३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

एन्फाका अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख पाँडेद्वारा राजीनामा

काठमाडौँ — अखिल नेपाल फुटबल संघ (एन्फा) का अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख तथा सल्लाहकार समितिका प्रमुख नवीन पाँडेले सोमबार पदबाट राजीनामा दिएका छन् ।

एन्फाका अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख पाँडेद्वारा राजीनामा

२०७५ वैशाख २२ मा भएको निर्वाचनलगत्तै अध्यक्ष कर्माछिरिङ शेर्पा नेतृत्वको पहिलो कार्यसमिति बैठकद्वारा अन्तर्राष्ट्रिय सम्बन्ध र सल्लाहकार समिति प्रमुखमा मनोनयन गरिएका पाँडेले भने, ‘नेपाली फुटबलमा संस्थागत व्यवस्था र व्यावसायिकताका लागि परिवर्तन पक्षधरलाई सहयोग गरिएको थियो । तर निर्वाचनयता नयाँ कार्यसमितिले एक वर्ष पूरा गर्दासम्म पनि त्यस्तो परिवर्तनका लागि काम गरेको आभाष दिन सकेन । नेतृत्वको कार्यशैलीप्रति सन्तुष्ट नहुँदा पदमा बसिरहन उचित लागेन । कुनै जिम्मेवारीमा नरहे पनि नेपाली फुटबलको विकासमा साथ दिन सधैं तयार छु ।’


गत वर्ष निर्वाचनलगत्तै फिफा कंग्रेसमा सहभागी हुँदा एन्फाभित्रै चर्को विरोध झेलेका पाँडे केही महिनायता एन्फाको सातदोबाटोस्थित कार्यालय जान छाडेका थिए । स्वयंसेवकको रूपमा जिम्मेवारी वहन गरेका उनले एन्फामा पद्धति बसाल्ने कार्य थालनी नगरेको भन्दै गत कात्तिकमा पनि पदबाट राजीनामा गरेका थिए । तर उनको राजनीनामा एन्फाले अस्वीकार गरिदियो ।


दुई दशक बढी एन्फाको नेतृत्व गरेका गणेश थापालाई फुटबलको सत्ताबाट हटाउन कर्माछिरिङ शेर्पाको समूह सक्रिय रहदा पाँडेको विशेष भूमिका रहेको थियो । उनले एसियाली फुटबल महासंघ (एएफसी) र अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) मा लबिइङ गर्नेदेखि वकालत गर्नेसम्मको व्यवस्था गरेका थिए ।


गणेश थापालाई भ्रष्टाचारको अभियोगमा फिफाले प्रतिबन्ध लगाएपछि उनीनिकट नरेन्द्र श्रेष्ठले एन्फाको नेतृत्व सम्हालेका थिए । गत वर्ष भएको निर्वाचनमा भने ‘विद्रोही’ पक्ष शेर्पाको समूहले कार्यसमितिमा ‘क्लिन–स्वीप’ गरेको थियो । पाँडेले उनै शेर्पालाई ए डिभिजन क्लब हिमालयन शेर्पादेखि एन्फामा गणेश थापाविरुद्धको शुद्धीकरण अभियानसहितमा गरी आठ वर्षयता निरन्तर साथ दिएका थिए ।


प्रकाशित : जेष्ठ २७, २०७६ २१:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?