कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेयमर काण्डको छायामा कोपा अमेरिका

एएफपी

रियो दी जेनेरियो — ब्राजिल घरेलु भूमिमा हुने अर्को महत्त्वपूर्ण प्रतियोगितामा लोभलाग्दो खेल पस्कँदै स्टार फरवार्ड नेयमरको सहयोगमा १२ वर्षयता उपाधिको खडेरी तोड्नका लागि सकारात्मक अवस्थामा हुनुपर्ने थियो । तर, ‘सेलेकाओ’ को गोल्डेन ब्वाइले एङ्कलमा लागेको चोटको कारण प्रतियोगिता गुमाउने भएको छ भने उनकै खराब पक्षको कारण प्रतियोगिता नै छायामा परेको छ ।

नेयमर काण्डको छायामा कोपा अमेरिका

पेरिस सेन्ट जर्मेनबाट क्लब फुटबल खेल्ने नेयमरले सामाजिक सञ्जालमा चिनिएकी एक मोडललाई फ्रान्सको राजधानीस्थित होटलमा बलात्कार गरेको आरोप लागेको छ । यसले दक्षिण अमेरिकी फुटबल उत्सवको अवसरलाई गलत कारण वातावरण धुमिल्याएको छ । त्यो काण्ड त्यत्तिकै सेलाउने संकेत देखिएको छैन ।


नेयमरले २ जुनमा ती युवती ट्रिन्डेडसँगको सम्पर्कलाई लिएर सात मिनेटको भिडियो इन्स्टाग्राममा अपलोड गरेका थिए । त्यसको तीन दिनपछि उनी कतारसँगको मैत्रीपूर्ण खेलमा लिगामेन्टमा चोट बोक्दै कोपा अमेरिकाबाट बाहिरिएको ब्राजिलियन फुटबल महासंघका अधिकारीले जानकारी गराए । तैपनि नेयमरको बलात्कार काण्डले ब्राजिली टिमको तयारीलाई एकाग्र हुन दिएन ।


विश्वकपमा पाँच वर्षअघि जर्मनीविरुद्ध सेमिफाइनलमा ७–१ को पीडादायी हार बेहोरेको ब्राजिलले दुई वर्षभित्रै विश्व खेलकुदको कुम्भ ओलम्पिक आयोजना गरेको थियो । त्यसमा पनि ब्राजिलले गतिलो गर्न सकेन ।


ब्राजिलले सन् २००७ यता कोपा अमेरिका जितेको छैन । त्यस बेला रियल म्याड्रिड र एसी मिलानका पूर्व फरवार्ड रोबिन्होप्रेरित ब्राजिलले लियोनल मेसीको टिम अर्जेन्टिनालाई फाइनलमा ३–० ले हराएको थियो । प्रशिक्षक टिटेले यसपालि नेयमरको अभाव हुने उल्लेख गर्दै भने, ‘विश्वका तीन उत्कृष्ट खेलाडीमध्ये एक नहुनु लज्जा हो । मेसी र रोनाल्डोपछि नेयमरको तुलना इडेन हाजार्डसँग मात्रै गर्न सकिन्छ । तर नेयमर छरिता छन् । त्यही खेलाडी हामीले गुमाउँदै छौं ।’


तर टिम कडा मिहिनेतमा केन्द्रित रहेको टिटेले बताए । ब्राजिलले कोपा अमेरिकाको तयारीमा अन्तिम खेलमा दस खेलाडीमा सीमित होन्डुरसलाई ७–० ले हराएको थियो । त्यसमा नेयमरको अभाव तत्कालै देखिएन । उनको स्थान लिएका डेविड नेरेसले गोल पनि गरे । म्यानचेस्टर सिटीका फरवार्ड ग्याब्रियल जेसस र लिभरपुलका रोबर्टो फिर्मिनोले पनि गोल गरे भने एभर्टनका रिचार्लिसनले केही फाइनल पास दिए ।


‘हामी राम्रो अवस्थामा छौं । आत्मविश्वासी छौं । किनभने दुवै मैत्रीपूर्ण खेलमा राम्रो गरेका छौं,’ जेससले भने । आयोजक टिमले साओ पाउलोमा शुक्रबार बोलिभियाविरुद्ध खेल्दै प्रतियोगिता सुरु गर्नेछ । बोलिभियाले घरेलु मैदानमा सन् १९६३ मा उपाधि जितेको थियो ।


नेयमर बाहिरिएसँगै प्रतियोगिताको सबभन्दा ठूलो स्टार मेसी भएका छन् । उमेरले ३१ वर्षमा रहेका उनी अर्जेन्टिनासँग अन्तर्राष्ट्रिय फुटबलमा ठूला उपाधि जित्ने योजनामा छन् । उनी कोपाको पछिल्ला दुई फाइनलमा चिली र विश्वकप २०१४ मा जर्मनीविरुद्ध उपाधि गुमाएको अर्जेन्टिनी टिमका सदस्य हुन् । उनको टिमले कोपा तयारीमा निकारागुवालाई ५–१ ले हराएको थियो ।

प्रकाशित : जेष्ठ ३१, २०७६ ०९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?