डल्फिन च्याम्पियन

कान्तिपुर संवाददाता

काठमाडौँ — नेक्सस क्रिकेट एकेडेमीको आयोजनामा मुलपानी क्रिकेट मैदानमा भएको ब्रम्हास्मी एसईई कप क्रिकेटमा कैलालीको डल्फिन च्याम्पियन भएको छ । बुधबार फाइनलमा डल्फिनले काठमाडौं रोयल्सलाई ७४ रनले हरायो ।

टस जितेर ब्याटिङ रोजेको डल्फिनले निर्धारित ३० ओभरमा २७.३ ओभर खेल्दै १ सय ६२ रन बनायो । सुदीप बस्नेतले ३६, साहिल पटेलले २९, डबल ऐरले २७ र शरद सुवेदीले १६ रन बनाए । काठमाडौंका बलर सुमित बुढाथोकीले २८ रन खर्चेर ३ विकेट लिए । अनुप नेपाल र रोशन शाहले २–२ तथा निकेश गुप्ता र साहियद मन्सुरीले १–१ विकट लिएका थिए ।

जवाफी ब्याटिङमा उत्रेको काठमाडौं १८.३ ओभरमा ८८ रनमै अलआउट भएको थियो । साहियदले २६, निकेश गुप्ताले १४, अनुप नेपालले १३ र सुनोज केसीले १२ रनमात्र बनाए । कैलालीका डबल ऐरले ह्याट्रिकसहित ६ विकेट लिए । उनले १५ रन दिए । रमेश बुढा र सुदीप बस्नेतले १–१ विकेट लिएका थिए । म्यान अफ द म्याच डबल ऐर भए ।

म्यान अफ द सिरिज साहियद मन्सुरी, उत्कृष्ट बलर निकेश गुप्ता र उत्कृष्ट ब्याट्सम्यान सुदीप बस्नेत घोषित भए ।ब्रम्हास्मी कलेजका अध्यक्ष क्षितिज उपाध्यायले उत्कृष्ट खेलाडीलाई कक्षा ११ र १२ मा अध्ययन गर्न छात्रवृत्ति प्रदान गर्ने घोषणा गरे । साथै अम्पायर टिमले छनोट गरेका अन्य तीन उत्कृष्ट खेलाडीलाई पनि निःशुल्क छात्रवृत्ति प्रदान गर्ने बताए ।

आयोजक नेक्सस एकेडेमीका अध्यक्ष भरतकुमार शाहीले उत्कृष्ट ६ खेलाडीलाई भारतको नोयडास्थित क्रिकेट एकेडेमीमा एक वर्षे निःशुल्क प्रशिक्षणको घोषणा गरेका थिए ।

एसईई कप २०७७ मा भने थपचार सामरिक महत्त्वका सहरको नामबाट टिम थप गरिने र अक्सनबाट खेलाडीको पारिश्रमिक निर्धारण गरिने एकेडेमीका प्रबन्ध निर्देशक विजय शर्माले जनाएका छन् ।

प्रकाशित : जेष्ठ ३०, २०७६ ०७:४८
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

यार्चाको जोखिम यात्रा

सम्पादकीय

हामीले अहिलेसम्म देशमा तेल कुवा खनेका छैनौं, बहुमूल्य धातु भेट्टाएका छैनौं । प्रकृतिले मूल्यवान जडिबुटी यार्चागुम्बु दिएको छ, त्यो पनि व्यवस्थित रूपमा टिप्न सकेका छैनौं । संकलकहरूको ज्यान सधैँ जोखिममा छ । 

बझाङको साइपाल गाउँपालिकाको माझावन क्षेत्रमा यार्चा टिप्दै संकलक । तस्बिर : कान्तिपुर

अचेल हिमाली जिल्ला डोल्पा, रुकुम पूर्व, बाजुरा, मुगु, दार्चुलाका पाटनहरूमा यार्चा टिप्ने मेला छ । ती जिल्ला र आसपासका हजारौँ बासिन्दा ज्यानकै बाजी लगाएर हिमालतिर उक्लेका छन् । यार्चा बेचेर जीविका चलाउने उनीहरूले प्राण धान्नेबाहेक अरू व्यवस्था गरेका छैनन् । न खानेबस्नेको गतिलो बन्दोबस्त छ, न औषधिमूलोको प्रबन्ध नै । ट्रेकिङका लागि दुई–चार दिन लेकतिर जानेले त उपरीमाथि थुपरी बन्दोबस्तीका सामान र औषधि बोकेका हुन्छन्, महिना दिनसम्म हिमालमुनि यार्चा खोज्नेहरू बिनातयारी पुगेका छन् । आवश्यक खानेकुरा, तातोपानी, कपडा, बास व्यवस्था नहुँदा उनीहरू जोखिममा छन् ।

साढे ४ हजारदेखि साढे ५ हजार मिटर उचाइमा पाइने यार्चा खोज्दा बर्सेनि सयौं बिरामी हुन्छन् । केहीको मृत्यु हुन्छ । यो वर्षमात्रै नौ जनाको ज्यान गइसकेको छ । पछिल्लो दुई सातामै डोल्पाका तीन, जाजरकोट र जुम्लाका दुई–दुई तथा रुकुम र दार्चुलामा एक–एक जना । दुई जना लडेर, एकको चिसोले र अरू लेक लागेर ।

बालबालिकादेखि वृद्धवृद्धासम्म यो धन–बुटीको खोजीमा लेक उक्लन्छन् । कति घरै बन्द गरेर जान्छन्, सबै हिँडेपछि गाउँमा स्कुल त्यसै बन्द हुन्छन् । हिमाली क्षेत्रमा दमका रोगी, बूढापाका र बालबालिका स्वतः बढी जोखिममा पर्छन् । धेरैलाई लेक लाग्छ । एक्कासि लेकमा पुग्दा अक्सिजनको मात्रा कम भई बिरामी पर्छन् । समयमै उपचार नपाउँदा ज्यान गुमाउँछन् । हिउँमा चिप्लिएर र हिम पहिरोमा परेर पनि ज्यान जाने गरेको छ । पोहोर ८ जनाले ज्यान गुमाएका थिए भने परार १२ जनाले ।

लेक लागेर, हिमपहिरोमा परेर वा अन्य कारणले यार्चा संकलकको मृत्यु हुने गरेको छ । जोखिममा भएकाहरूले हेलचेक्र्याइँ गरेर
लेक पुग्दा पनि समस्या पर्ने गरेको छ । डोल्पाको रिखी पाटनमा काइकेकी २६ वर्षीया कान्छी विक सुत्केरी भइन्, शिशुको चिसोकै कारण मृत्यु भयो ।

राम्रो मूल्य आउने भएकैले यो जोखिमको जीविकामा सबैको रुचि छ । यो वर्ष यार्चाको मूल्य प्रतिकिलो १२ देखि १६ लाख रुपैयाँ छ । एक जनाले औसत तीन सय ग्राम संकलन गर्न सक्छ । संकलकसँग किनेर साना व्यापारीले ठूला व्यापारीलाई प्रतिकिलो २० लाखका दरले बेच्छन् । यी जिल्लाबाट बर्सेनि करिब साढे ५ अर्ब रुपैयाँको यार्चा बिक्री हुन्छ । किन्न व्यापारी पाटनमै पुग्छन् । कति त हेलिकप्टर लिएरै जान्छन् ।

यो महँगो किनबेचमा यार्चा संकलकको ज्यानको सञ्चो–सुरक्षाको सबाल गयल छ । राज्यले एक किलो यार्साको २५ हजार रुपैयाँ राजस्व असुल्छ । सम्बन्धित स्थानीय तहहरूले पनि संकलकहरूबाट डेढ–दुई हजार प्रवेश शुल्क लिएका हुन्छन् । यस्तो शुल्क ठाउँपिच्छे फरक छ । स्थानीयलाई अलि कम, बाहिरियालाई अलि बढी ।

एउटै पालिकाले करोडभन्दा बढी यस्तो रकम उठाएका छन् । तैपनि यो रकमबाट संकलकहरूको हितमा खर्च भएको छैन । बिरामी भइहालेमा उनीहरूलाई डोकोमा बोकेर घण्टौं टाढाको स्वास्थ्यचौकी पुर्‍याउनुपर्ने हुन्छ । हजारौं संकलक भेला भएका पाटनमा क्षेत्रमा आकस्मिक उपचारको कुनै प्रबन्ध छैन । जडिबुटी खोजेर खानेबाहेक अरू उपाय हुँदैन । केहीले औषधि बोकेर गए पनि खाने मेसो पाएका हुँदैनन् । व्यापार गर्न त्यहाँ पुगेका केही स्वास्थ्यकर्मीसँग पनि पर्याप्त औषधि हुँदैन ।

यार्चा टिप्नेहरू र सरकार दुवैले पैसामा मात्रै ध्यान दिएकाले स्वास्थ्य समस्या कतै छुटेको हो । स्थानीय सरकारहरूले यार्चा संकलकहरूलाई जोखिमबाट बचाउने उपाय लगाउन सक्छन् । ठाउँठाउँ तालिमप्राप्त स्वास्थ्यकर्मी खटाउन सक्छन् । संकलन स्थलमा अस्थायी स्वास्थ्य शिविर चलाउन सक्छन् । यति गर्न नसके पनि, यार्चा संकलकलाई सामान्य ज्ञान दिएर प्राथमिक उपचारका औषधि दिन सक्छन् ।

प्रकाशित : जेष्ठ ३०, २०७६ ०७:४५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT