स्पोर्ट्स अवार्डलाई गोल्डस्टारको सहप्रायोजन

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल खेलकुद पत्रकार मञ्चले १६ औं संस्करणको पल्सर स्पोर्ट्स अवार्डका लागि किरण सुज मेनुफ्याक्चर कम्पनीसँग मुख्य सहप्रायोजन सम्झौता गरेको छ । किरण सुजको उत्पादत गोल्डस्टार उत्कृष्ट नेपाली उत्पादनको रूपमा स्थापित छ ।

नेपाल खेलकुद पत्रकार मञ्च र किरण सु म्यानुफ्याक्चरको गोल्ड स्टारले सहप्रायोजनका लागि सहमतिपत्र आदानप्रदान गर्दै मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी र किरण सुकी विदुषी राणा ।तस्बिर : हेमन्त श्रेष्ठ/कान्तिपुर

आइतबार आयोजित कार्यक्रममा किरण सुजकी मार्केटिङ एन्ड ब्रान्डिङ निर्देशक विदुषी राणा र नेपाल खेलकुद पत्रकार मञ्त्रका अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र) ले सम्झौतापत्रमा हस्ताक्षर भयो । सम्झौताअनुसार यस संस्करणको स्पोर्टस अवार्डका लागि गोल्डस्टारले ११ लाख रुपैयाँ बराबरको नगद र जिन्सी सामान प्रायोजन गर्नेछ ।

गोल्डस्टारले ८ लाख रुपैयाँ नगद र ३ लाखबराबरको जिन्सी प्रदान गर्नेछ । अवार्डका विजेता तथा मनोनयनमा परेकाहरूलाई गिफ्ट ह्याम्परको रूपमा जिन्सी सहयोग हुने सम्झौता भएको हो । मञ्च र गोल्डस्टारबीच पहिलोपल्ट सम्झौता भएको हो । आगामी संस्करणमा पनि सम्झौता नवीकरण गर्न सकिने किरण सुजकी निर्देशक राणाले बताइन् ।

‘खेलकुद स्पाइकको उत्पादनमा नम्बर १ कम्पनीको रूपमा स्थापित हुने चरणमा रहेको गोल्डस्टार नेपालकै सर्वाधिक चर्चित स्पोर्टस अवार्डसँग सहकार्य गर्न पाउँदा गर्व महसुस गरेका छौं, अवार्डका आगामी संस्करणहरूमा पनि सहयोग निरन्तर रहनेछ,’ पत्रकार सम्मेलनमा राणाले भनिन् ।

यस वर्षको अवार्ड समारोह असार १७ गते प्रज्ञा भवन कमलादीमा हुँदै छ । १० विधामा खेलाडी, प्रशिक्षक, खेलकर्मी र पत्रकारलाई सम्मान गर्ने अवार्डका लागि पिपुल्स च्वाइस विधाको मनोनयन सार्वजनिक यसअघि नै भइसकेको छ । वर्षको उत्कृष्ट पुरुष, महिला, युवा खेलाडी र प्रशिक्षकको मनोनय छिट्टै सार्वजनिक गरिने मञ्चले जानकारी दिएको छ । स्पेसल अवार्ड, लाइफ टाइम अचिभमेन्ट अवार्ड, टिम अफ द इयर र पारा एथ्लिट अवार्डको घोषणा अवार्ड समारोहकै दिन गर्दै छ ।

प्रकाशित : जेष्ठ २७, २०७६ ०९:१२
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

ठमेलमा एनफिल्ड

हिमेशरत्न वज्राचार्य

काठमाडौँ — त्यस्तो माहोल यसअघि कमैले अनुभव गरेका होलान् । यसले देखाउँछ हाम्रोतिर बढदै गएको क्लब फुटबल समर्थनको संस्कृति । पछिल्लो शनिबार युरोपेली च्याम्पियन्स लिगको फाइनल थियो, लिभरपुल र टोटेनहमबीच । लिभरपुलले त्यो खेल जितेर छैटौंपल्ट युरोपेली च्याम्पियन भयो, यो त नयाँ भएन ।

ठमेलको पर्पल हेजमा च्याम्पियन्स लिग फुटबलको फाइनल हेर्न पुगेका लिभरपुलका समर्थकहरू ।तस्बिर : किरण पाण्डे/कान्तिपुर

नयाँ के रह्यो भने त्यस क्रममा मध्यरात ठमेलमा देखिएको दृश्य । त्यस रात त्यहाँको पर्पल हेजमा स्क्रिनिङ थियो खेलको ।

त्यो पनि लिभरपुलका समर्थकका लागि मात्र । त्यसमाथि झन त्यहाँ प्रवेश गर्ने अनिवार्य सर्त थियो, लिभरपुलको जर्सी । लगभग हजारको संख्यामा थिए होला, लिभरपुल समर्थक क्लबको जर्सीमा । वास्तवमै त्यो दृश्य गज्जब थियो । पर्पल हेजभित्र त झन् गज्जब । त्यहाँ लेखिएको थियो— एनफिल्ड नेपाल । मर्सिसाइड क्लबको घरेलु मैदान हो एनफिल्ड । पर्पल हेज पुगेपछि त्यसले पनि लगभग त्यसकै झल्को दिन्छ । यस क्लबमा चारैतिर लिभरपुलसँग जोडिएका चिन्ह, लोगो, झन्डा मात्र छन् ।

