कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

महेश्वरको मिहिनेत

काठमाडौँ — वर्ष २०७५ नेपाली शारीरिक सुगठन खेलका लागि स्वर्णिम बन्यो । थाइल्यान्डमा सम्पन्न विश्व शारीरिक सुगठन तथा फिजिक्स च्याम्पियनसिपमा महेश्वर महर्जनले स्वर्ण पदक जिते । उनले जितेको स्वर्ण नेपाली शारीरिक सुगठनले विश्वस्तरको जितेको पहिलो स्वर्ण पदक थियो । उनी ७५ केजी तौल समूह विजेता भएका हुन् । 

महेश्वरको मिहिनेत

च्याङमाइमा पाएको त्यो सफलतापछि उनी एकाएक चर्चामा आए । धेरैलाई कौतुलहता लाग्यो । स्वर्णधारी महेश्वर को हो त ? चर्चामा उनी मात्र रहेनन्, यो खेल नै एउटा आकर्षणको केन्द्र भयो । वर्ष २०७५ मा नेपाली खेलकुदबारे चर्चा गर्दा महेश्वरलाई छुटाउन मिल्दैन ।


त्यसैले त १६ औं एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको पिपल्स च्वाइस विधाको मनोनयनमा परेका छन् यी खेलाडी । यो विधामा फुटबल र क्रिकेटको बढी वर्चस्व हुने गर्छ । शारीरिक सुगठनका खेलाडी यो विधाको मनोनयनमा पर्नु दुर्लभ जस्तै हो । त्यसैले महेश्वर आफैं खुसी छन् । उनी मान्छन्, मनोनयनमा पर्नु नै जितेबराबर हो ।


शरीर चिटिक्क बनाउने रहर कसको मात्र हुन्न ? धेरै यही लोभले कुनै न कुनै दिन जिमखाना छिरेकै हुन्छन् । त्यही बेला थाहा हुने हो, ‘बडीबिल्डिङ’ को यो रहर सजिलो भने छैन । अझ शारीरिक सुगठनकै खेलाडी हुने हो भने त मिहिनेत दह्रो चाहिन्छ । त्यसका लागि ठूलै त्याग र तपस्या पनि । महेश्वर त्यही ठान्छन् ।


धेरै वर्षअगाडि उनको शरीर मसिनो थियो । त्यसैले अरू जस्तै घर नजिकको जिमखाना छिरे । त्यो स्कुल जाँदाको समय हो । अहिले उनको आफ्नै जिमखाना छ । त्यही जिमखानाबाट अहिले कसरतपछि बाहिर निस्कनुपर्छ । उनको शरीर देखेर लोभ लाग्छ । लोभ मात्र के र ? त्यही शरीरले नेपाललाई ऐतिहासिक सफलता पनि दिलाएको छ, त्यो वर्ल्ड च्याम्पिनयसिपमै ।


नेपाली खेलकुदमा नजिकका धेरैले गत वर्ष सामाजिक सञ्चालमा कोही एक खेलाडीको धेरै चर्चा गरे भने त्यसमा पक्कै पर्नेछन् यिनै महेश्वर । ३५ वर्षे उनी यत्तिकै रोकिने पक्षमा पनि छैनन् । उत्तिकै दत्तचित्त भएर यस प्रतिष्ठित अवार्ड जित्न लागिपरेका छन् । भन्छन्, ‘यो नेपाली खेलकुदको सबैभन्दा ठूलो अवार्ड हो ।’


पल्सर स्पोर्टस अवार्डको यो विधामा पाँच प्रत्याशी छन् । त्यसको निर्णय हुनेछ मतका आधारमा । सामाजिक सञ्जाल फेसबुक र एसएमएसमार्फत आएको मतसँगै राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षक र आयोजक मञ्चका सदस्यले दिएको मतले निर्णायक हुनेछ विजेता बन्न ।


‘यो विधामा धेरै प्रतिस्पर्धा छ,’ उनी मान्छन् । यस्तै चर्को प्रतिस्पर्धा थाइल्यान्डमा भएको थियो । सन् १९९७ बाट व्यावसायिक रूपमा यो खेलमा ओर्लिएका महेश्वरले ६ वर्षपछि धर्मश्रीमा पहिलोपल्ट भाग लिए । त्यसअघि भुटानमा भएको ५० औं एसियाली बडीविल्डिङ च्याम्पियसिपमा पनि स्वर्ण जितेका महेश्वरले धर्मश्री कै १३ औं संस्करण पनि जितेका थिए । उनले त्यति बेलै ७५ केजी तौल समूहमा स्वर्ण जितेका थिए ।


भित्री काठमाडौंका रैथाने महेश्वर युवापुस्ताका प्रतिनिधिपात्र हुन् । केही वर्षअघि उनी पनि विदेशतिर लागेका थिए । तर नेपाल नै फर्के । यो भने उनको प्रशंसायोग्य काम भयो र केही साथीसँग मिलेर जिम सेन्टर खोले । अहिले उनी मिस्टर युनिभर्सलमा भाग लिन धुमधामले तयारी गरिरहेका छन् । अब यो तयारीमा जोडिएको छ, पिपल्स च्वाइस अवार्ड जित्ने धुन पनि । आफ्नो शरीर बनाउन दिनरात एक गरिरहेका महेश्वर चाहन्छन्, ‘यो अवार्ड जितौं र युनिभर्सल तयारी पनि ।’

प्रकाशित : जेष्ठ २८, २०७६ ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?