ठमेलमा एनफिल्ड

हिमेशरत्न वज्राचार्य

काठमाडौँ — त्यस्तो माहोल यसअघि कमैले अनुभव गरेका होलान् । यसले देखाउँछ हाम्रोतिर बढदै गएको क्लब फुटबल समर्थनको संस्कृति । पछिल्लो शनिबार युरोपेली च्याम्पियन्स लिगको फाइनल थियो, लिभरपुल र टोटेनहमबीच । लिभरपुलले त्यो खेल जितेर छैटौंपल्ट युरोपेली च्याम्पियन भयो, यो त नयाँ भएन ।

ठमेलको पर्पल हेजमा च्याम्पियन्स लिग फुटबलको फाइनल हेर्न पुगेका लिभरपुलका समर्थकहरू ।तस्बिर : किरण पाण्डे/कान्तिपुर

नयाँ के रह्यो भने त्यस क्रममा मध्यरात ठमेलमा देखिएको दृश्य । त्यस रात त्यहाँको पर्पल हेजमा स्क्रिनिङ थियो खेलको ।

त्यो पनि लिभरपुलका समर्थकका लागि मात्र । त्यसमाथि झन त्यहाँ प्रवेश गर्ने अनिवार्य सर्त थियो, लिभरपुलको जर्सी । लगभग हजारको संख्यामा थिए होला, लिभरपुल समर्थक क्लबको जर्सीमा । वास्तवमै त्यो दृश्य गज्जब थियो । पर्पल हेजभित्र त झन् गज्जब । त्यहाँ लेखिएको थियो— एनफिल्ड नेपाल । मर्सिसाइड क्लबको घरेलु मैदान हो एनफिल्ड । पर्पल हेज पुगेपछि त्यसले पनि लगभग त्यसकै झल्को दिन्छ । यस क्लबमा चारैतिर लिभरपुलसँग जोडिएका चिन्ह, लोगो, झन्डा मात्र छन् ।

अनि क्लबमा जति पनि कार्यरत छन्, ती पनि जर्सीमै छन् । यसलाई चलाइरहेका छन्, अशोक सेन र स्वप्निल शर्माले । उनीहरू दुवै लिभरपुलका समर्थक हुन् । उनीहरूको आफ्नै ब्यान्ड पनि छ । फाइनल अगाडि उनीहरूले केही गीत पनि प्रस्तुत गरे । ब्यान्डको नाम हो, अल स्टार्स । भनिरहनुपर्दैन, ब्यान्डले जति पनि गीत प्रस्तुत गरे, ती सबै लिभरपुलसँगै सम्बन्धित थिए । गायक अशोकले त्यस दिन मुकुन्डो लगाएका थिए, प्रशिक्षक योर्गन क्लोपको ।
त्यसको अर्थ यसो भन्दा पनि हुन्छ, ठमेलमा क्लोप । त्यो स्क्रिनिङ आयोजना गरेको थियो, आधिकारिक लिभरपुल फ्यान क्लब नेपालले । आधिकारिक मान्यता पाएका समर्थक क्लबमा पर्छ, यो । खेल हेर्ने निम्तो दिन आफैं आइपुगेका थिए, सुशोभन मल्ल । स्क्रिनिङको कार्यक्रम राख्न एक सातादेखि उनी व्यस्त थिए । लिभरपुलले उपाधि जित्ने तय भएपछि त्यहाँ स्वर चर्को हुने भयो नै । अझ खेल नै सकेपछि त झन के कुरा गर्नु ।

त्यसै पनि एनफिल्डमा गुन्जिने स्वर अरूतिर भन्दा चर्को हुन्छ । त्यस दिन पर्पल हेजमा सुनिएको स्वर पनि कम्ती थिएन । पछिल्लो समय फुटबल हेर्ने चलनमा हाम्रोतिर व्यापक परिवर्तन आएको छ । विश्वकपको चमक हाम्रोमा अझै घटेको छैन तर त्यस प्रतियोगिताभन्दा क्लब फुटबलमै रमाउने धेरै हुन थालेका छन् । त्यसो भनेको कुनै देशको समर्थकभन्दा पनि कुनै क्लबको समर्थक हुने क्रम बढो छ । सन् १९८६ देखि नेपालमा विश्वकपका खेल प्रत्यक्ष प्रसारणमार्फत हेर्ने चलन सुरु भएको थियो ।

त्यो विश्वकप डिएगो म्याराडोनाको अर्जेन्टिनाले जितेको थियो । त्यसैले अझैसम्म पनि हाम्रोतिर अर्जेन्टिना र म्याराडोनाका समर्थक धेरै छन् । हाम्रोमा क्लब फुटबल हेर्ने चलन त्यसको धेरै वर्षपछि मात्र आएको हो । त्यस विश्वकपको केही वर्षपछि एनटीभीमा रोड टु वेम्बली र फुटबल मेड इन जर्मनीजस्ता कार्यक्रम सुरु भए । त्यसले नै हाम्रोमा क्लब फुटबल हेर्ने बानी बसाल्यो । पछि इटालीको फुटबलसम्बन्धी कार्यक्रम चलेको थियो ।
जति बेला रोड टु वेम्बली चलेको थियो, त्यति बेला इंग्लिस फुटबलमा लिभरपुलको जगजगी थियो । त्यसैले त्यस समयको पुस्ताका फुटबलप्रेमी बढीभन्दा बढी लिभरपुलका समर्थक भए । टेलिभिजनमा फुटबल हेर्ने नभएर रेडियोबाट फुटबल सुन्ने जमानाका पनि केही लिभरपुल समर्थक भेटिन्छन् । निजी स्पोर्टस च्यानल आउन थालेपछि भने युरोपली क्लब फुटबल सजिलै हाम्रो कोठाकोठामा प्रवेश गर्‍यो । त्यति बेला इंग्लिस फुटबलको युग थियो, सर एलेक्स फर्गुसनको म्यानचेस्टर युनाइटेडको ।

यो समयले कति धेरै जबरदस्त प्रभाव पार्‍यो भने नेपालमा सबैभन्दा बढी समर्थन प्राप्त क्लब यही हो । इंग्लिस प्रिमियर लिगका चार टिमको हाम्रोमा फ्यान क्लब छन्, लिभरपुल र म्यानचेस्टरसँगै आर्सनल र चेल्सीको । म्यानचेस्टरको प्रभुत्व चलेको बेला त्यस टिमलाई चुनौती दिने एउटै थियो, आर्सेन वेंगरको आर्सनल । आर्सनलका समर्थक पनि उत्तिकै छन् हाम्रोमा । रोमन एब्राहिमोभिचले चेल्सी किनेपछि यसका समर्थक पनि बढे ।
जोसे मोउरिन्हो आएयता चेल्सीले धेरै जित्यो । जित्ने काम गर्‍यो, हाम्रा फुटबल समर्थकको मन पनि । सन् २००५ मा लिभरपुलले एसी मिलानलाई हराएर पाँचौंपल्ट च्याम्पियन्स लिग लिग जित्दा पनि नेपालमा यसका समर्थक बढेका हुन् । यी चार इंग्लिस क्लबका समर्थक नै धेरै छन्, हाम्रोमा । समर्थकको क्लब भएको अरू दुई क्लब हुन्, स्पेनका बार्सिलोना र रियल म्याड्रिड । क्लब समर्थकको क्लब बनाएर सार्वजनिक रूपमा स्क्रिनिङ हुन थालेको भने केही वर्ष मात्र भएको छ र यो खुबै लोकप्रिय पनि छ ।

यसको सबैभन्दा राम्रो उदाहरण त पर्पल हेजमा देखाइएको भर्खरैको फाइनल नै भयो । अहिलेको क्लब समर्थक नेपाली प्रशंसकलाई खास ‘सपोर्टर’ भन्दा पनि हुन्छ, किनभने उनीहरूको समर्थन आफैंमा गम्भीर छ । केही वर्षअगाडिको कुरा हो, खेलपत्रकार प्रेम ढकाललाई कोही विदेशीले सोधेछन्, उनको प्रिय क्लबबारे । उनको उत्तर थियो, म्यानचेस्टर युनाइटेड र लिभरपुल । यो सुनेर ती विदेशी दंग परेछन् । हुन पनि कहीं कतै कोही कसरी यी दुई क्लबको समर्थक हुन सक्छन् र ?

अर्का पत्रकार प्रजित शाक्यलाई पनि यी दुवै क्लब मनपर्छ । आखिरमा यी पुराना पुस्ताका समर्थक हुन् । तर अचेलका समर्थकमाझ यस्तो हुन्न । समर्थक प्रदर्शन, प्रवृत्ति र इतिहासमा टिकेर हुन्छ । लिभरपुलले यसपल्ट च्याम्पियन्स लिग जित्दा सबैभन्दा हाम्रोमा दु:ख भएभन्दा ती म्यानचेस्टरकै समर्थक थिए । अनि टोटनहम पराजित हुँदा सबैभन्दा खुसी हुने कोही समर्थक थिए भने ती आर्सनलका थिए । सायद चेल्सी समर्थकलाई पनि लिभरपुल जितकैमा खुसी थियो ।

क्लब फुटबल पछ्याउने हुनुपर्छ, धेरैलाई थाहा छ, लिभरपुल र म्यानचेस्टर पारम्परिक रूपमा विरोधी क्लब हुन् । यस्तै विरोधी सम्बन्ध हुने गरेको छ, दुई उत्तरी लन्डन क्लब आर्सनल र टोटेनहमको पनि । बार्सिलोना र रियलका समर्थक पनि एकै स्थानमा बस्न नसक्ने नै भए । यी दुई क्लबको ऐतिहासिक रूपमै खराब सम्बन्ध रहेको छ, हाम्रोतिर पनि यसका समर्थक एकआपसमा विरोधी हुने भए नै । घोर शत्रु भने पनि हुन्छ ।
पछिल्लो विश्वकपको बेला अनुभव गरेको हो, केही फुटबलप्रेमी त्यही टिमको समर्थन गर्दै थिए, जससँग आफूलाई मन पर्ने क्लबको खेलाडी खेलिरहेको थियो । त्यो भनेको नेपालमा फुटबल हेर्ने संस्कृतिमा परिवर्तन आउँदै छ । साथी बन्ने कारणमध्ये सबैभन्दा बढी सम्भावना सँगै टोलमा हुर्केबढेका र पढेका हुन्छन्, होइन भने सँगै काम गर्ने । अब साथी बन्ने र समूह बनाउने एउटा कारण बनेको छ, फुटबल क्लब । आफूलाई मनपर्ने क्लबका समर्थक पनि अब साथी ।

पछिल्लो साता यस्तै अनुभव भयो, पर्पल हेजमा । त्यो दिनको अनुभव वास्तवमै अनुपम थियो । व्यक्तिगत रूपमा लिभरपुलको एनफिल्डमै गएर फुटबल हेरेको अनुभव छैन, तर क्लबका समर्थकको हिसाबले त्यो दिन बटुलेको अनुभव त्योभन्दा कम थिएन । झन आफूले जस्तै जर्सी लगाएका हजार साथीसँग जितको खुसी साटा बटुलेको अनुभव शब्दमा कहाँ वर्णन गर्न सकिन्छ र ? क्लबको एन्थम नै हो, ‘यु विल नेभर वक एलोन ।’ अर्थात ‘तिमी एक्लै हिँड्ने छैनौं,’ । त्यो भनेको तिमी हिँड मेरो पनि साथ रहनेछ ।

प्रकाशित : जेष्ठ २७, २०७६ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्

तेहरो उपलब्धिको त्यो सिजन

हिमेशरत्न वज्राचार्य

काठमाडौँ — विश्वकै सर्वाधिक लोकप्रिय क्लब हो, म्यानचेस्टर युनाइटेड । भलै केही समययता म्यानचेस्टरको खेल राम्रो हुन सकेको छैन मैदानमा । त्यसले समर्थकको मायालाई पक्कै कम गर्ने छैन । एकपल्ट एउटा कुनै क्लब मन परेपछि समर्थकको व्यवहार त्यस्तै हुने गर्छ ।

नेपालमा कुनै एक क्लबका सबैभन्दा बढी समर्थक छन् भने त्यो म्यानचेस्टरकै हुनुपर्छ । यो आधिकारिक दाबी होइन, तर अनुभव र संगतले भन्ने गर्छ, नेपालमा म्यानचेस्टरका ‘डाइहार्ट’ धेरै छन् ।

यसको एउटा स्पष्ट कारण पनि । सन् १९८६ को विश्वकप नेपालमा टेलिभिजनबाट सबैमाझ पुगेको पहिलो थियो । त्यो विश्वकप म्याराडोनाको अर्जेन्टिनाले जितेको थियो । त्यसैले हाम्रोमा म्याराडोना र अर्जेन्टिनी समर्थक धेरै छन् । त्यसको एक दशकभन्दा केही बढी समयपछि नेपालीमाझ टेलिभिजनसम्मको पहुँच सजिलो भइसकेको थियो ।

सन् १९९९ मा यस्तै एउटा ठूलो फुटबलको उपलब्धि कोरिएको थियो । त्यसको पनि नेपाल फुटबलप्रेमीमाझ गहिरो प्रभाव रह्यो ।

त्यो सिजन म्यानचेस्टरले विश्व फुटबल इतिहासमै अद्वितीय सफलता हात पारेको थियो । त्यो थियो तेहेरो उपाधिको उपलब्धि । म्यानचेस्टरले त्यो सिजन इंग्लिस प्रिमियर लिग जित्यो । एफए कप अनि युरोपेली च्याम्पियन्स लिग पनि जित्यो ।

इंग्लिस फुटबल इतिहासमै एकै सिजन यी तीन ठूला उपाधि जितेको यो नै पहिलो थियो । अहिलेसम्म यसलाई कसैले बराबरी वा उछिन्न सकेको छैन । त्यस्तो हुन्न पनि होला । त्यस्तो विशेषछ यो ।

म्यानचेस्टरले सर एलेक्स फर्गुसनको नेतृत्वमा यसरी के तीन उपाधि जित्यो, त्यसका समर्थक पूरा विश्वमा अविश्वसनीय ढंगले बढ्यो । नेपाली फुटबलप्रेमीमाझ त्यसको प्रभाव पर्नु नै थियो । फर्गुसनले छाड्नु अघिसम्म पनि म्यानचेस्टर गज्जबको टिम थियो । टिमले जितिरहेको मात्र थिएन, राम्रो पनि खेलिरहेको थियो । यस्तोमा यसका समर्थक झन बढी हुन थाले । नेपालमा यो क्लबका समर्थक खुबै सक्रिय पनि छन् । उनीहरूको आफ्नै छुट्टै संगठित समूह नै छ ।

म्यानचेस्टरले खेल्ने बेला उनीहरू जब ठूलो स्क्रिन अगाडि हुन्छन् । त्यति बेला सुनिने आवाज ओल्ड ट्राफोर्डको झझल्को दिने खालको छ । अहिले सबै यो चर्चा किनभन्दा म्यानचेस्टरले आत्मसात् गरेको त्यो अद्वितीय सफलताको आइतबार २० वर्ष पूरा हुँदै छ ।

सन् १९९९ मे २६ । म्यानचेस्टर समर्थकले त्यो दिनलाई आखिरमा कसरी भुल्न सक्छन् र ? क्लब आफैंले पनि त्यसलाई भुलेको छैन । त्यसै दिनको सम्झनामा म्यानचेस्टर र बायर्न म्युनिखबीच मैत्रीपूर्ण खेल हुँदै छ ।

क्लबले तय गरेको त्यो तीन उपाधिको यात्रा वास्तवमै पटक्कै सजिलो भने थिएन । अझ भनौं निकै कठिन थियो । यसक्रममा त्यस्ता धेरै मोड आए, जहाँ धेरैले अनुभव गरेका थिए, सायद म्यानचेस्टरले केही पनि जित्ने छैन ।

जस्तो, म्यानचेस्टरले केही पनि जित्नु अगाडि एफए कप सेमिफाइनलमा म्यानचेस्टरको प्रतिद्वन्द्वी थियो, आर्सनल । म्यानचेस्टरलाई त्यति बेला बलियो चुनौती पेस गर्ने एकमात्र टिम आर्सनल नै थियो । त्यो फर्गुसन भर्सेस आर्सन वेंगरको प्रतिद्वन्द्विता पनि थियो ।

भिल्लापार्कमा भएको त्यस खेलमा म्यानचेस्टर अन्त्यतिर १० खेलाडीमा समेटिएको थियो । टिमले कप्तान रोय किन गुमाइसकेको थियो । इन्ज्युरी समयमा आर्सनलले पेनाल्टी पाएपछि त टिमको स्थिति अझ नाजुक भइसकेको थियो । पेनाल्टी हान्ने जिम्मा पाए, डच लेजेन्ड डेनिस बर्गक्याम्पले । आर्सनलका लागि बर्गक्याम्पले यसअघि ६ पेनाल्टी प्रहार गरेका थिए, त्यसमध्ये सबै गोलमा परिणत भएको थियो । उनले बल बायाँ कुना च्यापेर प्रहार गरे ।

त्यसको सही अनुमान लगाउँदै पिटर्स माइकलले डाइभ दिए र गोल हुन दिएनन् । लगत्तै रायन गिग्सले म्यानचेस्टरलाई गोल गरे । त्यसलाई अझै पनि भनिन्छ, एफए कप इतिहासकै सबैभन्दा उत्कृष्ट गोल ।

मैदानको मध्यभाग भन्दा पछाडिबाट, ७० यार्ड हुनुपर्छ, गिग्सले बल एक्लै अगाडि लगे र आर्सनलका केही खेलाडी छलाएर अविश्वसनीय गोल गरे । त्यो गोलले एकातर्फ म्यानचेस्टर समर्थकमाझ अपार खुसी छाएको थियो भने आसर्नल समर्थक स्वाभाविक रूपमा स्तब्ध ।

गिग्सले मनाएको गोलको खुसी पनि आफैंमा अनुपम थियो । फाइनलमा म्यानचेस्टरले न्युकासल युनाइटेडलाई वेम्बलीमा सजिलै हरायो, २–० ले । सुरुमा मिडल्सब्रोलाई हराएको म्यानचेस्टरले चौथो चरणमा लिभरपुलको चुनौती काटेको थियो ।

त्यस खेललाई अझै पनि दुई टिमबीचको सबैभन्दा उत्कृष्ट मानिन्छ । सेमिफाइनलअगाडि म्यानचेस्टरले फुलहम र चेल्सीलाई पन्छाएको थियो । एफए कप जितेपछि लिग पनि जित्यो । कप पनि जित्यो र त्यसलाई भनिन्छ इंग्लिस डबल्स ।

त्यो सिजन लिग जित्नेक्रममा म्यानचेस्टरले तीन खेलमात्र गुमाएको थियो, आसर्नलविरुद्ध हाइबुरीमा । सेफिल्ड युनाइटेडविरुद्ध उसकै घरमा अनि मिडल्सब्रोविरुद्ध आफ्नो घरमा । मिडल्सब्रोविरुद्धको खेल गुमाएको डिसेम्बरयता म्यानचेस्टरले कुनै खेल गुमाएन । यसैक्रममा म्यानचेस्टरले नटिघङम फरेस्टविरुद्ध ८–१ को जित पनि निकाल्यो । त्यसमा अहिलेका व्यवस्थापक ओले गनर सोल्सायरले ४ गोल गरे । त्यो पनि वैकल्पिक खेलाडीको रूपमा मैदानमा छिरेको १२ मिनेटभित्र ।

लिगको अन्त्यमा अंकतालिकालाई हेर्नुपर्छ, म्यानचेस्टरको यो यात्रा पक्कै सजिलो भने थिएन । म्यानचेस्टरले दोस्रो स्थानमा रहेको आर्सनलमाथि खाली एक अंकको मात्र निर्णायक अग्रता लिन सकेको थियो । अन्तिम दिन आर्सनललाई उछिन्न म्यानचेस्टरले टोटेनहमलाई हराउनुपर्ने थियो । सुरुमा टोटेनहमले अग्रता लिएपछि त एकछिन धेरैलाई लागेको थियो । सायद लिगको उपाधि म्यानचेस्टरको होइन तर खेल अन्त्यमा २–१ ले टुंगियो जितसँगै ।

च्याम्पियन्स लिगमा म्यानचेस्टरले तय गरेको यात्रा अझ रोमाञ्चित खालको छ । समूह चरणमा म्यानचेस्टरको प्रतिद्वन्द्वी थिए, बार्सिलोना र बायर्न म्युनिख । त्यसमा बार्सिलोना तेस्रो स्थानमा रह्यो । शीर्ष दुईमा रहे बायर्नपछि म्यानचेस्टर । यही बायर्नसँग आखिरमा म्यानचेस्टरले फाइनल खेल्यो । यसअघि म्यानचेस्टरले इन्टर मिलान र युभेन्ट्सको पन्छाएको थियो । फेरि फाइनल भएको थियो, बार्सिलोनाको घरेलु मैदान नोउ क्याम्पमा ।

त्यस रातको खेलमा के भयो, धेरै लेखिएका छन् । तर यो क्रम रोकिने भने छैन । बायर्नले मारियो बास्लरको गोलले अग्रता लिएको थियो छैटौं मिनेटमा । बायर्नले लिएको त्यो अग्रता निर्धारित ९० मिनेटसम्म पनि कायम थियो ।

फेरि एकपल्ट सबैलाई लागिसकेको थियो, अब म्यानचेस्टरको पालो हो निराश हुने । तर होइन म्यानचेस्टरका लागि इन्ज्युरी समयको पहिलो मिनेटमा टेडी सेरिङघमले गोल गरे अनि तेस्रो मिनेटमा त्यो प्रसिद्ध विजयी गोल गर्ने खेलाडी थिए, तिनै सोल्सायर ।

विश्व खेलकुद इतिहासमै म्यानचेस्टरले हात पारेको त्यो सफलतालाई दुर्लभ मानिन्छ । यो आफैंमा कोसेढुंगा भयो नै । अन्त्यमा त्यो सिजनको म्यानचेस्टरका लागि खेल्ने प्रमुख खेलाडीको नाम सम्झौं त, रोय किन, पिटर्स माइकल, ग्यारी नेभिल, याप स्टाम, रायन गिग्स, डेविड बेकह्याम, पाउल स्कोल्स, निकी बट, डाइट योर्क, एन्डी कोल, टेडी सेरिङघम, फिल नेभिल अनि ओले गनर सोल्सायर आदि । व्यवस्थापक उनै सर एलेक्स फर्गुसन । क्या टिम थियो त्यो । त्यो सिजन म्यानचेस्टरले छाडेको छापको ‘लेगेसी’ वास्तवमै ऐतिहासिक छ ।

प्रकाशित : जेष्ठ ११, २०७६ ०८:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्