अनि क्लबमा जति पनि कार्यरत छन्, ती पनि जर्सीमै छन् । यसलाई चलाइरहेका छन्, अशोक सेन र स्वप्निल शर्माले । उनीहरू दुवै लिभरपुलका समर्थक हुन् । उनीहरूको आफ्नै ब्यान्ड पनि छ । फाइनल अगाडि उनीहरूले केही गीत पनि प्रस्तुत गरे । ब्यान्डको नाम हो, अल स्टार्स । भनिरहनुपर्दैन, ब्यान्डले जति पनि गीत प्रस्तुत गरे, ती सबै लिभरपुलसँगै सम्बन्धित थिए । गायक अशोकले त्यस दिन मुकुन्डो लगाएका थिए, प्रशिक्षक योर्गन क्लोपको ।
त्यसको अर्थ यसो भन्दा पनि हुन्छ, ठमेलमा क्लोप । त्यो स्क्रिनिङ आयोजना गरेको थियो, आधिकारिक लिभरपुल फ्यान क्लब नेपालले । आधिकारिक मान्यता पाएका समर्थक क्लबमा पर्छ, यो । खेल हेर्ने निम्तो दिन आफैं आइपुगेका थिए, सुशोभन मल्ल । स्क्रिनिङको कार्यक्रम राख्न एक सातादेखि उनी व्यस्त थिए । लिभरपुलले उपाधि जित्ने तय भएपछि त्यहाँ स्वर चर्को हुने भयो नै । अझ खेल नै सकेपछि त झन के कुरा गर्नु ।

त्यसै पनि एनफिल्डमा गुन्जिने स्वर अरूतिर भन्दा चर्को हुन्छ । त्यस दिन पर्पल हेजमा सुनिएको स्वर पनि कम्ती थिएन । पछिल्लो समय फुटबल हेर्ने चलनमा हाम्रोतिर व्यापक परिवर्तन आएको छ । विश्वकपको चमक हाम्रोमा अझै घटेको छैन तर त्यस प्रतियोगिताभन्दा क्लब फुटबलमै रमाउने धेरै हुन थालेका छन् । त्यसो भनेको कुनै देशको समर्थकभन्दा पनि कुनै क्लबको समर्थक हुने क्रम बढो छ । सन् १९८६ देखि नेपालमा विश्वकपका खेल प्रत्यक्ष प्रसारणमार्फत हेर्ने चलन सुरु भएको थियो ।

त्यो विश्वकप डिएगो म्याराडोनाको अर्जेन्टिनाले जितेको थियो । त्यसैले अझैसम्म पनि हाम्रोतिर अर्जेन्टिना र म्याराडोनाका समर्थक धेरै छन् । हाम्रोमा क्लब फुटबल हेर्ने चलन त्यसको धेरै वर्षपछि मात्र आएको हो । त्यस विश्वकपको केही वर्षपछि एनटीभीमा रोड टु वेम्बली र फुटबल मेड इन जर्मनीजस्ता कार्यक्रम सुरु भए । त्यसले नै हाम्रोमा क्लब फुटबल हेर्ने बानी बसाल्यो । पछि इटालीको फुटबलसम्बन्धी कार्यक्रम चलेको थियो ।
जति बेला रोड टु वेम्बली चलेको थियो, त्यति बेला इंग्लिस फुटबलमा लिभरपुलको जगजगी थियो । त्यसैले त्यस समयको पुस्ताका फुटबलप्रेमी बढीभन्दा बढी लिभरपुलका समर्थक भए । टेलिभिजनमा फुटबल हेर्ने नभएर रेडियोबाट फुटबल सुन्ने जमानाका पनि केही लिभरपुल समर्थक भेटिन्छन् । निजी स्पोर्टस च्यानल आउन थालेपछि भने युरोपली क्लब फुटबल सजिलै हाम्रो कोठाकोठामा प्रवेश गर्‍यो । त्यति बेला इंग्लिस फुटबलको युग थियो, सर एलेक्स फर्गुसनको म्यानचेस्टर युनाइटेडको ।

