकारी दिँदै अमेरिकी सेना र सीमा सुरक्षा अधिकारी । तस्बिर : एपी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबारट्वीट गर्दै मेक्सिकोसँगको सहमतिअनुसार अमेरिकाले भन्सार शुल्क वृद्धि स्थगन गरेको बताए । यसअघि ट्रम्पले आप्रवासीको प्रवाह नरोके मेक्सिकोविरुद्ध सोमबारदेखि लागू हुने गरि प्रत्येक महिना ५ प्रतिशतका दरले भन्सार शुल्क बढाउने घोषणा गरेका थिए ।

मेक्सिकोका विदेशमन्त्री मार्सेलो एब्रार्डले दुई देशबीच सहमति भएको पुष्टि गरे । उनले मेक्सिकोले आफ्नो देशबाट गैरकानुनी रूपमा अमेरिका भित्रने आप्रवासी रोक्ने र अमेरिकाले कर वृद्धि फिर्ता लिने सहमति भएको जनाए ।

एब्राडका अनुसार तीन दिनसम्म चलेको वार्तामा मेक्सिकोले गैरकानुनी आप्रवासी रोक्न देशभर सुरक्षाकर्मी खटाउने, सीमाक्षेत्रमा ६ हजार सुरक्षाकर्मी थप्नेलगायतका विषयमा सहमति गरेको हो । त्यसका साथै, दुवै देशले सीमा सुरक्षाका विषयमा ‘द्विपक्षीय सहकार्य गर्ने’ समेत सहमति भएको जनाइएको छ ।

अमेरिकी विदेशमन्त्री स्टिभन मनुचिनले ‘आफूहरू सम्झौताबाट प्रशन्न रहेको’ जनाएका छन् । ‘यो निकै महत्त्वपूर्ण सहमति हो । आप्रवासी समस्याबारे मेक्सिकोको प्रतिबद्धता सराहनीय छ,’ उनले भने । अमेरिकी राष्ट्रपति ट्रम्पले गैरकानुनी रूपमाआफ्नो देश भित्रने हजारौं आप्रवासी रोक्न भन्दै गत फेब्रुअरीमा मेक्सिको सीमाक्षेत्रमा संकटकाल घोषणा गरेका थिए ।

अमेरिकाको राष्ट्रिय संकटकालसम्बन्धी ऐनमा गम्भीर राष्ट्रिय संकट वा विपद्सँग जुध्न राष्ट्रपतिले संकटकालको घोषणा गर्न सक्ने व्यवस्था छ । ट्रम्पले देशको दक्षिणी सीमामा आप्रवासी संकट आइपरेको बताउँदै संकटकाल घोषणा गरेका हुन् । तर उनको भनाइलाई आप्रवासीसम्बन्धी विज्ञहरूले अस्वीकार गर्दै आएका छन् ।

विगतमा अमेरिकी राष्ट्रपतिहरूले खासगरी विदेश मामिलामा आइपरेका संकटसँग जुध्न राष्ट्रिय संकटकाल घोषणा गर्नेगरेको अभ्यास छ । तर ट्रम्पले देशमा विवादास्पद मुद्दामा विपक्षीको बहुमत रहेको संसद् छल्न कार्यकारी शक्ति प्रयोग गरेको देखिन्छ । जसका कारण विपक्षी दलका नेताहरू रुष्ट छन् । अमेरिका र मेक्सिकोबीच करिब ३ हजार २ सय किलोमिटर सीमा जोडिएको छ ।

प्रकाशित : जेष्ठ २६, २०७६ ०८:३८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT