१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

घरेलु कोर्टबाट आर्मीको पुनरागमन

कुशल तिमल्सिना

काठमाडौँ — घरेलु भलिबलको महारथी टोली हो त्रिभुवन आर्मी क्लब । लगातार ५ प्रतियोगिताको फाइनलमा पुगेर पनि उपाधिबाट वञ्चित रहेको यो टोलीले सोमबार उपाधि खडेरी टारेको छ । गण्डकी प्रदेश टोलीविरुद्ध सानदार पुनरागमनसहित ३–१ को सेटमा जित हासिल गरी आर्मी लगातार चौथोपल्ट प्रधानसेनापति राष्ट्रिय भलिबल च्याम्पियन बनेको हो । 

घरेलु कोर्टबाट आर्मीको पुनरागमन

अधिकांश राष्ट्रिय टोलीका खेलाडीले भरिए पनि आर्मीले पछिल्ला केही महिना अपेक्षाकृत प्रदर्शन गर्न नसकेकोमा आलोचना त भएकै थियो । खेलाडीहरू पनि उत्तिकै दबाबमा थिए । गण्डकीविरुद्ध आफ्नै कोर्टमा उल्लेख्य घरेलु समर्थकमाझ पहिलो सेटमा अप्रत्यासित पछाडि परेको आर्मीले बाँकी तीन सेटमा उत्कृष्ट प्रदर्शन गर्‍यो ।


डेढ वर्षअघि आर्मीको मुख्य प्रशिक्षक रहेका कपिलकिशोर श्रेष्ठ छैटौं प्रयासमा पहिलो उपाधि जितेपछि खुसी देखिए । ‘पहिलो सेटमा हामी आफ्नै कारणले हारेका थियौं, प्रधानसेनापतिसामु यति धेरै दर्शकबीच खेलाडीहरू आत्तिए जस्तो लाग्यो, बाँकी सेटमा हामीले विपक्षीलाई हाम्रो कमजोरीमा खेल्ने मौका दिएनौं,’ प्रशिक्षक श्रेष्ठले भने ।


‘लगातारको हारपछि हामी राम्रो अवसरको खोजीमा थियौं । मुख्यगरी प्रशिक्षणका क्रममा हामीले सर्भिस रिसिभमा मुख्य सुधार प्रयास गरेका थियौं, प्रतियोगिताभर हाम्रा खेलाडीले रिसिभमा धेरै सुधार गरे,’ उत्कृष्ट प्रशिक्षक चुनिएका श्रेष्ठले थपे, ‘विशेष गरी सेमिफाइनल र फाइनलमा हाम्रा खेलाडीले फाइटिङ स्पिरिट देखाए ।’ पुलिसविरुद्ध सेमिफाइनलमा पनि आर्मीले पहिलो सेट गुमाएर बाँकी तीन सेटमा सफलता पाएको थियो ।


२०७५ पुस तेस्रो साता इटहरीमा भएको सभामुख कप राष्ट्रिय भलिबलमा नेपाल पुलिस क्लबसँग पराजित भएयता लगातार ५ प्रतियोगितामा आर्मीको बाटो पुलिसले रोक्दै आएको थियो । त्यसपछि चितवनमा भएका दुई प्रतियोगिता, बाँकेमा भएको आठौं राष्ट्रिय खेलकुद र ताप्लेजुङमा वैशाख अन्तिम साता सम्पन्न पाथीभरा कप भलिबलको फाइनलमा आर्मी पराजित भएको थियो ।

निर्णायक खेलमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै प्रशिक्षकले आफ्ना मुख्य स्पाइकर मानबहादुर श्रेष्ठको प्रशंसा गरे । ‘सेमिफाइनल र फाइनलमा उसको (मानबहादुर) प्रदर्शन निर्णायक थियो । मेरो विचारमा उसलाई छिट्टै राष्ट्रिय टोलीमा बोलाइनेछ,’ उनले भने । आठौं राष्ट्रिय खेलकुदमा आर्मीको टिममा खबरै नगरी जापानमा भलिबल खेल्न गएका कारण नेपाल भलिबल संघले सार्वजनिक गरेको राष्ट्रिय खेलाडीको प्रारम्भिक सूचीमा उनको नाम थिएन । संघले आठौंको प्रदर्शनका आधारमा खेलाडी छनोट गरिएकाले प्रतियोगिता नखेल्ने खेलाडी समावेश नभएको बताएको थियो ।


सोमबार अपराह्न लगनखेलस्थित सैनिक शारीरिक सुगठन तथा तालिम केन्द्रको कभर्डहलमा पहिलो सेटमा आर्मी त्यति कमजोर देखिएला भन्ने सायदैले सोचेका थिए । १६–२५ ले हारेको त्यस सेटमा आर्मीले कुनै पनि समयमा अग्रता बनाउन सकेन । गण्डकीले सेट एकतर्फी बनायो । दोस्रो सेट भने ठीक उल्टो भयो । गण्डकीको ३–२ को सुरुआती अग्रता उल्टाउँदै आर्मीर् लगातार ११ अंक जोडेर १५–६ को सहज अवस्थामा पुग्यो । त्यसपछि आर्मीले २५ अंक पुर्‍याउँदा गण्डकीले २ अंकमात्र थप्न सक्यो ।


तेस्रो सेटमा सुरुदेखि नै अग्रता बनाएको आर्मीले कुनै पनि समय गण्डकीलाई खेलमा फर्कन दिएन । लगातार अंक जोडेर त्यस सेटमा २५–१० को जित हासिल गरेपछि दबाबमुक्त देखिएको आर्मीलाई चौथो सेटको सुरुआती समयमा गण्डकीले पुनः दबाब बढायो । ४–० ले पछि परेपछि आर्मीका प्रशिक्षक श्रेष्ठले टाइमआउट लिए । त्यसपछि पनि आर्मीले आवश्यक अंक जोड्न सकिरहेको थिएन ।


गण्डकीले ९–५ को अग्रता बनायो । त्यसपछि लय समातेको आर्मीले १७ अंक जोड्दा गण्डकीलाई १२ अंकमै रोक्यो । निर्णायक सेटमा ५ अंकले पछि परेपछि गण्डकीको निराशा बढ्दा आर्मीले २५–१५ ले सेट जित्दै उपाधिसहित ३ लाख रुपैयाँ पुरस्कार पायो । प्रधानसेनापति भलिबलमा चार संस्करण सम्पन्न भयो । अहिलेसम्म अन्य टोलीले उपाधि जितेका छैनन् ।


‘स्पाइकमा हामी विभागीय टोलीभन्दा कम छैनौं तर रक्षात्मक खेलमा सुधार गर्न नसक्दा हारियो । सर्भिस, रिसिभ, ब्लक सबैमा चुक्यौं, आजको हारको कारण पनि त्यही हो,’ गण्डकीका प्रशिक्षक राजकुमार गुरुङले खेलपछि भने, ‘१२ महिना प्रशिक्षण गर्ने उनीहरू (विभागीय टिम) लाई चुनौती दिनु नै हाम्रा लागि ठूलो कुरा हो, हामीले त खेलाडी संकलन गरेर ल्याएका थियौं । लगातार दोस्रोपल्ट प्रतियोगिताको फाइनल खेल्दा हामीलाई गर्व लागेको छ, म खेलाडीको प्रदर्शनमा पूर्ण सन्तुष्ट छु ।’


सेमिफाइनलमा गण्डकीले उपाधि दाबेदार एपीएफलाई ३–१ को सेटमा हराएको थियो । उनले अर्को संस्करणमा सहभागी हुनुअघि २–३ महिनाको प्रदर्शनको प्रयास गरिने योजना सुनाए । उपविजेता गण्डकीले १ लाख ५० हजार रूपैयाँ पुरस्कार पायो । एपीएफलाई हराएर तेस्रो भएको नेपाल पुलिसले ७५ हजार रुपैयाँमा चित्त बुझायो ।


आर्मीका भैरव बम उत्कृष्ट खेलाडी बने । उनले बजाज पल्सर मोटरसाइकल पुरस्कार पाए । विधागततर्फ आर्मीका तीन खेलाडी उत्कृष्ट बने । लिफ्टरमा दुर्गाप्रसाद महतो, डिफेन्डरमा ईश्वर थापा र ब्लकरमा हरि अधिकारी उत्कृष्ट चुनिए । पुलिसका कुलबहादुर थापा उत्कृष्ट सर्भर, गण्डकीका याम क्षेत्री उत्कृष्ट स्पाइकर तथा आर्मीका प्रशिक्षक श्रेष्ठ उत्कृष्ट बने । उनीहरूले जनही १० हजार रुपैयाँ पुरस्कार पाए ।

प्रकाशित : जेष्ठ २८, २०७६ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?