यो समयले कति धेरै जबरदस्त प्रभाव पार्‍यो भने नेपालमा सबैभन्दा बढी समर्थन प्राप्त क्लब यही हो । इंग्लिस प्रिमियर लिगका चार टिमको हाम्रोमा फ्यान क्लब छन्, लिभरपुल र म्यानचेस्टरसँगै आर्सनल र चेल्सीको । म्यानचेस्टरको प्रभुत्व चलेको बेला त्यस टिमलाई चुनौती दिने एउटै थियो, आर्सेन वेंगरको आर्सनल । आर्सनलका समर्थक पनि उत्तिकै छन् हाम्रोमा । रोमन एब्राहिमोभिचले चेल्सी किनेपछि यसका समर्थक पनि बढे ।
जोसे मोउरिन्हो आएयता चेल्सीले धेरै जित्यो । जित्ने काम गर्‍यो, हाम्रा फुटबल समर्थकको मन पनि । सन् २००५ मा लिभरपुलले एसी मिलानलाई हराएर पाँचौंपल्ट च्याम्पियन्स लिग लिग जित्दा पनि नेपालमा यसका समर्थक बढेका हुन् । यी चार इंग्लिस क्लबका समर्थक नै धेरै छन्, हाम्रोमा । समर्थकको क्लब भएको अरू दुई क्लब हुन्, स्पेनका बार्सिलोना र रियल म्याड्रिड । क्लब समर्थकको क्लब बनाएर सार्वजनिक रूपमा स्क्रिनिङ हुन थालेको भने केही वर्ष मात्र भएको छ र यो खुबै लोकप्रिय पनि छ ।

यसको सबैभन्दा राम्रो उदाहरण त पर्पल हेजमा देखाइएको भर्खरैको फाइनल नै भयो । अहिलेको क्लब समर्थक नेपाली प्रशंसकलाई खास ‘सपोर्टर’ भन्दा पनि हुन्छ, किनभने उनीहरूको समर्थन आफैंमा गम्भीर छ । केही वर्षअगाडिको कुरा हो, खेलपत्रकार प्रेम ढकाललाई कोही विदेशीले सोधेछन्, उनको प्रिय क्लबबारे । उनको उत्तर थियो, म्यानचेस्टर युनाइटेड र लिभरपुल । यो सुनेर ती विदेशी दंग परेछन् । हुन पनि कहीं कतै कोही कसरी यी दुई क्लबको समर्थक हुन सक्छन् र ?

अर्का पत्रकार प्रजित शाक्यलाई पनि यी दुवै क्लब मनपर्छ । आखिरमा यी पुराना पुस्ताका समर्थक हुन् । तर अचेलका समर्थकमाझ यस्तो हुन्न । समर्थक प्रदर्शन, प्रवृत्ति र इतिहासमा टिकेर हुन्छ । लिभरपुलले यसपल्ट च्याम्पियन्स लिग जित्दा सबैभन्दा हाम्रोमा दु:ख भएभन्दा ती म्यानचेस्टरकै समर्थक थिए । अनि टोटनहम पराजित हुँदा सबैभन्दा खुसी हुने कोही समर्थक थिए भने ती आर्सनलका थिए । सायद चेल्सी समर्थकलाई पनि लिभरपुल जितकैमा खुसी थियो ।

क्लब फुटबल पछ्याउने हुनुपर्छ, धेरैलाई थाहा छ, लिभरपुल र म्यानचेस्टर पारम्परिक रूपमा विरोधी क्लब हुन् । यस्तै विरोधी सम्बन्ध हुने गरेको छ, दुई उत्तरी लन्डन क्लब आर्सनल र टोटेनहमको पनि । बार्सिलोना र रियलका समर्थक पनि एकै स्थानमा बस्न नसक्ने नै भए । यी दुई क्लबको ऐतिहासिक रूपमै खराब सम्बन्ध रहेको छ, हाम्रोतिर पनि यसका समर्थक एकआपसमा विरोधी हुने भए नै । घोर शत्रु भने पनि हुन्छ ।
पछिल्लो विश्वकपको बेला अनुभव गरेको हो, केही फुटबलप्रेमी त्यही टिमको समर्थन गर्दै थिए, जससँग आफूलाई मन पर्ने क्लबको खेलाडी खेलिरहेको थियो । त्यो भनेको नेपालमा फुटबल हेर्ने संस्कृतिमा परिवर्तन आउँदै छ । साथी बन्ने कारणमध्ये सबैभन्दा बढी सम्भावना सँगै टोलमा हुर्केबढेका र पढेका हुन्छन्, होइन भने सँगै काम गर्ने । अब साथी बन्ने र समूह बनाउने एउटा कारण बनेको छ, फुटबल क्लब । आफूलाई मनपर्ने क्लबका समर्थक पनि अब साथी ।

पछिल्लो साता यस्तै अनुभव भयो, पर्पल हेजमा । त्यो दिनको अनुभव वास्तवमै अनुपम थियो । व्यक्तिगत रूपमा लिभरपुलको एनफिल्डमै गएर फुटबल हेरेको अनुभव छैन, तर क्लबका समर्थकको हिसाबले त्यो दिन बटुलेको अनुभव त्योभन्दा कम थिएन । झन आफूले जस्तै जर्सी लगाएका हजार साथीसँग जितको खुसी साटा बटुलेको अनुभव शब्दमा कहाँ वर्णन गर्न सकिन्छ र ? क्लबको एन्थम नै हो, ‘यु विल नेभर वक एलोन ।’ अर्थात ‘तिमी एक्लै हिँड्ने छैनौं,’ । त्यो भनेको तिमी हिँड मेरो पनि साथ रहनेछ ।

प्रकाशित : जेष्ठ २७, २०७६ ०९:१०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT